गृहपृष्ठ कोरोना संक्रमण, ‘कोरोना आतंकमा’ रुपान्तरण नहोस्

कोरोना संक्रमण, ‘कोरोना आतंकमा’ रुपान्तरण नहोस्

sampadakiya-newskarobar

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या एक‑दुई गर्दै सोमबारसम्ममा १४ पुगेपछि नागरिक स्तरमा अर्को किसिमको त्रास बढेको छ । काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका, पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएपछि राजधानीबासी थप त्रसित बनेका छन् । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्टका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएको नेपालको र्‍यापिड टेस्ट किटले दिएका धेरै नतिजा गलत सावित भइरहे पनि बेलायतमा तीवरुपमा फैलिएको र धेरैको ज्यान लिएको तथ्यांकबारे जानकार राजधानीबासी स्वाब परीक्षणको नतिजा नआएसम्म शान्तले बस्न सक्ने छैनन् ।

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि सरकारले देशभरका १११ अस्पताललाई कोरोना उपचार डेडिकेटेड अस्पताल तोकेको छ । हालसम्म ५ हजार १८४ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण फेला परेको छ । यो परीक्षण प्रति १० लाख १८७ जना हो । नेपालजस्तो समान आर्थिक स्तर भएका अन्य मुलुकको तुलनामा यो तथ्यांकलाई निकै राम्रो मान्न सकिन्छ । यद्यपि, सरकारले यसमा सन्तोष नमानी मास परीक्षणलाई तीव्रता दिनुको विकल्प छैन । हामी विश्वकै सर्वाधिक परीक्षण भइरहेका र उच्च स्तरमा सावधानी अपनाइएका आइसल्यान्ड, फारो आइल्यान्ड र युनाइटेड अरब इमिरेट्स (यूएई) बाट धेरै सिक्न सक्छौँ ।

फारो आइल्यान्डमा प्रति १० लाख १ लाख १२ हजार ७४४ जनाको परीक्षण भइसकेको छ, जहाँ १८४ संक्रमित फेला परेका छन् भने कसैले पनि ज्यान गुमाउनुपरेको छैन । त्यस्तै आइसल्यान्डमा प्रति १० लाख १ लाख ३ हजर ३०८ जनाको परीक्षण गरिएकोमा १ हजार ७११ जना संक्रमित फेला परेका छन् भने ८ जनाको मृत्यु भएको छ । यूएईमा प्रति १० लाख ६५ हजार ५३८ जनाको परीक्षण भएको छ । स्वाब परीक्षणका क्रममा ४ हजार ५२१ संक्रमित फेला परेकोमा २५ जनाको ज्यान गएको छ भने ३ हजार ६४४ को अवस्था सामान्य छ, ८५२ जना उपचारपछि घर फर्किसकेका छन् । एकजनाको अवस्थमात्र गम्भीर छ । विश्वका विकसित, व्यवस्थित र ‘दम्भी’ देशहरूको तुलनामा यसलाई उच्चस्तरको सावधानी र जवाफदेहिताको उदाहरणका रुपमा लिन सकिन्छ ।

वीरगन्जमा फेला परेका तीन भारतीय नागरिकले गलत हर्कत गर्ने गरेको, स्वास्थ्यकर्मीलाई धम्क्याउने गरेको, अनुशासनमा नबसेको जस्ता समाचार आइरहेका छन् ।

नेपालसँग अहिले पर्याप्त प्रयोगशाला नहुँदा समस्या भइरहेको छ । विगतदेखि नै सरकारप्रतिको नागरिकको भरोसा कम भइरहेका बेला स्वास्थ्य सामग्री खरिदमा कमिसन जोडिनु र त्यसमा संलग्नमाथिको कारबाहीमा सरकार कमजोर देखिनुले नागरिकमा शंका बढाएको छ । त्यसमाथि राज्यको सम्पूर्ण शक्ति कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका बेला खुला सीमाका कारण भारतबाट कोरोना संक्रमित व्यक्ति भित्रिनसक्ने डर उत्तिकै थपिएको छ । वीरगन्जमा फेला परेका तीन भारतीय नागरिकले गलत हर्कत गर्ने गरेको, स्वास्थ्यकर्मीलाई धम्क्याउने गरेको, अनुशासनमा नबसेको जस्ता समाचार आइरहेका छन् । यसले अराजकता बढाउँछ, नागरिकलाई थप त्रसित बनाउँछ । सरकारले नागरिकलाई विश्वस्त बनाउन कोरोना संक्रमितले गलत गरे या गलत गर्ने चेष्टा गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर ठूलो मूल्यको जरिवाना र जेल सजायसमेत तोकेर अघि बढ्नुपर्छ ।

भनिन्छ, विश्वास सबैभन्दा ठूलो ओखती हो । सरकारले नागरिकमा विश्वास बढाउन सके आधा समस्या हल भएर जानेछन् । त्यसका लागि सरकारले अग्रमोर्चामा रहेर कोरोनाविरुद्ध जुझिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सबै कर्मचारीलाई आफैँले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा कार्यान्वयनमा ल्याएर काम लगाउन सक्नुपर्छ । व्यापारी व्यवसायी, सञ्चारकर्मी र नागरिक समाजलाई विपतका बेला आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न अभिप्रेरित गर्नुपर्छ । जनप्रतिनिधि जनताकै प्रतिनिधिका रुपमा प्रस्तुत हुनुपर्छ । कोरोना संक्रमण ‘कोरोना आतंकमा’ रुपान्तरण हुनुअघि नै सरकारले सोच्नुपर्छ ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु