गृहपृष्ठ सेयर मूल्य जति घट्यो त्यति कम जोखिम

सेयर मूल्य जति घट्यो त्यति कम जोखिम

rabindra-bhattarai

एक जना मित्रले चिया गफमा अलि अलि पैसा छ, लगानीका विकल्प भए यसो सल्लाह पाऊँ न है भनेर सल्लाह मागे । घरजग्गा, बैंकको मुद्धती निक्षेप, ऋणपत्रलगायतका विकल्प वित्तीय क्षेत्रमा यत्रतत्र छरिएका थिए र छन् पनि ।

उनको भनाइ अनुसार घरजग्गामा लगानी गर्ने क्षमता थिएन । यसैले मैले सेयर बजारको विकल्प बताइदिएँ । कहिलेकाहिँ सेयर बजारका साइटतर्फ दौडने उनको बानीका बारेमा म केही जानकार नै थिएँ । यसैले पनि उनी सेयर बजारका बारेमा पुरै अनभिज्ञ भने होइनन् । त्यसो त उनको पोर्टफोलियोमा आइपिओमा गरेको अलि अलि लगानी पनि थियो ।

उनले सल्लाह मागेका बेला बजार अझै बियरिस यात्रामा चलिरहेको छ । घट्दो रेखा चित्रबाट बजारले आफ्नो दिशा परिवर्तन गर्न सकिरहेको छैन । ११०० को तह रहेको परिसूचकमा हप्तामा वा महिनामा ३०‐४० अंकको तलमाथि भइरहनु सामान्य हो । समग्रमा बजार घट्दो नै छ । नेप्से परिसूचकको उच्चतम विन्दुलाई आधार मानेर गिरावटलाई गणना गर्ने हो भने बजार करिब ४० प्रतिशतले घटेको छ । हरेक कम्पनीको सेयर मूल्यलाई मूल्यांकन गर्ने हो भने कतिपय कम्पनीका गिरावटका अंक निराशापूर्ण नै देखिन्छन् । ६० प्रतिशत, ७० प्रतिशत, ८० प्रतिशत ।

मेरो सल्लाहपछि उनले शंका व्यक्त गर्दै भने बजार त घटिरहेको छ, अझै घट्यो भने डुविहालिन्छ नि !

उनको शंका गलत थिएन । उनको मात्र नभई धेरैले यस्तै शंका गर्ने ठाउँ देखिन्छ ।

मैले भनेँ‑ डुब्नलाई त पोखरीमा पानीको सतह टाउको भन्दा माथि हुनुपर्छ होइन र !

बजार १०० प्रतिशत हुँदा पानीको सतह टाउको भन्दा निकै माथि थियो । अहिले पानीको सतह ४० प्रतिशतभन्दा बढीले घटेर ६० प्रतिशतमा झरेको छ । वित्तीय रुपमा सक्षम कतिपय कम्पनीको सेयर मूल्य ४० भन्दा बढी प्रतिशतले घटेर ५०‐६० प्रतिशतको तहमा आइपुगेका छन् ।

पोखरीमा जब पानी टाउको माथि वा आफ्नो उचाइभन्दा बढी हुन्छ अनि पौडी खेल्न नजान्ने हाम फालेमा डुब्छ । तर, पोखरीको पानी जति कम हुँदै जान्छ त्यति नै डुब्ने जोखिम कम भएर जान्छ । जब पानी टाउकोमाथिको तहबाट घटेर घाँटीसम्म । घाँटीभन्दा तल । छातीसम्म हुँदै कम्मरसम्म आइपुग्छ डुब्ने र मर्ने सम्भावना कम हुन्छ ।

उदाहरणका लागि ८०० रुपैयाँमा किनबेच भएको सेयर ७००, ६००, ५००, ४०० हुँदै अहिले ३०० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको लाभांश क्षमता हेर्ने हो भने मूल्य ८०० हुँदा पनि प्रतिसेयर लाभांश २० रुपैयाँ वितरण गर्थ्यो, मूल्य घटेर ३०० मा आउँदा पनि लाभांश त्यति नै बाँडिरहेको छ । लाभांश दर घटेको छैन ।

कतिपय कम्पनीको प्रतिसेयर नाफा घटे पनि कम्पनीको कुल नाफामा कमी आएको छैन । कतिपयको प्रतिसेयर नाफा नेप्से ऐतिहासिक उचाइमा पुग्दा र अहिले बराबर जस्तै छ । कुल नाफा बढेकै छ । व्यवसायमा खासै संकुचन देखिएको छैन । मैले प्रतिप्रश्न गरेँ‑ अहिलेको मूल्यमा सेयर किनेर डुबिन्छ कि यो भन्दा बढेर माथि पुगेपछि किन्दा ? उनी एकपटक सोच्छु भनेर आफ्नो बाटो लागे ।

सेयर बजारमा कहिलेकाहिँ यस्तो समय पनि आउँछ जुन समयमा पौडी खेल्न नजान्नेलाई पोखरीमा धकेल्दा डुब्दैन भन्ने एक किसिमले आत्मविश्वास हुन्छ । यसको अर्थ, म यहाँ समग्र बजारभित्र सबै कम्पनीको कुरा गरिरहेको छैन कि त्यसभित्रका केही वित्तीय रुपमा सक्षम कम्पनीको कुरा गरिरहेको छु । जसले लामो समयसम्म नियमित लाभांश बाँडेका छन् । निरन्तर नाफा बढाएका छन् । जसको व्यवसायमा वृद्धिको सम्भावना पनि छ ।

कतिपयको प्रतिसेयर नाफा नेप्से ऐतिहासिक उचाइमा पुग्दा र अहिले बराबर जस्तै छ । कुल नाफा बढेकै छ । व्यवसायमा खासै संकुचन देखिएको छैन ।

सेयर बजारको अहिले अवस्था पनि यही हो । घुँडासम्म पानी हुँदा पोखरीमा हामफालेर हामी जोखिम लिँदैनौ भने पानी भरिँदै गएर घाँटी हुँदै टाउकोसम्म पुगेका बेला हाम फाल्दा अवश्य डुब्ने जोखिम बढेर जान्छ ।

उदाहरणका लागि मूल्य ८०० रुपैयाँको सेयर ३०० रुपैयाँ वा त्योभन्दा तल आउँदाको जोखिम नलिएर मूल्य पुनः बढेर ४००, ५०० ६०० हुँदै ७०० रुपैयाँ पुग्दा किन्यौँ भने अवश्य हाम्रो जोखिम दोब्बरभन्दा बढीले बढेको हुनेछ । हुन त सेयर बजारमा धेरै लगानीकर्ताको प्रवृत्ति गाडीको सहचालक झैं गाडीमा झुन्डिने जस्तो हुन्छ । गाडी रोकिन्जेल सहचालक गाडीमा चढ्दैन, गाडी गुडेर पर पुगेपछि दौडँदै गएर झुन्डिन्छ । त्यसरी झुन्डँदाको जोखिमको मूल्यांकन तपाईं हामी सहजै गर्न सक्छौँ । मूल्य घटुन्जेल वा स्थिर हुन्जेर चुप लाग्ने लगानीकर्ता जब बजार अलि अलि बढ्न थाल्छ अनि हस्याङफस्याङ गर्दै दौडिन्छन् । के यो नेपालको बजारमा मात्र हो ? अवश्य होइनन, यो लगानीकर्ताको विश्वव्यापि प्रवृत्ति हो ।

मानिसहरु भन्छन्‑ मूल्य बढेपछि जोखिम कम हुन्छ । तर म भन्छु मूल्य जति बढ्यो त्यति जोखिम बढेर जान्छ । चाहे वित्तीय रुपमा सक्षम हुन् वा नहुन् । मूल्य जति कम भयो वा घट्यो त्यति जोखिम (मूल्य घटेर तल जाने थप सम्भावना) कम भएर जान्छ । हाम्रो उद्देश्य जोखिम घटाउने हो भने बढ्या बेला दौडनेभन्दा पनि घटेका बेला बजारतर्फ दौडने हो ।

यसैले पोखरीको पानीको तहअनुसार जोखिमलाई मूल्याँकन गरे झैं बजारलाई बुझ्न सकिएमा कम जोखिममा बढी प्रतिफल लिन गाह्रो हुने छैन । सेयर मूल्य घटेर तल आएका बेला जोखिम लिएनौँ भने अवश्य पनि मूल्य बढेर माथि गएका बेला बजारतिर दौडिदा जोखिम ह्वात्तै बढेर जान्छ ।

(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)

यो पनि पढ्नुहोस्

सेयर बजारमा लाभांश र वृद्धि रणनीति

 

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु