गृहपृष्ठ मुर्खको औषधि हुँदैन

मुर्खको औषधि हुँदैन

sampadakiya-newskarobar

विश्वभरि नै कोरोना भाइरसको महामारी छ । विश्वकै सर्वाधिक शक्तिशाली भनिएको अमेरिकामा समेत बुधबार बिहानसम्म १० लाख ३५ भन्दा बढीमा यो भाइरसको संक्रमण भइसकेको छ भने ५९ हजार अधिकको मृत्यु भइसकेको छ । नेपालसँग करिब १८०० किमी खुला सीमाना जोडिएको भारतमा समेत ३१ हजार २ सयभन्दा अधिकको संक्रमण भएकोमा १ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा चिन्तालाग्दो कुरा नेपालसँग सोझै सीमा जोडिएका भारतकोे उत्तर प्रदेशमा २०५३ जनामा संक्रमण भएकोमा ३४ जनाको मृत्यु, बिहारमा ३५९ को संक्रमण भएकोमा २ जनाको मृत्यु तथा पश्चिम बंगालमा ७२५ लाई संक्रमण भएकोमा २० जनाको मृत्यु भइसकेको छ ।

नेपालसँग जोडिएका सीमावर्ति क्षेत्रहरूमा संक्रमितहरूको संख्या लगातार बढ्दै छ । नेपालमा पनि हालसम्म ५४ जनामा संक्रमण देखा परिसकेको छ । सरकार र सरकारी मान्छेहरू नेपालमा हालसम्म कोरोनाको गम्भीर संक्रमण देखा नपरेकाले चिन्ताको विषय नभएको भन्दै भ्रम छर्न व्यस्त छन् । जसरी विश्वभरि यसको कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा यहाँ सरकार पर्यटक बोलाउन व्यस्त थियो, त्यही खालको मुर्ख्याइँ अहिले कोरोना परीक्षण र संक्रमण विस्तार रोकथाममा भइरहेको छ । उदाहरणका लागि नेपालकै कोरोना हटस्पट बनेको उदयपुरको त्रियुगा नगरपालिकामा अहिलेसम्म ब्यापक अनुपातमा संक्रमण परीक्षण गरिनु पर्नेमा सर्वेहरूमा जस्तो नमुना संकलन विधिमा आधारित परीक्षण भइरहेको छ । व्यापक परीक्षणमा जति ढिलाइ गर्दै गयो, उति नै यसको संक्रमण फैलँदै जाने जोखिम हुन्छ ।

विश्वभरि नै र्‍यापिड टेस्ट किट (आरडीटी)को गुणस्तरमाथि प्रश्न उब्जेर त्यसको प्रयोग नगर्ने निर्णय भइरहँदा नेपालमा भने सरकार फेरि यसको किनबेल र कमिसनको धन्दामा लागेको छ । कोरोना भाइरस महामारीले विश्व त्राहित्राहि हुँदा नेपालमा भने प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी र सत्ता बचाऊको जोड घटाउमा लागेका छन् । विश्व स्वास्थ्य संकटका बेला दल फुटाउ अध्यादेश ल्याउन, संवैधानिक समितिको गणपुरक संख्यासम्बन्धी अध्यादेश ल्याउनुको औचित्य उनले पुष्टि गर्न सक्ने अवस्था छैन । भलै आफ्नै दलभित्रको व्यापक विरोधपछि ती अध्यादेशहरू फिर्ता लिइए पनि अहिले प्रधानमन्त्री ओलीको कुर्सी हल्लिएको छ । आफ्नो पार्टी र संसदीय दलमा बहुमत पुर्‍याउन उनी अहिले गुटबन्दीमा लागेका छन् । विश्वभरिका मानिस पनि नेपालका राजनीतिक दलहरू र यहाँका नेताहरूको ताल देखेर हाँस्दा हुन् ।

नेपालीहरू खासगरि राजनीतिक दलका कार्यकर्ताहरूको चरम दर्जाको मुर्ख्याइँ त मंगलबार र आज पनि देखिँदैछ । भर्खरै एकीकृत भएको जनता समाजवादी दल आफ्ना सांसदको ‘अपहरण’को मुद्दा दर्ता गराउन पहिला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा दलबलसहित पुग्यो भने उक्त दलका अध्यक्ष डा. बाबुराम भट्टराईको विरोध गर्दै सत्ताधारी नेकपाका भ्रातृ संगठनहरू युवा संघ र अनेरास्ववियुले सडक प्रदर्शन गरिरहेका छन् । अर्कातिर सीमावर्ति क्षेत्रमा व्यापक संक्रमण फैलिइरहँदा महोत्तरीमा सरकारका विरोधमा मशाल जुलुस प्रदर्शन गरियो । यस्तो चरम दर्जाको मुर्ख्याइँ प्रदर्शन जारी छ । तरकारी, औषधि र अन्य अत्यावश्यक कामले सडकमा हिड्ने १ हजारभन्दा आमनागरिकहरूलाई दिनभरि ‘होल्ड’ गराउन सक्ने प्रहरी राजनीतिक दलका यी कार्यकर्तालाई भने नियन्त्रणमा लिन सक्दैन, किनकि उनीहरू शक्तिशाली सरकारका शक्तिशाली कार्यकर्ता हुन् । उनीहरूको बलको तुजुक देखेर विश्वकै शक्तिशाली सार्स, मार्स, इबोला, नोबल कोरोनालगायतका भाइरसहरूसमेत डराएर भाग्छन् भन्ने भ्रममा छन् । यिनले यदि केहीगरि नोबल कोरोना भाइरसको संक्रमण फैलाए भने नेपालले इटालीको भन्दा भयावह अवस्था झेल्नुपर्ने स्थिति आउने छ । बिनाकुनै सम्झौता यस्ता मुर्ख्याइँयुक्त गतिविधिमा तत्कालै रोक लगाउनैपर्छ, तिनलाई सडकमा ‘होल्ड’ गराएरमात्र पुग्दैन, संक्रमण रोग रोकथामसम्बन्धी कानुन लगाएर अधिकतम सजाय नगर्ने हो भने यस्तो अराजकता अझ बढेर जानेछ । फिलिपिन्ससहितका केही देशले त यसरी लकडाउन उल्लंघन गर्नेलाइ गोली हानीदिनेसमेत आदेश जारी गरेका छन्, त्यो पनि अर्को मुर्ख्याइँ हो । तर जानीजानी लकडाउन उल्लंघन गरेर नाराजुलुस गरिहिँड्ने अराजक समूहलाई तत्काल नियन्त्रणमा नलिने हो लकडाउन भनेका गरिब, निमुखा नागरिकलाई दुःख दिनमात्र लगाइएको राजनीतिक कर्फ्यु भन्ने बुझाइ बढेर जानेछ, जुन सरकारका लागि प्रत्युत्पादक हुनेछ ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु