गृहपृष्ठ कोभिड १९ र विश्वव्यापी आर्थिक महामन्दी
कोभिड १९ र विश्वव्यापी आर्थिक महामन्दी
शनिबार बिहानसम्म विश्वका १९९ देशमा फैलिएको र करिब २८ हजार मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस (कोभिड १९)ले अर्थशास्त्रीमाझ एउटा बहस जन्माएको छ । के कोरोनाले अहिलेसम्मकै ठूलो भनिएको सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेसन) लाई बिर्साउनेछ ? यो आलेख यो र यस्तै प्रश्नहरुमाथिको बहसमा केन्द्रित छ ।
कुनै पनि व्यवसाय वा अर्थतन्त्रको आर्थिक क्रियाकलापमा हुने उतावचढावलाई हामी व्यापार चक्रको माध्यमबाट अर्थ्याउने गर्छौं । सामान्य अर्थमा कुनै पनि अर्थतन्त्रले आर्थिक वृद्धिको अपेक्षित लय नपक्रिनु वा तल‑माथि हुन जानु नै व्यापार चक्र हो । यसलाई अर्थतन्त्रमा आउने संकुचन र विस्तारको अवस्थाको रुपमा व्याख्या गरिन्छ । यसका मुख्य चारवटा अवस्थामध्ये एउटा महत्वपूर्ण अवस्थालाई हामी समृद्धि भन्छौं, जहाँ अर्थतन्त्रका वास्तविक सूचकहरु अपेक्षितभन्दा पनि राम्रा हुन्छन् । आर्थिक क्रियाकलापहरुमा विभिन्न कारणले वृद्धि हुन गई थप रोजगारीको सिर्जना हुन पुग्छ, रोजगारीमा भएको वृद्धिका कारण उपभोक्ताको आम्दानीमा वृद्धि हुन पुग्छ, उपभोक्ताको आम्दानीमा वृद्धि भएका कारण अर्थतन्त्रमा वस्तु तथा सेवाको मागमा समेत वृद्धि हुन पुग्छ । यसरी मागमा भएको वृद्धिले उत्पादकको नाफा वृद्धि हुन गई थप वस्तु तथा सेवाको उत्पादन गर्न व्यवसायीले गर्ने लगानीमा समेत वृद्धि हुन पुग्छ । यसरी समग्र अर्थतन्त्रमा आशाको उदय हुन पुग्छ । ठिक यसको उल्टो अवस्था नै मन्दीको अवस्था हो । जहाँ सबै वास्तविक आर्थिक चरहरु तीव्र रुपमा घटिरहेका हुन्छन् ।
कसरी सुरु भयो सन् १९३० को महामन्दी ?
सन् १९३० सम्म ‘पूर्तिले माग आफैं सिर्जना गर्छ- Supply creates its own demand’ भन्ने शास्त्रीय अवधारणामा बजार/पुँजीवादी अर्थतन्त्र चलेको थियो । यसको अर्थ हामीले जे र जति वस्तु उत्पादन गरे पनि बजारमा त्यसको माग हुन्छ भन्ने थियो तर सन् १९३० मा त्यस्तो भइदिएन । १९२९ को अक्टुबरमा अमेरिकाको सेयर बजारमा ब्यापक गिरावट आयो । अमेरिकी सामान्य मानिसले समेत सेयर बजारलाई सजिलै पैसा कमाउने माध्यमको रुपमा हेरेर लगानी गर्ने गरेको हुँदा सेयर बजारमा आएको गिरावटको असर लाखौं अमिरिकीलाई पर्न गयो । आफ्ना आवश्यकताको परिपूर्तिकै निम्ति बैंकमा पैसा राखेका व्यक्तिले समेत धमाधम बैंकबाट पैसा निकाल्न थाले । यसरी बैंकको लगानीयोग्य कोषमा रहेको रकम घट्न पुग्यो भने ब्याजदर बढ्न पुग्यो । ब्याजदर बढेका कारण स्वाभाविक रुपमा लगानी घट्न गयो । ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु रोडमा थिए, त्यसैले बैंकहरुको खराब ऋण आकासिँदै गयो । त्यतिखेर अहिले जस्तो ऋणीको बिमा गरेर ऋण दिने चलन नभएकाले बैंकहरुले ऋण उठाउन सकेनन् । यसरी सन् १९३२ तिर पुग्दा अमेरिकाका झन्डै २० प्रतिशत बैंकहरु टाट पल्टिए । यो मन्दीलाई त्यतिखेरको खडेरीले थप मलजल गर्यो । अमेरिकामा ५.५ प्रतिशतको हाराहारीमा रहेको बेरोजगारी २३ प्रतिशत पुग्यो भने अन्तर्राष्ट्रिय व्यापारमा ५० प्रतिशतले गिरावट आयो । एक त उत्पादन नै घट्यो अर्कोतर्फ ब्यक्तिको क्रय क्षमतामा गिरावट आई भएको उत्पादन पनि बिकेन । यसरी पूर्तिले माग आफैं सिर्जना गर्छ भन्ने अवधारणा फेल खायो ।
यहाँ अमेरिकाबाट सुरु भएको मन्दी कसरी विश्वव्यापी भयो भन्ने अर्को महत्वपूर्ण प्रश्न छ । यसको पछाडि मुख्य रुपमा दुई कारण भएको मानिन्छ । पहिलो कारण ‘स्वर्णमान (Gold Standard) मा आधारित मुद्राको प्रचलन’लाई मानिन्छ । त्यतिखेर अमेरिका, युरोपलगायतका महादेशमा स्वर्णमानमा आधारित मुद्रा निष्कासन गरिन्थ्यो । यस्तो मुद्रा प्रणालीमा जति रकम बराबरको मुद्रा निष्कासन गरिने हो केन्द्रीय बैंकले त्यति नै बराबरको सुनलाई सुरक्षणको रुपमा राख्थ्यो । त्यसैले कुनै देशसँग हुने सुनको परिमाणले त्यो देशको मुद्रा निष्कासन गर्ने क्षमतालाई प्रत्यक्ष असर पार्थ्यो । अमेरिकाले सन् १९३० ताका संकुचनकारी आर्थिक नीति अवलम्बन गर्यो । जसका कारण ब्याजदर घट्न गयो । जसको निम्ति मुद्राको परिमाणलाई कम गर्न बढी सुनको सुरक्षणमा कम मुद्रा निष्कासन गरेकाले जर्मनीलगायतका देशहरुको मुद्रा निष्कासन क्षमता पनि घट्न गयो । जर्मनीमा अमेरिकाले गरिरहेको आर्थिक सहयोग पनि कटौती भएपछि जर्मनीको अर्थतन्त्र पनि धर्मराउन पुग्यो ।
दोस्रो कारण अन्तर्राष्ट्रिय व्यापारलाई लिइन्छ । त्यति खेरसम्म अमेरिकामा युरोपेली देशहरुमा जति औद्योगिक विकास भएको थिएन । त्यसैले युरोपेली देशहरुको निर्यातको एउटा भरपर्दो गन्तव्य अमेरिका थियो । अमेरिकाको मन्दीको असर युरोपेली देशहरुको निर्यातमा पर्न गयो । अमेरिकाले आफ्ना उद्योगहरुलाई ब्यँताउन संरक्षणको नीतिस्वरुप निश्चित वस्तुहरुको आयातमा शतप्रतिशतसम्म भन्सार शुल्क वृद्धि गरेका कारण युरोपेली देशहरु दयनीय अवस्थामा पुगे । यसरी सन् १९२९ देखि सन् १९३९ गरी एक दशकमा मन्दीको असर विश्वव्यापी बनेको थियो ।
महामन्दी भर्सेस कोरोना
यस विषयमा अहिलेसम्म अर्थशास्त्रीहरुको एउटै धारणा बन्न सकेको छैन । सबैको ध्यान यो महामारी कति समयमा नियन्त्रणमा आउँछ भन्ने नै छ । नियन्त्रणमा जति धैरै समय लाग्नेछ, यसले पार्ने आर्थिक असर पनि त्यति नै व्यापक हुनेछ । तर, प्रारम्भिक विष्लेषण के हुन थालेको छ भने यसले सन् १९३० को जतिकै विश्व अर्थतन्त्रलाई असर पुर्याउने सम्भावना छ । फेरि सुरुवाती लक्षणहरु (Symptoms) पनि उस्तै उस्तै देखिएका छन् । जस्तैः विश्वव्यापी रुपमै सेयर बजार गिर्दो अवस्थामा छ । लगानीकर्ता निराशमात्र छैनन्, कतिपय अवस्थामा त सरकारले उचित कदम चालेन भनेर आन्दोलितसमेत छन् । अमेरिका, बेलायत जस्ता देशले लगानीकर्तालाई ढाडस दिन बैंकको ब्याजदरमा कटौती गर्न थालिसकेको अवस्था छ ।
आजको विश्वमा अमेरिका जति शक्तिशाली छ उति नै बलशाली चीन पनि छ । चीनले विश्व अर्थतन्त्रको झन्डै १८ प्रतिशत भाग ओगट्छ । कोरोनाको असर पनि हालसम्म यिनै देशहरुले बढी व्यहोरिरहेको अवस्था छ । नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक बर्ट हफम्यानले चीनको पहिलो क्वाटरको वृद्धिदर -२.० देखि -६.५ प्रतिशत हुन सक्ने आंकलन गरेका छन् । त्यसैगरी एसियाली विकास बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर ०.४ प्रतिशतसम्म घट्न सक्ने आंकलन गरेको छ ।
अहिले विश्वको आपूर्ति प्रणाली नै प्रभावित छ । हवाई उडान अधिकांश देशमा बन्द छन्, जसको पर्यटनमा ठूलो असर देखिएको छ । नेपालकै सन्दर्भमा सबै पर्यटकीय गन्तव्य सुनसान छन् । बजार बन्द छन् । व्यवसायी निराश छन् । कामदार चिन्तित छन् । यी सबै परिदृश्यलाई नियाल्दा के भन्न सकिन्छ भने कोरोनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेका देशहरुको आर्थिक वृद्धिको गतिलाई धेरै नराम्ररी प्रभाव पार्नेछ ।
(त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल अध्ययनरत कोइराला सामाजिक सुरक्षा कोषका उपनिर्देशक हुन् । आलेखमा प्रस्तुत विचार लेखकका निजी विचार हुन् ।)
यो पनि पढ्नुहोस्
सामाजिक सुरक्षा कार्यक्रम : भ्रम र यथार्थ
प्रकाशित समय ०९:४२ बजे

















