गृहपृष्ठ कुलुङ जाति को हुन् ?

कुलुङ जाति को हुन् ?

धेरै लामो समयको अन्तरालमा नेपालको अन्तरिम सविधान- २०६३ र नेपालको संविधान- २०७२ ले नेपाललाई ‘बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक, बहुजातीय, धर्म निरपेक्ष, समाजवाद उन्मुख, लोकतान्त्रिक देश’ भनी स्वीकार गरेको छ ।

हुन त कुलुङ जाति को हुन् ? भनी हेर्दा हालसम्म कुलुङ जातिलाई नेपाल सरकारको मातहतमा रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’अन्तर्गत सूचीकृत गरिएको छैन । त्यसैले कुलुङ जातिबारे जान्न र बुझ्रन चाहने जोकोहीले पनि हालसम्म ‘कुलुङ’ जातिलाई कुलुङ ‘राई !’ भनी चिन्नुपर्ने वा भनौं जान्नुपर्ने अवस्था छ । किनभने, नेपालका अन्य आदिवासी जनजातिहरु जस्तै अलग्गै जाति हुने अनेकौं आधारहरु भएर पनि कुलुङ जातिलाई हालसम्म कथित ‘राई !’ जातिमै गाभिएको अवस्था छ ।

स्मरणीय छ, ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ २०५८ को दफा दुई (क) मा ‘छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ’ भनिएको छ । यसरी हेर्दा कुलुङलगायत अन्य धेरै जातिहरु आदिवासी जनजाति सूचीमा सूचीकृत भइसक्नुपर्ने थियो । प्रतिष्ठान ऐन २०५८ को दफा दुई (क) मा ‘आदिवासी पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ भन्ने त माथि नै उल्लेख भएको छ । यो आधारमा हेर्दा कुलुङ जाति आदिवासी जनजाति सूचीमा सूचीकृत नहुनुपर्ने कुनै कारण देखिँदैन । अझ प्रतिष्ठानको ऐन तोकेभन्दा बढी अर्थात कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’समेत छ । अरु जातिको भन्दा छुट्टै वेषभुषा छ । कुलुङहरुको वंश-पूर्खाहरु कहाँबाट आएको हो ? सोको वंशावली र इतिहास पनि छ । त्यस्तै कुलुङहरुको आफ्नै मौलिक धर्म, रीतिरिवाज, चालचलन, चाडपर्व, संस्कार-संस्कृति, वेषभुषा, परम्परागत कानुन, गरगहना, रहनसहन पनि छ ।

त्यसो त खासमा राई जात वा जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासक (शाह राजा र श्री ३ महाराज/राणा) हरुले दिएको पगरी/पदवी मात्रै हो । स्मरणीय छ, ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’बाट भएको हो । जुन शब्दले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ लाग्थ्यो/जनाउँथ्यो । त्यही भएर पनि होला, पछि आएर/गएर किरातीहरु बाहेकका जात वा जातिका मान्छेहरुले पनि ‘राई !’ पदवी वा भनौं पगरी पाएका थिए ।

जे होस्, यो लेखमा कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ/छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो/होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि-इत्यादि बारे नेपालका अन्य समुदाय, वर्ग, समूह, जात वा जातिका मान्छेहरुले पनि थाहा पाउन् भनी छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ ।

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जात मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भनेजस्तै जाति हो भने, बाहुनभित्र जसरी विभिन्न थरहरु छन्, त्यसरी नै कुलुङभित्र पनि विभिन्न थर/उपथरहरु छन् । जस्तै कुलुङ जातिभित्र थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, छेन्हो, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रिन्हो, रोतेम्बु, गेब्दुलु, पोखोती, रुखुपो, कुबित्ती, रिङालु, खाप्चिसिङ लगायत २ सय ८० वटाभन्दा बढी थर/उपथरहरु रहेका छन् ।

त्यस्तै कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा ‘मा कूलू’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङ समुदायको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरुमा रहेको छ । नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाडौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २६/२७ जिल्लामा कुलुङ समुदायको पातलो वस्ती (धेरै कम) रहेको भेटिएको छ ।

२०६८ सालको ११औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ । कुलुङ मातृभाषीहरु ३३ हजार १ सय ७० रहेका छन् । २०५८ सालको १०औं जनगणनामा भने कुलुङ जातिको जातिगत जनसंख्या आएको थिएन । भाषागत तथ्यांक भने आएको थियो । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कूलू रीङ’ भन्छन् । संस्कार, संस्कृति गर्दा जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप/नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८/०५९ साल (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । सोअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिँदा वा लेख्दा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको संस्कार-संस्कृतिहरु रहेका छन् । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतक (मृत आत्मा)को आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा पठाउनु पर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यताअनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् ‘पोम्लालुङ’ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । त्यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खामको बीच (पेल्माङ/पिल्मो) मा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ गुदेल गाउँको शिरमा पर्छ । जुन स्थललाई कुलुङ जातिहरुले पवित्र स्थल मान्ने गर्छन् ।

मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर घरभन्दा टाढा जंगल वा ओडार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ । फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङहरु ‘हिल्सी’ भन्छन् । स्वभाविक रुपमा मृत्यु भएकाहरुलाई घर नजिकैको बारीमा गाडिन्छ ।

विवाहमा दुलही पक्षकाले दुलहा पक्षलाई सुक्तुलू (चुल्हा) मा/दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैँले सालनाल काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समयअनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।

कुलुङ जातिको चाडपर्वहरुमध्ये चाक्चाकुर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् । साह्रै अनिकाल पर्‍यो, दुःखबिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ । जोडी सुँगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड, रक्सी) आदि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाँडमा तरवार (आजकाल खुकुरीले काट्ने गरेका छन्) ले हानेर मार्नु पर्छ । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँअनुसार फापर, जौं र कोदोको जाँडले गरिन्छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु