गृहपृष्ठ फगत एक ‘चाड’ बन्दै आमाको मुख हेर्ने दिन

फगत एक ‘चाड’ बन्दै आमाको मुख हेर्ने दिन

बिहानै ७ नबज्दै बाबाको फोन आएको रहेछ । मिस्ड कल देखेर अचम्म लाग्यो- बिहानै किन फोन गर्नुभएको होला ठानेँ । ‘लकडाउनको समयमा घरबाट टाढा रहेकी मलाई कस्तो छ भनेर आत्तिनु हुन्छ, ठिकै छ भन्ने थाहा हुँदाहुँदै । यस्तै-यस्तै कुरा मनमा खेलाउँदै खाना बनाउने तरखरमा लागेँ । खाना खाएपछि फेरि बाबाको फोन आयो- ‘बाबु आज त आमा औंशी हो । आमालाई फोन गरिस ?’

बाबाले बल्ल याद दिलाउनु भो- आज त मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । अनि पो थाहा भयो, बिहानको फोन त ‘आमा औशी’ सम्झाउन पो गर्नु भएको रहेछ ।

उसो त यसअघिका वर्षजस्तो यो वर्ष चिप्लेढुंगामा भीड छैन । बाटोमा चुरापोते बेच्न राखिएका पसलेहरुको चहलपहल र मिठाइ किन्नेको लामो लाइन नभएर मैले मातातीर्थ औंसी बिर्सिएकी भने होइन । प्रत्येक वर्ष आउने यो औंशीको मलाई खासै मतलब लाग्दैन । मलाई प्रभाव पनि पार्दैन । तर ध्यान बाबाको फोनले बिथोलिदियो । हरेक वर्ष बाबाले फोन गरेर सम्झाइदिने त्यो रिङटोनले किन-किन आज मनमा एक किसिमको चिसो पसेको छ ।

वर्ष बित्दै जाँदा अभिभावकको उमेर पनि त ढल्किँदै जान्छ । बुढेसकालले समाउँदै लगेपछि मान्छेमा फेरि बालापन फर्किन्छ भन्छन् । सायद त्यसैले होला बाबा-आमा यी स-साना कुरामा पनि सानो खुशी खोज्नुहुन्छ । मलाई एकदिन मात्र प्रेम देखाएर बाँकी दिन अभिभावकबाट टाढा भएको मन पर्दैन । आमाबुवाप्रति गरिने श्रद्धा र प्रेम हरेक दिन समान होस् । आमासँग मैले ‘एकदिन मात्र माया गर्छु’ भनेर देखाउनु आवश्यकता ठान्दिनँ । तर जब ‘आमा’हरुको तस्बिरले सामाजिक सञ्जाल रंगीन हुन्छ । तब लाग्छ, मातातीर्थ औंशी फगत ‘चाड’ भएको छ ।

आमाको फोटो र त्यससँगै लेखिने केही शब्दले वर्षमा यही एकदिन मात्र सामाजिक सञ्जाल भरिभराउ हुनुपर्ने ? आमालाई भए/नभएका महँगो मिठाइ र त्योभन्दा पनि महँगो उपहार सुम्पेजस्तो गरेर सामाजिक सञ्जालमा विज्ञापन गरेको देख्दा व्यापार गरेकोजस्तो लाग्छ । माफ गर्नुहोला, मैले फेरि तपाईंको यो खुशी देख्न नसकेर वा नकारात्मक धारणा व्यक्त गरेकी होइन । तर, आफ्नो मनको विचार जरुर राखेकी हुँ । जसमा तपाईं अनिवार्य सहमत नै हुनुपर्छ भन्ने मैलै कहींकतै उल्लेख गरेकी छैन ।

‘आमा औंशी’मा ठूला-ठूला होटल तथा रेष्टुरेन्टमा गएर ‘ह्याप्पी मदर्स डे’ भन्दै केक काट्नेहरुको जमात पनि ठूलै छ । वर्षभरि घरमा भएका सदस्यलाई उनीहरुकै स्वादअनुसार परिकार चखाउने आमाले एकदिन आफ्नै रुचि अनुसारको खाना खान पाउनुहुन्छ । बस्, एकदिन उनी चौरासी व्यञ्जनको अँगालोमा ‘मनमगन’ हुन्छिन् ।

तर म भन्न सक्दिनँ- उनको त्यो खुशी सन्तानलाई सामाजिक सञ्जालमा ‘पोस्टिन’मात्र हो या साँच्चै आमाप्रतिको श्रद्धाभाव जागेर हो । मलाई यथार्थ थाहा छैन ।

यही लेख लेख्दै गर्दा एकजना दिदीको फोन आयो । ‘बाहिर कतिको हिँड्न दिएको छ नि ? आज त आमाको मुख हेर्ने दिन । आमालाई केही दिनुपर्यो ! केही सामान दिन पाए हुन्थ्यो । कस्तो लकडाउनले झ्याउ भयो !’ दिदीको कुराले अचम्म परिरहेको थिएँ । मैले न मातातीर्थ औंशीको कुनै तयारी गरेकी थिएँ । न कुनै मतलब बोकेर हिँडेकी थिएँ । सत्य त यो हो, बाबाले सम्झाउनु भएपछि पनि मैले आमालाई फोन गरेकी थिइनँ ।

दिदीको बोलीमा आमाको लागि आभार थियो वा कुनै भावाना ? मलाई थाहा भएन । तर मैले देखें-बुझेँ चाहिँ के भने- केवल चलिआएको परम्परालाई छाड्नुहन्न भन्ने एक जबर्जस्त मान्यता ! धन्य यो लकडाउनले यस वर्ष आजकालको देखावटीपनमा कसैलाई सामेल हुन परेको छैन । बजारले मागेको ‘मातातीर्थ औंशी ट्रेन्ड’मा यतिबेला समाहित हुन यही लकडाउन बाधा बनेको छ ।

म भन्दिनँ कि यी सबै गलत र देखावटी छन् । समय परिवर्तन भइसकेको छ उही गतिमा हामी पनि चल्नुपर्छ । तर कतै आफू नै पो चुकेकी छु कि ? कहिलेकाहीं यस्तै भान पनि हुन्छ ।

आमा औंशीको दिन आमालाई खानपिनका लागि कतै महँगो रेष्टुरेन्टमा लगिसकेपछि बिल तिर्दा आमाले पक्कै भनेकी होलिन्, ‘बाबु, बेकार पैसा किन खर्च गरेको ? तँलाई नै कपडा छैन भन्दै थिइस् । किनेको भए हुन्थ्यो नि !’ लकडाउनका कारण ‘आमाको मुख हेरेर दिने केही भएन’ भन्दै तनाव लिने सबै व्यक्ति किन बुझ्दैनन् कि, कसो आमालाई त्यो सानोझिनो नचाहिने तनावले बढी पिरोल्छ भनेर ?

वास्तवमा भन्नुपर्दा आमालाई न त्यो मिठाइ वा ती महँगा देखावटी उपहारको मतलब छ । बस्, उनलाई पर्वाह छ त आफ्नो सन्तानको खुशी । जवानीमा मिठाइ दिएको हातले आमालाई बुढेसकालमा ‘लाठी’ दिन सकोस् । ‘माई मम !’ भन्दै फोटो हालेका आज यी आमाको मुहारलाई वृद्धाश्रममा देख्न नपरोस् ।

ओहो ! याद आयो । मेरी आमाले यसपालि आउन पाउँदिन भनेर मेरो बाटो कुरेर बस्नुभएको छैन होला । मैले त झन् बिहानैदेखि एकपटक फोन पनि गरेकी छैन । आमा सम्झिँदै होलिन्- उनकी ती सानी छोरी जो हर आमा औंशीमा खाजा खाने पैसा जोगाएर उनलाई चुरा र जेरी किनेर लगिदिन्थी । आज छोरी ठूली भइसकेकी छे । बुझिसकेकी छ- आमाको खुशी खाजा नखाई ल्याइएको त्यो जेरीमा र चुरामा थिएन ।’

अन्त्यतिर आउँदा आमा आफैंले फोन गर्नुभयो । अनि भनेँ, ‘ह्यापी मर्दस डे मामु ।’ आमालाई मेरो विसको वास्ता थिएन । थियो त केवल खाना खाइस् ?, काम राम्रोसँग गर, जोगिए हिँड् है । आफू सुरक्षित भएर बस् । आमालाई केवल मेरो पर्वाह थियो । आमा पनि आफ्नी बुढी भएकी आमालाई भेट्न मामाघर जानू भएको रहेछ । आमाले मैले फेसबुकमा सेयर गरेका मेरा कामका लिंक हेर्न कहिले छुटाउनु हुन्न अनि भन्दै हुनुहुन्थ्यो- आज समाचार पढ्छेस् कि नाइ ? पढ्ने भए भन् है, यता मामाघरको आमाले पनि हेर्नुहुन्छ रे

ति दुवै आमालाई विनाकुनै मतलव र स्वार्थ मेरो सफलताको बाटोले खुसी मिल्छ । बेलुका फोन गर्ने भन्दै संवाद टुंगाएँ । आखिर सधैं चलिरहेको दैनिकीमा बेलुकी कोठामा पुगिस् कि नाइ ? खाना खाइस् कि नाइ ? भनेर खबर गर्नु नै छ । मेरी पहिलो साथी आमासँग सधैको दैनिकीमा कहिले गुनासो, हर्ष त कहिले मजाक गफ गर्नु नै छ ।

मलाई थाहा छ । आमाको खुशी त मेरो भरिएको पेट, आत्मविश्वास, आत्मनिर्भर बन्ने बाटोमा थियो । जसको एउटा मात्र इच्छा छ, जो उनको बुढेसकालको लाठी बनोस् । आज बुझेकी छु- उनको हाँसो उनलाई मुख हेरेर दिएको मिठाईभन्दा पनि म दुनियाँको अघि मुख देखाउन लायक बन्ने उनको त्यो स्वार्थहीन इच्छामा लुकेको छ ।

आमा तिम्रो यो त्यागलाई नमन !

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु