गृहपृष्ठ कल्पनाभन्दा गहिरो संकटमा अर्थतन्त्र

कल्पनाभन्दा गहिरो संकटमा अर्थतन्त्र

विश्वव्यापी रुपमा नै नोबल कोरोनाभाइरस (कोभिड १९) महामारी फैलिँदै गएसँगै नेपालमा पनि हालसम्म ३१ जनामा यसको संक्रमण देखा परिसकेको छ । विश्वका अर्थशास्त्रीहरुले यसलाई विश्व अर्थतन्त्रमा स्वास्थ्यको झड्का (medical shock to the economy) नाम दिएर व्याख्या गरेका छन् । यसले कामदारलाई कामबाट अलग राखेको छ, उपभोक्तालाई उपभोगबाट, जसले आर्थिक क्रियाकलापविहीनता बढ्दो छ । यसलाई केही अर्थशास्त्रीहरूले सन् १९३० को महामन्दीसँग जोड्ने गरेका छन्, तर अहिलेको विश्व आर्थिक महामन्दीलाई त्यो समयको महामन्दी तुलना गर्दा अलि फरक दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ ।

हालैमात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष देखापरेको मन्दी एक शताब्दीअगाडिको महामन्दीयताकै सर्वाधिक गहिरो मन्दी भएको बताएको छ । तर, यहाँनेर विचारणीय कुरा के हो भने सन् १९३० विश्व अर्थव्यवस्था, त्यसबेलाको आर्थिक संरचना, अर्थतन्त्रको प्रकृति र आकार तथा हालको आर्थिक संरचनालाई एकै ठाउँमा वा एउटै तुलोमा राखेर व्याख्या गर्न भने अलि मिल्दैन किनभने सन् १९३० को विश्व अर्थतन्त्र र अहिलेको विश्व अर्थतन्त्रको आकार तथा प्रकृतिमा आकाश‑जमिनको फरक छ । सन् १९३० ताका विश्वका सीमित अर्थतन्त्रहरूमात्र बलियो अर्थतन्त्रको रुपमा व्याख्या गरिन्थ्यो । त्यसबेला पहिलो विश्व, दोस्रो विश्व र तेस्रो विश्व भनेर विश्वका मुलुकहरूको व्याख्या गरिन्थ्यो, त्यतिबेला अमेरिका र युरोप बलियो अर्थतन्त्रका रुपमा देखापरेका थिए । बेलायतलाई घाम नअस्ताउने राज्यको रुपमा मानिन्थ्यो । अहिले विश्व धरातल पूर्णरूपमा फरक भएको छ । विश्व अर्थतन्त्रको स्वरुप फरक छ । भूमण्डलीकरणले एक राज्य र अर्को राज्यलाई बलियोसँग जोडेको छ । विश्वको व्यापार संरचनामा आमूल परिवर्तन भएको छ । अब विश्वको औद्योगिकीकरणका केन्द्रहरु युरोप अमेरिकामा होइन भन्ने अवस्था बनिसकेको छ । श्रमलाई मेसिनले जितेको छ । उत्पादनमा व्यापक मेसिन–उपकरण र प्रविधिको प्रयोग हुन थालेको छ । श्रमप्रधान उद्योग र औद्योगिक संरचनालाई सेवामूलक र ज्ञान–सीपमा आधारित उद्योगहरूले जितेका छन् । विश्वमा सूचना प्रविधि सेवामात्र खर्बौं अमेरिकी डलरको कारोबार हुन्छ । अमेरिकाको सेवा क्षेत्रमा आउटसोर्सिङ र बिपिओले गर्दा रोजगारी बाहिरिएको कुरा हरेक पटक अमेरिकी राष्ट्रपति चुनावमा मुद्दा बन्ने गर्छ, जुन रोजगारीको ६५ प्रतिशत भारतले ओगट्छ ।

हाल कुल गार्हस्थ्य उत्पादन (जिडिपी)का आधारमा अमेरिका विश्वको पहिलो ठूलो अर्थतन्त्र भए पनि प्रतिव्यक्ति किनेर खाने क्षमता (पिपिपी)का आधारमा चीन अहिले विश्वको ठूलो अर्थव्यवस्था बनिसकेको छ । एक्काइसौं शताब्दीको अर्थतन्त्र एसियाली अर्थतन्त्र भन्न थालिसकिएको थियो ।

अहिले मानिस, वस्तु र सेवाको प्रवाह सीमारहित भइसकेको छ । पुँजीको प्रभाव पनि सीमारहित छ । विश्वका फरक–फरक राष्ट्रहरूको फरक–फरक सक्षमता छन् । कुनै पुँजी सञ्चयको आधारमा बलिया छन्, कुनै शक्ति र सैन्य सामर्थ्यका आधारमा । विश्वव्यापी रोजगारी सिर्जना कुनै एक देशमा मात्रै आश्रित छैन, कुनै एक क्षेत्रलाई मात्रै रोजगारीका प्रमुख क्षेत्र मानिँदैन । एक शताब्दीअगाडि विश्वका धेरै मुलुकहरू, जसमा ठूला सम्पन्न मुलुकहरु पनि कृषिमा नै बढी आश्रित थियो । त्यो समयमा कृषिसँग जोडिएका उद्योग–व्यापार अथवा केही खानीसँग जोडिएका उद्योगहरुमा बढी आश्रित थिए । महामन्दीले सुनको कारोबारमा प्रभाव पार्नु त्यसबेलाको ठूलो असर थियो । महामन्दीले अमेरिका र युरोपमा बढी प्रभाव पारेको थियो, यो खासगरी वित्तीय क्षेत्रसँग जोडिएको संकट थियो । तर, आर्थिक मन्दीको अवधि निकै लामो हुँदा यसले रोजगारीमा असर पर्‍यो । तर यसले साम्यवाद र फाँसीवादकोको उदय गरायो, अनि शक्ति संघर्षको लडाइँलाई अगाडि ल्यायो । हिटलरजस्ता शासक उदाए र तिनका महत्वाकांक्षाले दोस्रो विश्वयुद्ध भयो ।

अहिलेको अवस्था अलि फरक छ । कोरोनाभाइरस महामारीको कारणले गर्दा विश्वका सबै ठूला–साना अर्थतन्त्रहरूको एकैपटक सबैको मेरुदण्डमा प्रहार भएको छ । जसरी स्पाइनल कर्ड इन्जरी भएको मानिस प्यारालाइजको अवस्थामा पुग्छ, त्यसरी नै कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई प्यारालाइज गरेको छ । यसको प्रभाव यति धेरै गहिरो र संकटपूर्ण अवस्थामा होला भन्ने कुरा विश्वका बलिया शासकहरुले पनि सोचेकै थिएनन् । अहिले कोभिड १९ को इपिसेन्टर फेरिएर अमेरिका बनिसक्दा अर्थात् यो महामारीको थर्ड वेभ आइसक्दा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उही पुरानै दम्भका साथ बसिरहेका छन् । उनी विश्वव्यापी संस्थाहरुले दिएको विज्ञानको चेतावनीहरुलाई सोझै खारेज गरिरहेका छन् र आफ्ना हठ दोहोर्‍योइरहेका छन् ।

हाम्रा देशका शासकहरू पनि ट्रम्पलाई नै पछ्याउँदै छन् । देशमा यो विश्वव्यापी महामन्दीको खासै ठूलो प्रभाव नपर्ने भन्दै ट्रम्पका भन्दा पनि बढी दम्भपूर्ण अभिव्यक्ति दिँदै छन् । नेपाली अर्थतन्त्रलाई यस्ता कुनै पनि प्रकारका विश्व महामन्दीबाट बचाउन हामी सक्षम छौं भन्ने खालका भाषण सुन्न थालिएको छ । सुनेअनुसार केन्द्रीय तथ्यांक विभागले छिट्टै नै नेपालमा चालू आर्थिक वर्षमा ५ प्रतिशतजति आर्थिक वृद्धिदर हुने प्रक्षेपणसहित केही दिनभित्र प्रतिवेदन सार्वजनिक गर्दै छ । ठिकै छ, सरकारले तथ्यांकमा भए पनि अर्थतन्त्र धानिदिनेछ, हामीले खुसी मनाउनुपर्ने, राष्ट्रगान गाएर, थाल ठट्टाएरमात्र नभएर टुँडिखेलमा आतिशवाजी गरेर रमाउनुपर्ने पनि होला ।

खास वास्तविक चिन्ता गर्नुपर्ने विषय भने वर्तमान नेपाली अर्थतन्त्रका लागि सोचेभन्दा गहिरो र हालसम्म नभोगिएको संकट भने निकट भविष्यमा नै देखापर्दै छ ।

खास वास्तविक चिन्ता गर्नुपर्ने विषय भने वर्तमान नेपाली अर्थतन्त्रका लागि सोचेभन्दा गहिरो र हालसम्म नभोगिएको संकट भने निकट भविष्यमा नै देखापर्दै छ ।

नेपालमा कुनै न कुनै दिन, कुनै न कुनै समय, कुनै न कुनै कालखण्डमा सत्तामा बसेका राजनीतिक दल वा प्रशासक कसैले पनि नसोचेको, सोच्नै नचाहेको विषय भनेको विशालकाय विदेशी विनिमय सञ्चितिको धक्का अब छिट्टै नेपालले भोग्दैछ ।

यसका पछाडि केही कारण छन् । पहिलो कारण, नेपालको विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रुपमा रहँदै आएको पर्यटन यो विश्वव्यापी महामारीका कारणले पहिलो विशाल धक्का व्यहोर्ने क्षेत्र बनेको छ । पर्यटन क्षेत्रका उद्यमीहरुले सन् २०२० को नेपाल भ्रमण वर्षका कारण यस वर्ष पर्यटन क्षेत्रको आय एक खर्ब रुपैयाँ पुग्ने अनुगमन गरेका थिए । कोभिड १९ कारण विश्वव्यापी पर्यटन, घुमफिर तथा यात्रामा प्रतिबन्ध लागेका कारण यस क्षेत्रले करिब ५० अर्ब रुपैयाँजतिको प्रत्यक्ष आय गुमाउनेछ । सोझै जिडिपी गणनामा पर्यटन आयको हिस्सा ३ प्रतिशतजति मात्र देखिएला तर यसले यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रदान गर्ने रोजगारी चक्रमा पारेको असर दीर्घकालीन रूपमा नेपाली अर्थतन्त्रले भोग्नेछ ।

दोस्रो विदेशी मुद्रा आर्जनको स्रोत निर्यात, जसलाई पाम आयलले धानेको थियो । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा ७४ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको छ, बाँकी अवधिमा अब निर्यातमा अवरोध आउने हुँदा यो क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रामा खासै उल्लेख्य विस्तार हुने छैन । जबकि, ९ खर्ब २५ अर्बजतिको आयात भइसकेको छ भने बाँकी अवधिमा पनि बढ्ने नै छ किनकी अत्यावश्यक वस्तु, खाद्यान्न, औषधिलगायतका वस्तुको आयात भइ नै रहेको छ ।

तेस्रो तर सबैभन्दा गम्भीर र संवेदनशील क्षेत्र रेमिट्यान्स आयमा भने सर्वाधिक ठूलो संकट देखापर्दै छ । नेपाल राष्ट्र बैंकको हालसम्मको प्रारम्भिक अनुमानले एक खर्ब रुपैयाँजतिले रेमिट्यान्समा कमी आउने देखाइसकेको छ । यो आंकलन अझ बढी हुन्छ किनभने औसतमा मासिक ५५ देखि ६० अर्ब रुपैयाँ नेपालले रेमिट्यान्स प्राप्त गर्दै आएको थियो । अझै कति महिनासम्म यो विश्वव्यापी स्वास्थ्य संकट कायम रहन्छ र त्यसले नेपालका श्रम गन्तव्यमा कति गहिरो असर पर्छ भन्ने कुराले नेपाली आप्रवासी कामदारहरूको रोजगारी सुनिश्चितता र उनीहरूले पठाउने रेमिट्यान्सको प्रवाहमा निर्भर रहन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषलले यो विश्वव्यापी महामन्दीको गहिरो प्रभाव चालू वर्षको पहिलो ६ महिनासम्म रहने र त्यसपछिको बाँकी ६ महिनाको अवधिमा विश्व अर्थतन्त्र विस्तारै पुनर्बहालीको बाटोमा जाने बताएको छ । यो दोस्रो चरण (सेकेन्ड वेभ)मा कोभिड १९ को कर्भ प्रभाव गणनाका आधारमा गरिएको अनुमान हो । सेन्टर फर इकोनोमिक पोलिसी रिसर्च (सिइपिआर)का लागि विभिन्न अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूले तयार पारेको शोधपत्रअनुसार अब यो महामारी तेस्रो वेभमा प्रवेश गरेको छ । (हेर्नुहोस्– मिटिगेटिङ कोभिड इकोनोमिक क्राइसिस : एक्ट फास्ट एन्ड ह्वाटेभर इट टेक्स, सिइपिआर)

नेपाल राष्ट्र बैंकको विवरणअनुसार गत माघ मसान्तसम्म देशमा १० खर्ब ९६ अर्ब रुपैयाँ बराबरी ९ अर्ब ६४ करोड अमेरिकी डलरमात्र विदेशी विनिमय सञ्चिति छ, यो केवल ५.६ महिनाको मात्र आयात धान्न पर्याप्त छ । यस्तो अवस्थामा बाह्य विदेशी मुद्रा आर्जन लगातार घट्न थालेपछि नेपालको शोधनान्तर संकट निकै गहिरो हुनेछ । यसलाई धान्नका लागि नेपाल सरकारलाई हम्मे‑हम्मे पर्नेछ । हुन त अन्तर्राष्ट्रिय मुद्रा कोषसँग शोधनान्तर संकटबाट बच्नका लागि तत्काल १० अर्ब रुपैयाँजति ऋण लिन सक्ने खुकुलो ठाउँ सरकारसँग बाँकी नै पनि छ तर यो मात्रै ढुक्क भएर बस्न सकिने अवस्था भने होइन ।

नेपाली अर्थतन्त्रमा विश्व अर्थतन्त्रका महामन्दीको असर सोझै र प्रत्यक्ष रुपमा पर्दैन भनेर आत्मरतिमा रमाउनुको कुनै अर्थ छैन किनभने नेपालको अर्थतन्त्र आश्रित रहेको भारत ठूलो असर पर्ने नवीनतम अध्ययनहरूले देखाइसकेका छन् । ९० को दशकपछि आर्थिक उदारीकरण अवलम्बन गरेको भारतीय अर्थतन्त्रको स्वरुप न पुँजीवादी हो न त समाजवादी । नेहरुको समाजवादी धारले लोककल्याणकारी राज्यको नारा दिँदै पुँजीवादी अर्थतन्त्रलाई टेवा दिइरहेको भारतमा आर्थिक असमानताको खाडल निकै गहिरो रहेछ, वर्गीय विभेद निकै जटिल रहेछ, त्यहाँ तथ्यांकहरूले ढाँटछल गरेको रहेछ भन्ने कुराको यथार्थ अहिलेको कोभिड १९ का कारणले धमाधम बाहिर निस्किँदै छ । तल्लो तहको विपन्न वर्गबाहेक, ससानो भूस्वामित्व भएका किसान र खर्चिलो मध्यम वर्ग सबै नै यो गम्भीर प्रकृतिको मन्दीको सिकार बन्दै छन् ।

अर्को ठूलो छिमेकी चीनमा पनि यो विश्व महामन्दीबाट सबैभन्दा ठूलो असर पर्नेछ किनकि विश्वव्यापी व्यापारमा उसको प्रमुख हिस्सा छ, विश्व उत्पादनमूलक क्षेत्रको मुख्य खेलाडी नै बनेको चीनले जतिसुकै उत्पादन बढाए पनि अब उसको निर्यात र निर्माणमुखी अर्थतन्त्र तत्कालै बहालीको बाटोमा जाने अवस्था छैन । विश्वमा माग र आपूर्ति शृंखला टुटेको छ, त्यसको प्रत्यक्ष असरले चीन–भारत सहितका उदाउँदा अर्थतन्त्रहरू गम्भीर रुपमा प्रभावित हुनेछन् । नेपाली अर्थतन्त्र अब पनि यस्ता विशालकाय धक्काहरुबाट जोगिन्छ भन्ने कुरा आत्मरति मात्रै हो ।

हालसम्म नेपालको कृषिक्षेत्र, खासगरी ग्रामीण कृषि पद्धतिमा यसलाई सामान्य मात्र प्रभाव परेको भए पनि पछिल्ला दशकहरूमा निकै सबल रूपमा उदाइरहेको व्यावसायिक कृषिमा लागिपरेका कृषक अहिले गम्भीर संकटमा पर्दैछन् । सामाजिक सञ्जालहरुमा तरकारी नष्ट नगर गुन्द्रक बनाऊ, टमाटर नष्ट नगर केचप बनाऊ, दूध बिकेन भने पनि घिउ बनाऊ, पनिर बनाऊ भन्न सजिलो छ । तर दिनमै तयार हुने १००–२०० किलो हरियो तरकारी, त्यतिकै अनुपातमा निस्कने टमाटर, बारीमै पाकेर तयार भएका सयौं टन केरा, दिनमा नै ५०–६० लिटर उत्पादन हुने दूध, सयौं अनुपातमा खान ठिक्क भएका ब्रोइलर कुखुरा पालन गर्ने किसानका लागि यो फेन्टासी कुराबाहेक केही पनि होइन । यस्ता कृषिजन्य उत्पादनमा संलग्न व्यावसायिक कृषकका लागि तत्कालै सरकारले विशेष किसिमको प्याकेज ल्याएर ती उत्पादनलाई घरबन्दीका अवस्थामा सहजै बजार व्यवस्थापनका लागि तत्कालै पहल नगरिदिने हो संकट सोचेभन्दा गहिरो हुनेछ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु