गृहपृष्ठ प्रधानमन्त्रीलाई अभिभावकको तर्फबाट पत्र
प्रधानमन्त्रीलाई अभिभावकको तर्फबाट पत्र
सम्माननीय प्रधानमन्त्रीज्यु !
नेपाल सरकार, सिंहदरबार काठमाडौं
अभिभावक पिताको दायित्व र पुत्रधर्मलाई रक्षा गर्न लामो लगानी र श्रद्धेय गुरुवरको गुरु दक्षिणा परीक्षाका लागि छट्पटिएका बालबालिकाको हात र मानसिकताले प्रेरित हुँदै अभिभावकको प्रतिनिधि पात्रको रुपमा पहिलोपटक हजुरको नाममा यो पत्र लेख्दै छु र यहाँलाई सबै अभिभावकका तर्फबाट सम्मान भावले नमन गर्दछु ।
पिताको सर्वोपरि धर्म पहिलो पुत्रधर्म नै हो । पुत्रधर्म मर्यादाअनुकूल छ भने त्यो धर्मलाई समाजले पनि स्वीकार र रक्षा गर्नु नै पर्छ । सरकार नागरिकका लागि धर्माधिकारी पनि हो । अहिलेको अवस्थामा बालबालिकाको हक र अधिकार संकटमा हुँदा रक्षा गर्नु पिता र समस्त नागरिकको धर्माधिकारी राज्यको पनि दायित्व हो । शास्त्रउक्ति र मर्यादाअनुकूल धर्मको रक्षाका लागि पुत्रले पिता र राज्यसँग आशा र स्वीकार खोज्नु पनि हक अधिकार नै हो ।
लकडाउन भएको ४५औँ दिनमा घरबाटै बुद्ध जयन्ती मनाउनुपरेको छ । बौद्ध तीर्थस्थलहरु सुनसान छ । यद्यपि, बुद्धको प्रयोगात्मक शिक्षालाई तीन किसिमले वर्गीकरण गर्ने चलन छ : शील, समधी र पज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन सकेमा नै दु:ख मुक्तिको अवस्था, निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने बुद्धको मूल शिक्षा Truth, Cause, Solution र Technology & means हो । शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा आर्यसत्यलाई बुझ्दै जान सकिन्छ । त्यसैले सरकार जो धर्माधिकारी छ भने आशा गरौं । उसले नागरिकका व्यथा र कथालाई बुद्ध शान्तिको कामना भनेर सम्झनेछ ।
कोरोना कहरको यो आततायी क्षणमा यहाँलाई सबै जो १३ वर्ष लगातार स्कुलमा अध्ययन गरेर यसै वर्ष एसईई परीक्षा दिने तयारीमा बसेका विद्यार्थी र अन्य तहसमेतको अभिभावकको तर्फबाट केही आशा लिएर सुझावसहित यो कोरोना कहरका शब्दहरु लेख्दै छु । आमरुपमा विद्यार्थी परीक्षा दिने मनसायले परीक्षाको अघिल्लो दिन तयारी गरी निदाउन खोज्दै गर्दा सरकारले कोरोनाका कारण मानव स्वास्थ्य र जीवन सुरक्षाका लागि परीक्षा स्थगित गर्यो । यो सुन्दा अभिभावकका नाताले राज्यप्रती भरोसा र सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति गरेको निर्णयमा व्यक्तिगत आफ्नो मन नमान्दै गर्दा पनि मन बुझाएर बसेको ४६ दिन भयो । मैले बुझेको कुरा सरकारले कोरोना नियन्त्रणको लक्ष्यमा पुग्न धेरै आत्मविश्वास र दृढता अवश्य चाहिन्छ । यसमा सबै आमनेपालीले सहयोग गर्नुपर्छ र गरिरहनुभएको छ पनि । हामी अभिभावक र विद्यार्थी पनि त्यसबाट विमुख रहन्नौँ ।
आगामी दिनमा महारोगको नियन्त्रणको रणनीति, विशेष सुरक्षा विधि, कोभिड १९ परीक्षणको सीमितता र ढिलापनाले आउने परिस्थितिलाई पनि आमनेपालीले सूक्ष्म ढंगले हेरिरहनुभएको छ होला । विकराल समस्या भएको कोरोनाभाइरस सुरुमा एक जनाबाट अर्कोमा सर्दै विश्वभर दर्दनाक अवस्था सिर्जना गरेको कुरा विदितै छ । सरकारले देशविदेशबाट हवाई नाका र सीमानाका बन्दाबन्दी गरेकोमा खुसी नै महसुस गरेका छौं । विदेशमा फसेका विद्यार्थीले नेपाल आउन चाहेमा अझै पनि उचित व्यवस्था सरकारले गर्नु नै पर्छ । उत्तम विकल्प लकडाउन कति दिन गर्ने ? लकडाउन भएको आज ४६ दिन भयो । कोभिड १९ विरुद्धको औषधि भ्याक्सिन वा केही विकल्प नबनेसम्म आशातित समाधान नआउला । त्यसैले यसमा विशेष निर्णयमा जानुपर्छ कि !
कुनै पनि विषयमा सबैभन्दा ठूलो कुरा दूरदर्शिता हो । अहिलेको अवस्थामा जसरी कोभिड जाँच प्रणाली र सुस्त क्रम चलिरहेको छ । यसरी जाँच्ने सुस्तताले सबै नेपालीको परीक्षण गर्न आगामी आठ दशक लाग्ने देखियो । साँच्चिकै सरकारले परीक्षणका लागि क्रमभंग नगर्ने हो भने आमविद्यार्थीले परीक्षा र आमनेपाली अभिभावकले परीक्षण पर्खंदापर्खंदै जीवनलीला नै सकाउँछन् कि ! मनमा आएको डर यस्तो छ, राज्यधर्म देख्दा र नजिकबाट महसुस गर्दा । यस्तो अवस्थामा मकैमा घुन पिसिएजस्तै सरकारको निर्णयको जाँतोले अभिभावकको धर्म र विद्यार्थीको कर्तव्यलाई एकमुष्ट नपिसोस् ।
लकडाउन लम्बिँदै जाने र विद्यार्थी र नागरिक समुदायमा मनोवैज्ञानिक दबाब र सन्तुलन खस्किँदै जाने अवस्था नल्याउन लकडाउन विधिलाई परीक्षार्थी विद्यार्थी विशेषलाई खुकुलो बनाएर प्रदेशस्तरको एसईई परीक्षा छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न अनुरोध गर्छु । आज समाचारहरुमा जे‑जे दृश्य र भावनाले ठाउँ पाएको देखिन्छ, त्यति पनि भीडभाड हुन्न, हरेक स्कुलमा परीक्षा लिने हो भने । त्यसका लागि हरेक परीक्षा केन्द्रमा ज्वरो मापन क्लिनिकको व्यवस्थापन र ज्वरो वा केही रोग लागेकालाई छुट्टै कक्षाको व्यवस्थापन गर्न लगाएर पनि परीक्षा सञ्चालन गरौं । केही मानिसको सामाजिक सञ्जालमा कुराहरु अध्ययन गर्दा शैक्षिक सत्र नै रोक्ने पनि सुनिन्छ तर उहाँहरुको कुरा सुन्दा यति असंवेदशील लाग्छ, सायदै उहाँहरुको बालबालिकाको परीक्षा नै नभएर होला कि झैं लाग्छ ।
हामी परीक्षाको विकल्प पुरानो (टेस्ट परीक्षा परिणाम ) परिणामलाई नै योग गरेर एसईई परीक्षा नदिएर नै पास भएको मार्कसिट लिने र परीक्षा नै नदिएको ब्याच बन्नलाई आफ्ना बालबालिकालाई प्रेरित गर्न पनि सक्दैनौँ । अन्य तहको आन्तरिक मूल्यांकन पनि मापनका आधार होलान् । तर, विद्यालयको साझा संस्थाहरुको विचारलाई पनि कानुनी मान्यता दिन बाधा पर्दैन र आमविद्यार्थीको मानसिकतामा चोट नपर्ने गरी निर्णय गर्न सकिन्छ र आगामी अध्ययनलाई बाटो खुलाउन सकिन्छ भने त्यसतर्फ पनि सोच्ने कि बाधा अड्काउ फुकाऊ गरेर ? त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूमार्फत सामाजिक दूरी कायम राख्दै कि परीक्षा तुरुन्तै गराउने व्यवस्थापन वा वैकल्पिक व्यवस्थाका लागि विवेकीय निर्णय हुनेछ भन्ने विश्वास राख्छौँ । राज्यधर्म र धर्माधिकारीको जिम्मेवारीबाट सरकार आफ्नो दायित्व पूरा गर्न पछि नहट्ला भन्ने विश्वास लिएका छौं ।
(फुयाल समाजवाद अध्ययन केन्द्र चाँगुनारायण, भक्तपुरका अध्यक्ष हुन् ।)
प्रकाशित समय २१:२० बजे

















