गृहपृष्ठ त्यो कालरात्रि, निरीह गणतन्त्र र म

त्यो कालरात्रि, निरीह गणतन्त्र र म

सधैंझैँ रातिको रेडियो नेपालमा आउने घटना र विचारको धुन सुन्दै म निदाएछु । बिहान बिउँझदा घरमा सन्नाटा थियो । तल भान्साबाट आज कसैको आवाज आइराखेको थिएन । सधैं घन्किएर स्वदेश गान बज्ने रेडियो पनि बोलिरहेको थिएन । म अचम्ममा पर्दै तल झरेँ । बुबाले दोकान पनि खोल्नुभएको रहेनछ । पछाडिको भित्रपट्टिको ढोका खुल्लै थियो । बुबाले झराप नखोली दोकानको ढोकामात्र खोलेर बाहिरबाट लगाउनुभएको भन्ने मैले थाहा पाएँ ।

अब मनमा कौतुहल भरिएर आयो । पक्कै कोही कसैलाई केही भयो । अस्ति नै गान्धिहरुको गाईगोठमा आगो लाग्दा पनि यस्तै भएको थियो । म उठ्दा आमाबुबा सबै आगो निभाउन जानुभएको थियो । अब म हत्तपत्त तल झरेँ । भान्सामा अगेनाको डिलमा आमाले राखिदिएको दूध पिउन पनि मन लागेन । मुख पनि नधोई म नागीतिर दौडिएँ । घुमेर हाम्रो दोकानको बाहिरपट्टि अगाडि आइपुग्दा पनि कोही देखिन । दूध केन्द्रमा पनि आज नाति दाइ दूध भर्दै हुनुहुन्न थियो । सबै गाउँले चोकमा भेला भएका देखिन्थे । मिश्र दाजुको घरको टिभीको आवाज पनि बाटासम्म नै सुनिने गरी घन्किएको थियो । शनिबार हामी फिल्म हेर्न जाँदा ठूलो आवाज पार्दा ब्याट्री छिटो सकिन्छ भनेर गाली गर्ने मिश्र दाजुले आज ब्याट्रीको लोभ नगरेको देख्दा म अझ आश्चर्यमा परेँ । घाँस काट्न हिँडेकाहरु नाम्लो हातपछाडि राखेर उभिएका थिए ।

केही महिनाअघि फुटबल ग्राउन्डमा भएको जमघटलाई दूरबिनबाट देखेर मूर्तिडाँडामा रहेको टिभी टावरका आर्मीहरु दलबलसहित आएको मलाई अझै याद थियो । माओवादी होस् भन्दै गालामा झापड खाने दाइहरु पनि बेपर्वाह झुम्मिएका थिए ।

म छेउमा पुगेँ । सबैजना विचलितझैँ लाग्थ्यो ।

अब मलाई पक्कै केही अप्रिय घटना घटेको शंका लाग्न थाल्यो ।

कसैले ‘के भएको हो’ भन्छन् कि भनेर बीच‑बीचमा घुस्रेँ तर कुरो के हो बुझ्नै पाइन ।

अनि आफूसँगै पढ्ने साथी गंगालाई गएर सोधेँ, ‘ओए ! के भयो ?’

अनि पो थाहा भयो, आज रेडियो, टिभीमा भजन, स्वदेशगान र शोक धुनमात्र आउँदै रहेछ । त्यसबेला काठमाडौं फोन गर्न ट्रंक कल के भन्थे त्यो गर्न दुई घण्टा टाढा फिक्कल पुग्नुपर्थ्यो । त्यताबाट पनि केही हल्ला आएको थिएन । सबै मान्छेका हातहातमा आफ्नो घरको रेडियो थियो । हाम्रो बुबाले पनि मस्तान खैनीमा आउने कालो लाबरले बाँधेको हाम्रो पुरानो फिलिप्स रेडियो बोक्नुभएको थियो । अनेक होहल्ला हुँदै थियो । माओवादीले काठमाडौं सिंहदरबार हानेर ध्वस्त पारेकोदेखि रेडियो स्टेसन उडाएकोसम्मका आंकलन हुँदै थिए ।

यति नै बेला इन्डियन आर्मीबाट रिटायर्ड हाम्रो देशी बडा परबाट रेडियो हातमा बोकेर हत्तासिँदै आउनुभयो । देशी बडालाई देश‑विदेशका समाचारको खुबै सोख थियो । मलाई ‘अंग्रेजी समाचार पनि सुन्नुपर्छ’ भनेर प्रेरणा दिने पनि उहाँ नै हुनुहुन्थ्यो । केही दिनअघि हाम्रो घरभित्र पसेको गुर्बे सर्पको घाँटी च्याप्प समातेर बाहिर निकाल्न नडराउनुभएको देशी बडा आज त्यति धेरै अतालिनु भएको देख्दा म तीन छक्क पर्दै थिएँ । अलइन्डिया रेडियोको मुख्य समाचार सकेर समाचार विस्तारमा भन्ने बेलामा बडा हामी छेउ आउनुभयो । तर, बोल्न सक्नुभएन । रेडियोको मिटर एकै श्वासमा घुमाएर आवाज ठूलो पार्नुभयो र हामीलाई समाचार सुन्न इशारा गर्नुभयो ।

केही दिनअघि हाम्रो घरभित्र पसेको गुर्बे सर्पको घाँटी च्याप्प समातेर बाहिर निकाल्न नडराउनुभएको देशी बडा आज त्यति धेरै अतालिनु भएको देख्दा म तीन छक्क पर्दै थिएँ ।

नेपाल टेलिभिजनबाट आउने शनिबारका हिन्दी चलचित्रहरु हेरेर हिन्दी बुझ्ने भइसकेको मलाई समाचार सुन्दासुन्दै पहिला एकछिन झुटो पो हो कि, हाँस्ने कि रुने कि, के गर्ने हुँदै थियो । अचानक मैले समाचार साँचो भएको भान गरेँ । रेडियोको आवाज बन्द भयो ।

आमाबुबाको आँखासँग मेरा आँखा जुधे । सबै एका‑अर्कासँग आँखा जुधाएर मुख आँ पारेर ट्वाल्ल पर्दै थिए । बुबाआमाका आँखामा टिलपिल आँसु थिए । म पनि सायद ठूलो मान्छेझैँ गरेर आँखा भिजाएर कालो अनुहार लगाएर एक पाइला नसरी उभिएको थिए । मेरा पनि अरुका झैँ आँसु थामिएनन् । म सबैलाई मुखामुख गरेर रुन थालेँ । आज मैले पूरा गाउँ रोएको देख्दै थिएँ । सायद सबैलाई अभिभावक गुमेको दु:ख थियो । राजतन्त्रविरुद्ध बोल्ने केही माओवादीका अंकलहरु पनि आँसुसरि थिए । कोही त्यहीँ थचक्क बसेर पुर्पुरो समाउँदै भक्कानिँदै थिए, कोही डेग चाल्न नसकेर उभिएको‑उभिएकै थिए अनि कोही शिर निहुराएर विस्तारै घर‑घर जाँदै थिए ।

सम्झी‑सम्झी रुँदै हामी पनि घरतिर आयौं । बुबाले बोक्नुभएको रेडियोमा ‘नेपाल मेरो तिमीलाई, उपहार भो यो जिन्दगी…’ भन्ने स्वदेशगान आउँदै थियो, योगेश वैधले गाउनुभएको अनि राजा महेन्द्रले रचना गर्नुभएको । आज हामी परिवार नै पहिलोपटक रोएको दिन ।

कस्तो ठूलो शोक थियो । त्यसअगाडि न मैले बुबाआमा एकैसाथ टिलपिल आँसु पारेर रोएको देखेको थिएँ न त त्यसपछि नै देखेको छु । त्यो दिन खै के भयो, सायद बिहानको खाना खाइएन । दिनभर रेडियो र टिभीले शोक गाइरहे । मैले भान्साघरमा आमाले बिहानै राखिदिएको दूध पनि खाइन् ।

त्यो दिन २०५८ जेठ १९ गते बहुसंख्यक नेपाली जनताले मनदेखि हाम्रो राजा भनेर मानेका शाह वंशका ‘अन्तिम राजा’ वीरेन्द्रको हत्या भएको दिन । त्यही घटना र त्यसबेलाको माओवादी युद्धको आडमा देशमा व्यवस्था परिवर्तनको सपनाले अझ मुर्तरुप पाउन थाल्यो ।

त्यो दिन राजपरिवारको हत्यामा रुनेहरुलाई राजतन्त्रका तत्कालीन उत्तराधिकारीदेखि घृणा र वितृष्णा जाग्न थाल्यो । जनताले पत्याउने गरी छानबिन गरेर दरबार हत्याकाण्डको हत्यारा पत्ता लगाउन नसक्नुले हत्याको शंकाको घेरा तत्कालीन उत्तराधिकारीहरु वरिपरि नै रह्यो ।

त्यसको केही वर्षमा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताले हद नाघ्यो । भएको प्रजातान्त्रिक व्यवस्थामा पनि राजसंस्थाले धावा बोल्न थालेपछि ५८ सालको जेठमा रोएको त्यो १२ वर्षको केटोसहित उसको गाउँ पनि ६२ सालको चैतमा ‘तानाशाह राजतन्त्र मुर्दावाद’ भन्दै सडकमा उत्रियो । अन्ततः १९ दिन निरन्तर उर्लेको जनसागरले नेपाल र नेपालीको चौतर्फी विकास, स्वतन्त्रता र उन्नतिको बाधक बनेको राजतन्त्रलाई सदाको लागि बगायो । अनि जनताका छोराछोरीलाई राष्ट्र प्रमुख बनाउने गरी सबैले कल्पना गरेको व्यवस्था ‘गणतन्त्र’ आयो ।

१९ दिनको आन्दोलनले गणतन्त्र ल्याउने जनताले जेठ १९ भने भुलेका छैनन् । गणतन्त्र आएसँगै सबैको आशा थियो, दरबार हत्याकाण्डको फेरि सत्यतथ्य छानबिन हुनेछ तर त्यो अहिलेसम्म हुन सकेन ।

गणतन्त्रले वर्षमा एकपटक दियो बालेर हर्ष गर्ने दिन अनि पात्रोमा एउटा सार्वजनिक बिदाको दिन त थप्यो तर हाम्रो गाउँका माल्दाइको थाप्लोमा नाम्लोले खाएको कपाल उमार्न सकेन । नाति दाजुले दूध भर्ने संस्थामा आउने किसानलाई उपयुक्त मूल्य दिन सकेन । हाम्रो गाउँमा गान्धिहरुको गोठ जल्दाको बेलाजस्तै अहिले पनि छिटो दमकल पुग्न राम्रो बाटो छैन । देशी बडा पनि निजी अस्पतालमा उपचारमा लाखौं पैसा खर्च गर्दागर्दै बित्नुभयो । म पनि आज महँगो पैसा खर्चेर जसोतसो डाक्टर बनेँ । जनताको जीवन स्वर्ग बनाउँछु भनेर ल्याएको गणतन्त्रले न देशी बडालाई स्याहार गर्‍यो न त मलाई पढ्न नै सघायो । बरु हामी दुबै जना हामीले नै ल्याएको व्यवस्थाका बाबजुद स्वास्थ्य र शिक्षाका व्यापारीहरुको कारण लाखौं ॠणको चंगुलमा फस्यौँ । त्यसबेला ‘तानाशाह मुर्दावाद’ भन्ने हामी गाउँलेहरू अहिले कसैको निरंकुशताको पनि जिन्दावाद भन्नबाहेक खुलेर विरोधमा बोल्न पनि पाउँदैनौं ।

गणतन्त्रले वर्षमा एकपटक दियो बालेर हर्ष गर्ने दिन अनि पात्रोमा एउटा सार्वजनिक बिदाको दिन त थप्यो तर हाम्रो गाउँका माल्दाइको थाप्लोमा नाम्लोले खाएको कपाल उमार्न सकेन ।

१९ वर्षअघिको आज (जेठ १९) एक राजा मारिएर अरु सयौं राजाहरु टुसाएको दिन । म त्यो दिन एक राजा मारिँदा रुँदै थिए र आज म हज्जारौं राजाहरुले देश लुटिरहेको हाँस्दै हेर्न बाध्य छु । गणतन्त्रले जन्माएका यी राजाहरु अहिले नारायणहिटीमा लुकेर होइन, खुलेआम देशभरका जनताको खुन चुस्दै रमाउँदै छन् । अनि धेरै गरिबहरु बिहानै आफ्ना छोराछोरीलाई एक गिलास दूध पिलाउने पैसा कमाउन तातो घाममा पसिना चुहाउँदैछ्न् । हजारौं राजाहरु चुनेर तिनका सात पुस्ता पोस्न पुग्ने कमाउने बाटो खुलाइदिने हामी गरिब टुहुरा जनतालाई बधाई अनि मृत्यु हुने राजा वीरेन्द्र अनि उसबेला मारिने सबैलाई हार्दिक श्रद्धाञ्जली ।

(सूर्योदय १३ इलाम)

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु