गृहपृष्ठ लकडाउन अवधिमा आधुनिक विवाह
लकडाउन अवधिमा आधुनिक विवाह
यो कुनै प्रेम विवाह नभएर झापाका हामी प्रतिष्ठित दुई परिवारबीच भव्य विवाहको तयारी भइसकेको भए पनि कोरोनाको लकडाउन भएकाले छोरो बेहुलो र म जन्ती भएर दुईवटा मोटरसाइकलमा झन्डै‑झन्डै अपहरण शैलीमा कुर्तासुरुवालमै केटीलाई दुलहीका रुपमा राति ९‑१० बजेतिर भित्र्याउँदा सबै गाउँले भोलिपल्ट छक्कै परेका थिए । अझ विवाहको विधि थाहा पाउँदा त को नै छक्क नपर्ला र !
उमेरले झन्डै साढे चार कोरी पुग्न लाग्नुभएको मेरा बुबालाई नातिनी बुहारीको अनुहार हेर्ने केही वर्ष यतादेखि ठूलो इच्छा थियो । वृद्धावस्था झेल्न थाल्नुभएको २‑४ वर्ष बिताइसकेर पनि एक वर्षदेखि ओछ्यानमै थला पर्नुभएको थियो । तैपनि, एउटै नाति भएकाले नातिनी बुहारीको अनुहार हेरेर प्राण त्याग्नेँ थिए भन्ने घिडघिडोले भने उहाँलाई छाडेको थिएन । छोरो काठमाडौं बसेर उच्च शिक्षा हासिल गरिरहेकाले बिहेको कुरा कडिकडाउ गरेर उठाउन सकिरहेका थिएनौँ तर दिन आएपछि जसरी पनि सम्भव हुँदोरहेछ ।
बुबालाई व्यथाले च्याप्दै लगेकाले औषधीमुलोले छुनै छाडिसकेको थियो तर ‘नातिनी बुहारी खोई ?’ भन्न छाड्नुभएको थिएन । लकडाउनको कुरा चल्दै थियो । हतार‑हतारमा केटीको टुङ्गो लगाएर अब आउने पहिलो लगनमा विवाह गर्न दुबै पक्षबीच सल्लाह भयो । जतिसक्दो चाँडो खस्याकखुसुक सानोतिनो भनौँ वा सामान्य विधिबाट विवाहको लेठो सकेर बुबाले अन्तिम सास फेर्नुअगाडि नै नातिनी बुहारी देखाइदिने हाम्रो सुर थियो । सम्भव भएसम्म ब्राह्मणलाई हारगुहार गरेर कुनै पनि बेला यसो एकआध घण्टाको मात्र भए पनि लगन निकालेर बिहेको विधि सक्ने पटक‑पटकको हाम्रो अनुरोध केटीपटिकालाई केही काम लागेन । हाम्रै हतारोका कारण अब आउने पहिलो लगन त मञ्जुर गरे तर एक्ली छोरी भएकाले धुमधामसँग विवाह गर्ने प्रस्ताव राखे । बुबाको अवस्था आज कि भोलि भन्नेछ । हामीसामु अरु विकल्प नै नरहेपछि जसोतसो भव्य विवाहको तयारीमा हामी पनि जुट्यौँ ।
दुबै तर्फबाट विवाहको तिथिमिति र व्यवस्थाको अन्तिम तयारी के मात्र सकिएको थियो । लकडाउन सुरु भइहाल्यो । लकडाउन के हो ? यसले के प्रभाव पार्छ ? थाहा हुने नै भएन । जब लकडाउनको दोस्रो अवधि सुरु भएर बाटोमा यसो हिँड्डुल गर्नेको ढाडमा पुलिसको डण्डाको सुम्लो देखिन थाल्यो तब मात्र लकडाउन भनेको राम्ररी बुझ्ने मौका मिल्यो । अब सोचेको मितिमा विवाह हुन्न भन्ने निचोडमा पुग्यौँ । यता, बुबाको घिडघिडो हेर्दा यस्तो लाग्थ्यो, उहाँका शरीरको प्रत्येक अंगले काम गर्न छाडे पनि नातिनी बुहारी नहेरेसम्म आँखामात्र ट्वाल्ल हेर्ने अनि स्वासले मात्र बोल्ने गर्न थाल्नुभएकाले हामीले यो अवस्था केटीपटिकालाई अलि कडा रुपमा प्रस्तुत गरायौँ ।
दोस्रो लकडाउनको थप अवधिले केटीपटिकाले पनि लकडाउन के हो भन्ने राम्ररी बुझिसकेका रहेछन् । दुबैपटिबाट विवाहको पूर्ण तयारी र पार्टी प्यालेस बुकिङ यथावत् छँदै थियो । केटिपटिकालाई फोन गर्नासाथ हाम्री छोरी हजुरहरुकै हो, जसो गर्दा ठिक पर्छ उसै गर्न सल्लाह दिए । हामी पहिलादेखि नै यही भनाइको पर्खाइमा थियौँ । हामीले सरसर्ति एकसरो घरसल्लाह गर्यौँ अनि ‘चलभाइ चतरा बाह्रक्षेत्र’ गर्ने भयौँ यानिकी बेहुलो हुने केटालाई लिएर केटीको घरमा जाने, उहाँहरुले जे‑जसरी छोरी अगाडि लगाइदिनुहुन्छ त्यसरी नै सरक्क लिएर आउने ।
केटिपटिकालाई फोन गर्नासाथ हाम्री छोरी हजुरहरुकै हो, जसो गर्दा ठिक पर्छ उसै गर्न सल्लाह दिए ।
अबको सल्लाहअनुसार चाहिँ बुबाको स्वास छँदै नातिनी बुहारी ल्याएर देखाइदिन निकै सहज होला जस्तो भयो । तर, घरबाट निस्केर बाटोमा देखापर्नासाथ ‘दोस्रो अवधिको कडिकडाउ लकडाउन छ भन्ने तँलाई थाहा छैन’ भनेर सुरक्षाकर्मीले ढाडमा लठ्ठीको सुम्लो बसाउन सक्ने स्थिति यथावतै थियो । को‑को गएर कसरी ल्याउने भन्ने अन्यौल भयो । सुनेका थियौँ रातभर बाटोमा गस्ती हुन्न भनेर । सोही अनुसार एकाबिहानै ३ बजे बेहुलो हुने छोरो र म केटीका घरतिर बेग्लाबेग्लै मोटरसाइकलमा हुइँकियौँ । अघिल्लो राति नै केटीका घरमा फोन गरेर ‘हामी आउँदै छौँ’ भनिसकेका थियौँ । उताबाट ‘को‑को कसरी आउनुहुन्छ’ भनेर सोध्नु स्वाभाविक थियो । तर, यसको जवाफ हामीलाई नै थाहा थिएन अनि कसरी को‑को कुन समयमा आउँछौ भन्न सक्नु नि ! नभन्दै त्यसै राति भएको घर सल्लाहअनुसार लाठीको सुम्लो नबसाइ सामान्य पहिरनमा छोरो बेहुलाको रुपमा र म जन्ती बनेर एकाबिहानै ५‑६ बजे टुप्लुक्क पुग्दा आफ्नो घरआँगनमा हामीलाई देखेर केटीपटिका तीनछक पर्ने नै भए ।
‘अब उप्रान्त हाम्री छोरी हजुरहरुकै हो, जसो गर्दा ठिक हुन्छ, हामीलाई मञ्जुर छ’ भन्ने वाचा गरिसकेकाले एक भन्नु न दुई भन्नु भए । झिसमिसै हामीलाई देखेर उता घरभित्र आमाछोरीका आँखामा आँसुका धारा बग्न थालेछन् । हामीहरु आएजसरी नै पारिवारिक सल्लाहअनुसार नै भए पनि छोरी सरक्क अगाडि लगाउँदा भोलिका दिनमा गाउँघर छरछिमकेका अगाडि के भन्ने ? अनि दुई‑चार दिन पर्खिन नसकेर फलानाकी छोरी पोइला गइछ भन्ने हल्ला चल्यो भने हाम्रो इज्जत के होला ! जबकि विवाहको चर्चासँगै सम्पूर्ण तयारी भइसकेको गाउँघर, छरछिमेक, इष्टमित्र र नातागोतामा राम्ररी थाहा भइसकेको छ ।
केटा र केटाको बाउ हाम्रो बचनअनुसार घरैमा आइसकेपछि नाइनास्ती गर्ने स्थिति पनि छैन । ‘अहिलेलाई छोरी लैजानुस्, अनुकूल समय आएपछि तामझामसहित भव्य विवाह गरौँला’ भनेर प्रचलित संस्कारमै नभएको कुरा भन्नै पनि भएन । अनि केटापटिका हजुरबाको नातिनी बुहारीको अनुहार हेर्ने घिडघिडोले छोरीलाई सरक्क केटाको घर पठाउँदा गाउँ समाजमा हामीलाई कतै ठुलै अबगाल त आइलाग्दैन भन्ने त्रास पनि उत्तिकै छँदै थियो ।
न मागी विवाहको विधिअनुसार न त भागी विवाहको लफडा, लकडाउनको फरक परिवेशमा अतिआधुनिक विल्कुलै नयाँ किसिमको बिहे हुने भयो । भव्य विवाहको तयारी भइसकेको अवस्थामा लकडाउनको कारणले हामी दुई परिवारका सीमित व्यक्तिहरुको उपस्थितिमा मात्र छोरी सरक्क अगाडि लगाउँदा छरछिमेक र समाजमा नकारात्मक टिकाटिप्मणी हुनसक्ने हुँदा कसरी गर्दा उपयुक्त होला भनेर सामान्य छलफल चलायौँ ।
अर्कोतर्फ नेपालमै पनि आजकल करिब‑करिब प्रेम विवाहले बाहुल्य जमाउन थालिसकेको र तामझामको विवाह गर्ने तयारी भइसकेको अवस्थामा पनि केटीले कुनै नामञ्जुर नगर्नु आश्चार्य नै थियो । केटाले त घरको पारिवारिक अवस्थाले पनि नामञ्जुर गर्ने परिस्थिति नै थिएन । अन्ततः विवाहमा उपस्थित हुनेहरु (जन्ती, घरगाउँले) र मर्दाका मलामी प्रत्यक्ष साक्षी हुन् भन्ने यथार्थतालाई मध्यनजर गर्दै के गर्ने ? कसरी गर्ने ? भन्ने अन्यौलबीच सामान्य सल्लाहअनुसार केटीपटिका घरमा भएका परिवारबाहेक तुरुन्तै जम्मा हुनसक्ने दाजुभाइ र नजिकका नाताका मान्छे सीमित संख्यामा भेला भएर यस्तो असामान्य अवस्थामा पनि लगनका बेला हगन भने जस्तै हतार‑हतारमा कता लगन, कता जन्ती, कता घरगाउँले, कता जग्गे, कता बिहे गराउने ब्राह्मण, कताको जन्तीभोज सबै कुरा बिर्सेर सामान्य विधिअनुसार पण्डितभन्दा पनि नजिकको मन्दिरको पुजारी बोलाएर केटाकेटीले बिहेको खेल खेलेझैँ बिनालगन नै केटीलाई रातो सारीमा र केटालाई यथावत् पहिरनमा सामान्यभन्दा पनि सामान्य विधिले बिहे गराएर सामाजिक रुपमा आइलाग्ने अवगालबाट बच्ने जुक्ति निकाल्यौँ । जसोतसो लगनको साइत र तामझामसहितको भव्य तयारीले भन्दा पनि उपस्थित भएका नाताहरुबाट बिहेको विधिमात्र गराएर औपचारिक रुपमै छोरी अन्माएर पठाउने त भैयो तर अर्को फसाद थियो केटी कसरी केटाको घर पुर्याउने ?
केटी बेहुलीका रुपमा घर लैजाने विभिन्न विकल्पका बाबजुद केटीका बाउले प्रहरीको उच्च अधिकृतलाई सबै कुरा अवगत गराए । सुरुमा जन्तीको संख्या, उनीहरु आएको तरिका र बिहे गरेको विधि सुनेर ख्यालठट्टाझैँ लागेर ती प्रहरी अधिकृत अचम्मित भएछन् तर जतिसक्दो चाँडो अनि जसरी पनि बिहे हुनुपर्ने कारण र बिहेको विधि भनिदिएपछि ‘ओहो ! तपाईहरुले बिहे गराउनुपर्ने कारणभन्दा पनि न्यून खर्च र कम झन्झटिलो किसिमले विवाह गराएर समाजमा अनुकरणीय काम गर्नुभएछ, हुन त लकडाउनका कारणले पनि नयाँ किसिमको विवाह भएको रहेछ तर यसको सिकोले भोलिका दिनमा पनि यसरी नै कम खर्चैमा विवाह उतार्न सकिने भयो भने त समाजमा ठूलै परिवर्तन आउन सक्ने भयो नि !’ भन्दै बेहुला‑बेहुली जसरी पनि घर पुर्याइदिने आश्वासन दिएछन् ।
अन्ततः लामो समयको पर्खाइपछि करिब ८ बजे राति स्कर्टिङ गरिदिने पुलिस बसेको गाडी बेहुलीको घरमा टुप्लुक्क आइपुग्यो । तर, बेहुलीलाई सामान्य सिङ्गारपटार र रातै सारीमा नपठाउन सल्लाह दिएकाले बेहुलीलाई पुनः कुर्तासुरुवाल लगाएर केटाको मोटरसाइकलपछाडि राखेर अन्माइयो । दुई घण्टा लामो बाटोमा बेहुलाबेहुली चढेको मोटरसाइकललाई स्कर्टिङ गर्ने गाडीले पिछा गर्ने र त्यसको पछाडि बेहुलाको बाउ चढेको बाइक राति १० बजे घर ल्याइपुर्याइयो । उता, बिहेमा अपनाइएको सामान्य विधि जस्तै गरेर कुर्ता‑सुरुवालमै सामान्य विधिबाटै बेहुली भित्र्यायौँ । एक त रातिको समय त्यसमाथि पनि कुर्ता‑सुरुवलामा नातिनी बुहारी देखाउनुमा कुनै अर्थ नभएकाले भोलिपल्ट बिहान हजुरबासामु बेहुला‑बेहुलीकै पहिरनमा केटाकेटी उभ्याइदिएपछि उहाँले पनि दुबैको शिरमा हात राख्दै नबुझिने स्वासको बोलीमा खिसिक्क हाँस्नुभयो ।
यसरी सयौँका संख्यामा जन्ती लैजाने, बेहुलाबेहुलीका दुवै पक्षले हजारौँका संख्यालाई ठूल्ठूला होटल र पार्टी प्यालेसमा भोजभतेर गर्ने, महँगा महँगा पहिरन, गरगहना र उपहारमा गरिने ठूलै धनराशीलाई चुनौती दिँदै लकडाउनका बेलामा हजुरबालाई नातिनी बुहारीको अनुहार देखाइदिएर उहाँको मर्नुअगाडिको इच्छा पूरा गरिदिएका थियौँ । अबका दिनमा हाम्रो संस्कारमा मागी विवाह भनेको दुई परिवारबीचको सम्झौता पनि हो र सामान्यभन्दा सामान्य खर्चमा बिना लगन र साइत पनि सम्बन्ध गाँस्न सकिने रहेछ भन्ने म जस्ता आमजमातको ठम्याइ छ ।
(डा. बस्नेत कृषि तथा जेन्डर विशेषज्ञ हुन् ।)
प्रकाशित समय १७:३५ बजे

















