गृहपृष्ठ संवेदनाहीन सरकार
संवेदनाहीन सरकार
डिसेम्बर अन्तिमदेखि चीनको वुहान सहरमा एक प्रकारको नयाँ रोग लागेका बिरामी अस्पतालमा भित्रिन थाले । एक जना ३४ वर्षीय लि वेनलियाङ चिकित्सकको यो भाइरसको फैलावटले ठूलो विपत्ति आउन सक्ने चेतावनीलाई बेवास्ता गर्दा आज विश्वले भयाभह अवस्थाको सामना गर्नु परिरहेको छ । चीनबाट साउथ कोरिया, जापान हुँदै युरोप अमेरिका पुगेको यो भाइरसले हाल पश्चिमी देशहरु आक्रान्त भइरहेका छन् । आइतबार बिहानसम्ममा करिब २३ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने १ लाख ६० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वका सबै क्षेत्रमा फैलिएको यो संक्रमण घट्ने संकेत देखिएको छैन भने मानवजातिकै अस्तित्व संकटमा परिरहेको छ । विश्व घरबन्दीको अवस्थामा छ । सायद आजको जीवित पुस्ताले यस्तो विकराल अवस्था भोगेको थिएन । मानव जातिको अस्तित्व बचाउनका लागि हाल अमेरिकाबाहेक सबै देशले अर्थतन्त्रलाई गौण मानिरहेका छन् । यसले कोभिड १९ नियन्त्रण भइसक्दा विश्वको अर्थतन्त्र कुन अवस्थामा पुग्छ भन्ने हाल आंकलन गर्न सकिने अवस्था छैन ।
नेपालमा कोभिड १९ संक्रमण पहिलो पटक चीनमा भएको संक्रमणको २४ दिनमा देखिएको थियो । कोभिड १९ संक्रमण हुने देशहरुमा नेपाल पहिलो १० राष्ट्र हो । मार्च २३ तारिकका दिन नेपालमा पहिलो संक्रमण देखिएको ५९ दिनपछि दोस्रो संक्रमण पुष्टि भएको थियो । त्यसपछि मात्र नेपाल सरकारले केही तदारुकता देखाएर घरबन्दीदेखि स्वास्थ्य सामग्री खरिद गर्न, आइसोलेसन, क्वारेन्टिन बनाउने काम सुरु गर्यो । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली राष्ट्रहरु त्यसमा पनि नेपाललाई पहिलादेखि नै उच्च जोखिम सूचीमा राख्दै चेतावनी दिएको नै थियो । तर, यो ६० दिनको अवधिमा नेपाल उच्च सतर्कता अपनाउँदै आवश्यक व्यवस्थापन गर्नुको साटो आफ्नै पारामा अगाडि बढिरह्यो ।
विश्व कोभिड १९ विरुद्ध लडिरहँदा नेपालका शासक के गरिरहे ? नेपाली जनता सुसूचित नै छन् । पहिलो गल्ती पछिल्लो पटक आश गरिएका युवा मन्त्री योगश भट्टराईबाट सुरु भयो । उनी नेपाललाई विश्वकै कोरोना फ्री क्षेत्र घोषण गर्दै नेपाल भ्रमण गर्न विश्वभर नै प्रचारप्रसार गर्न योजना बनाउँदै बसे । स्वास्थ्य विशेषज्ञहरुसँग कुनै छलफल नगरी यसरी नेपालीको स्वास्थ्यसँग खेलवाड गर्ने निर्णय लिने मन्त्री छन् भने यस्तो संवेदनशील अवस्थामा कसरी लडाइँ लड्न सकिएला ?
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताले आश गरेका एक पात्र हुन् । राष्ट्रवादी छवि बनाई करिब दुई तिहाई बहुमतका साथ शासनको नेतृत्व गरिरहेका ओली त यो विषयमा थोरै पनि संवैदनशील बनेको पाइएन । पूरा विश्व कोभिड १९ विरुद्ध कसरी लड्ने भन्ने योजना बनाइरहँदा उनी अफ्नो जन्मदिन राजसी ठाँटबाट मानाउन हेलिकप्टरमा केक लिएर जन्मघर पुगे । आज विश्व कोरोनाले ग्रस्त भइसकेको छ । नेपालमा ३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो अवस्थामा सरकार जनताको अविभावक बन्नुपर्नेमा स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा मुसिन पुग्यो भने सारा सरकारी संरचना नै यसकै प्रतिरक्षामा लागे । प्रधानमन्त्रीको सल्लाहकार समूह भने अनलाइन मिडिया ह्याक गर्दै समाचार डिलिट गर्न लागे ।
सरकारले कोभिड १९ नियन्त्रणका लागि लकडाउन सरु गरेको आज २७ दिन बितिसकेको छ । चैत १० गते एक हप्ताका लागि भनेर घोषणा गरिएको लकडाउन तीन पटक थप गरी वैशाख १५ गतेसम्म कायम गरिएको छ ।
सरकारले संक्रमण रोक्नका लागि लकडाउन घोषणा गरिसकेपछि त्यसबाट जनस्तरमा पर्ने प्रभावको कुनै आंकलन गरिएको पाइएन । दैनिक राजमार्गमा सयौँ नागरिक गन्तव्यतर्फ लागिरहेका छन् । सयौँ किलोमिटरको यात्रामा निस्किएका महिला र बालबच्चालाई कस्तो अफ्ठ्यारो परेको होला सबैले अनुमान गर्न सकिन्छ । आठ दिनको सुत्केरी महिला पाँच सय किमी यात्रा गरेर घर गएको समाचार सुन्दा कस्तो अनुभूत भयो होला । सरकारले न उनीहरुलाई राजमार्गमा नियन्त्रण गर्न सकेको छ न त सहज ढंगबाट गन्तव्यमा पुग्न दिएको छ । कोभिड १९ नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सरकार भावनामा बगेर हुँदैन भन्ने जवाफ दिएका छन् । यो विषम परिस्थितिमा लकडाउनको महत्व नबुझेका जनता पनि होलान् । यसका लागि सरकार, सञ्चारमाध्यम बुझाउन लागेका होलान् तर ती आठ दिनको सुत्केरी महिला सयौँ किमीको यात्रामा निस्कनु रहर पक्कै होइन भन्ने सरकारले बुझ्न आवश्यक छ । सरकारले यो समयमा खानका लागि मात्र भरपुर रासन दिएको भए अहिलेको यात्रामा निस्कनेको यति लामो लाम पक्कै हुने थिएन ।
सरकारले यो समयमा खानका लागि मात्र भरपुर रासन दिएको भए अहिलेको यात्रामा निस्कनेको यति लामो लाम पक्कै हुने थिएन ।
लकडाउनको समयमा सरकारले गर्न सक्ने धेरै थियो । तीन तहका सरकारमा स्थानीय सरकारलाई प्रभावकारी बनाएर दैनिक ज्यालादारी गर्ने मजदुर किसान जो विदेशी नागरिक नै किन नहुन् उनीहरुलाई गाँस, बास, कपास र स्वस्थ्यको जिम्मा सरकारले गर्न आवश्यक थियो । यतिसम्म लाजमर्ने कुरा कि कुनै कुनै स्थानीय तहमा भोट नहालेकालाई सरकारी राहत वितरण नगरिएको भन्ने समाचारसम्म प्रकाशित भयो । सरकारले पछिल्लो पटक १२ दिनको लकडाउन घोषणा गरेपछि राजमार्गमा झनै धेरै नागरिक यात्रामा देखिएका छन्, कतिपय ठाउँहरुमा प्रहरी प्रशासन भौतिक दमनमा उत्रिएका छन् । यसमा सरकारले आजै गम्भीर भएर सोच्न आवश्यक छ । सरकार यसरी संवेदनहीन हुन हुँदैन । यस्तै अवस्थामा सरकारको आवश्यकता महसुस हुने हो ।
कोभिड १९ को नकारात्मक प्रभाव अब झनै गहिरिँदै जानेछ । नेपालले झनै भयावह अवस्थाको सामना गर्नुपर्नेछ । औपचारिक अनौपचारिक तथ्यांकअनुसार करिब ४० लाख नेपाली वैदेशिक रोजगारीमा छन् । यो भनेको कुल जनसंख्याको करिब १४ प्रतिशत हो भने रोजगार जनसंख्याको त गणना नै हुँदैन । नेपालको अर्थतन्त्र विप्रेषणबाट नै धानिरहेकोमा अब कोभिड १९ पछिको अवस्थामा विप्रेषण आप्रवाहमा उल्लेख्य कमी आउनेछ । यसको संकेत देखिइसकेको छ । यो अवस्थामा सरकारले अहिलेदेखिनै विशेषज्ञसहितको कुनै समिति बनाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन आवश्यक छ । विप्रेषणमा कमी आउनुका साथै नेपाल फर्कने जनतालाई कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ खोज्न ढिला भइसकेको छ ।
यो पनि सबैले बुझ्नुपर्छ भन्न जति सजिलो छ गर्न अत्यन्तै जटिल छ । तर सरकारसँग गर्नुको विकल्प छैन । आजसम्म सरकारका जे‑जति गल्ती कमजोरी भए पनि कोभिड १९ को महामारी देखिएको छैन । अझै सरकारसँग समय छ, यसको भने सरकारले सदुपयोग गर्न आवश्यक छ ।
पहिलो स्वास्थ्यकर्मीलाई आवश्यक सम्पूर्ण सुरक्षा सामग्री यथेष्ट उपलब्ध गराउने, उनीहरुलाई मौद्रिक, अमौद्रिक प्रोत्साहनका योजना लागू गर्ने । यसमा सरकार र जनता प्रस्ट हुन आवश्यक छ, स्वास्थ्यकर्मी स्वस्थ रहनु नै हाम्रो भविष्य राम्रो हुनु हो । दोस्रो, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई शारीरिक र मानसिक रुपमा नै स्वस्थ राख्ने, स्वस्थ्यकर्मीपछिका उद्धारमा खटिने उनीहरु नै हुन् र समूहमा बस्ने भएकाले कोभिड १९ फैलिने जोखिम उनीहरुमा बढी हुन्छ ।
तेस्रो, दैनिक ज्यालादारीमा काम गर्ने तथा खाद्यान्नको अभावमा ठाउँ छाडेर हिँडेका तथा बसिरहेकाहरुलाई तेरो मेरो नभनी उचित राहत सामग्री स्थानीय तहको संलग्नताका प्रभावकारी रुपमा वितरण गर्ने । चौथो, सीमापारि आएर बिचल्लीमा परेका नेपालीको उद्धार गरी क्वारेन्टिनमा राखी उनीहरुको उचित व्यवस्थापन गर्ने । पाँचौँ, भारतबाहेकका तेस्रो मुलुकमा रहेका नेपाली जो नेपाल फर्कन चाहन्छन्, उनीहरुलाई घर फिर्ताका लागि उचित व्यवस्थापन गर्ने र अन्तिममा अर्थतन्त्रको बिग्रँदो अवस्थालाई चलायमान बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्ने । यसरी चरणबद्ध कार्य गरेमा नेपाली जनताको स्वास्थ्यका साथै सरकारको गरिमा पनि बढ्नेछ । सुस्ताएको अर्थतन्त्रले पनि केही गति पक्कै लिनेछ ।
यो पनि पढ्नुहोस्
प्रकाशित समय १७:३२ बजे

















