गृहपृष्ठ नेपालमा पर्वतारोहण पर्यटन : सबैका लागि कमाइको राम्रो स्रोत हो तर . .

नेपालमा पर्वतारोहण पर्यटन : सबैका लागि कमाइको राम्रो स्रोत हो तर . .

हुन त सन् २०१९ को अन्त्य हुँदा-नहुँदै चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारीका कारण विश्वभरीकै पर्यटन उद्योग धरमरको अवस्थामा घस्रिरहेको छ । तापनि यसपटक नेपालको पर्वतारोहण पर्यटन र यसबाट हुने आमदानीबारे छोटकरीमा केही लेख्ने प्रयास गरेको छु ।

हुन पनि विश्वमा हालसम्म मान्यता पाएका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल वा भनौं पर्वतहरु रहेका छन् । बाँकी ६ वटा हिमालले पनि निकट भविश्यमै ८ हजार मिटरभन्दा माथिको हिम पर्वत भनी मान्यता पाउँदैछन् । संयोगले ती ६ वटै नयाँ हिमाल वा भनौं पर्वतहरु नेपालमै रहेका छन् । हाल विश्वमा मान्यता प्राप्त भएका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये ८ वटा त नेपालमै छन् । ती ८ हजार मिटर माथिका हिमपर्वतहरु पर्वतारोहण पर्यटन र नेपालको पर्यटन उद्योगका लागि मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । जुन हिमपर्वतहरु हामी नेपालीहरुलाई प्राकृतिक रुपमै सित्तैमा प्राप्त भएको हो ।

जब कि विश्वका अधिकांश देशले आफ्नो देशमा विश्वभरका पर्यटकलाई आकर्षित गर्न अनेकखाले कृत्रिम सुन्दरता र पर्यटकीय आकर्षणका संरचनाहरु निर्माण गरेर आफ्नो देशमा पर्यटन व्यवसायलाई टेवा दिएका छन् । जे होस्, हाम्रो देश नेपाल पर्वतारोहण, पदयात्रा, जलयात्रा, क्यानोइङ, बन्जी जम्प, जिप फ्लाइङ, हट एयर बेलुनिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, वाल क्लाइम्बिङ, कायकिङ आदिका लागि उत्कृष्ट गन्तव्य हो । त्यसैले त हामीले विश्वका अधिकांश देशले जस्तो विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि कृत्रिम संरचना निर्माणमा खासै लगानी गर्नु परेको छैन । बरु हामीसँग भएका सयौं नयाँ अर्थात् ‘भर्जिन’ हिम पर्वतहरुलाई सक्दो छिटो खुला गर्दै र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले आकर्षक प्याकेज बनाएर पर्वतारोहण वा हिमाल आरोहणमा धेरैभन्दा धेरै विदेशी पर्वतारोहीहरुलाई आकर्षित गर्नका लागि छिटोभन्दा छिटो सरकारी स्तरमा कदम चालिहाल्नु पर्ने र प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ ।

हुन पनि नेपालमा हिमरेखाभन्दा माथि लगभग १७ सय वटा हिमपर्वतहरु रहेका छन् । तीमध्ये नेपाल सरकारले पटक-पटक गरेर ४ सय १३ वटा (५,५५० मिटर अग्लो छुकुङ-रीदेखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा लगायतका) हिमालहरु पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स-साना हिमाललाई ‘ट्रेकिङ पिक’को रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघ (एनएमए)लाई रेखदेख गर्ने, ती स-साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, शुल्क उठाउने लगायतको जिम्मेवारी सुम्पेको छ ।

उल्लेखित हिमपर्वतहरु पर्वतारोहीहरुले चढ्दा लाग्ने सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स-साना हिमालदेखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउनेलगायत अन्य प्रशासनिक झन्झटहरु हटाउनेतर्फ सोच्नैपर्ने देखिन्छ ।

त्यस्तै पर्वतारोहणका लागि खुला गरिएका बाँकी हिमालहरु भने नेपाल सरकारको मातहतमा छ । हुन त नेपालमा रहेका हिमालहरु नेपालका लागि मात्रै नभएर छिमेकी देशहरु भारत, बंगलादेशलगायत छिमेकी देशहरुका लागि स्वच्छ खानेपानी, सिचाई, बिजुली बत्ती, जल विहार आदिका लागि मुहान अर्थात् मुख्य स्रोतको रुपमा पनि रहेको छ । अझ पछिल्लो समयमा विश्वभरी नै आएको मौसम परिवर्तनको समस्यका कारण त्यही स्वच्छ खानेपानी, सिँचाई, बिजुली बत्ती, जल विहार आदिका लागि मुख्य स्रोतको रुपमा रहेको हिमालहरु पग्लेर हाम्रा लागि वरदान होइन कि अभिशाप र दुःखको स्रोत पनि बन्दै जाने दुःखद स्थिति पनि विद्यमान छ । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरु दोषी नभएर हामी मान्छेहरु नै दोषको मुख्य भागिदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरु मुख्य रुपमा दोषी छन् भन्ने त विभिन्न समयमा विभिन्न देशका अनुसन्धानकर्ता र विषय विज्ञहरुले अध्ययन गरेर निकालेको प्रतिवेदनहरुले नै बताउने गरेको छ ।

एकैछिन विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्लो हिमपर्वतहरुमध्ये नेपालमा रहेका ६ वटा ८ हजार मिटरभन्दा अग्लो हिम पर्वतहरुबारे छोटकरीमा चर्चा गरौं । विश्वकै अग्लो हिमपर्वत हो सगरमाथा । ८ हजार ८ सय ४८ मिटर अग्लो यो हिमपर्वत खासमा चीन-नेपाल सिमानामा रहेको छ । तर, पानीढलोको आधारमा यसलाई नेपालको मान्ने सहमति चीनसँग भएको थियो । त्यस्तै विश्वका १४ वटा ८ मिटरभन्दा माथिको हिमपर्वतमा सबैभन्दा कम उचाई अर्थात् ८ हजार १३ मिटर अग्लो सिसा-पाङमालाई चीनको मान्ने भनी सहमति भएको थियो । सो हिमपर्वत पनि लाङटाङ क्षेत्रमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको भित्री भागसम्म नै पुगेको छ ।

कञ्चनजंघा हिमपर्वतले त नेपाल, चीन र भारत (सिक्किम)लाई छुन्छ । त्यस्तै ल्होत्से, मकालु र चो ओयु हिमपर्वतले पनि चीनलाई छुन्छ । धौलागिरी र मनास्लु भने विशुद्ध रुपमा चारैतिर नेपाली भूमि छोएको हिमालहरु हुन् ।

विश्वका बाँकी ५ वटा ८ हजार मिटरभन्दा अग्लो हिमपर्वतहरु भने पाकिस्तान र चीनको सीमामा रहेका छन् । ती हुन्, ८ हजार ३४ मिटर अग्लो गासेर ब्रुम-२, ८ हजार ६ सय ११ मिटर अग्लो के-टु, ८ हजार १ सय २५ मिटर नांगा पर्वत, ८ हजार ६८ मिटर अग्लो गासेर ब्रुम-१, ८ हजार ५६ मिटर अग्लो ब्रोड पिक । माथि उल्लेखित हिमपर्वतहरु पर्वतारोहीहरुले चढ्दा लाग्ने सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स-साना हिमालदेखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउनेलगायत अन्य प्रशासनिक झन्झटहरु हटाउनेतर्फ सोच्नैपर्ने देखिन्छ ।

यसरी हेर्दा नेपालका हिमपर्वतहरु र पर्वतारोहण पर्यटन नेपाल सरकार, नेपालका पर्यटन व्यवसायी, पर्वतारोही टोलीसँग जाने सरदार, गाइड, आइसफल डाक्टर, क्लाइम्बिङ शेर्पा, कुक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया आदिका लागि कमाइको राम्रो स्रोत भएकोमा कसैको दुई मत नहोला !

हुन त पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूरपश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले विगत लामो समयदेखि निशुल्क र, केही हिमालहरु पचास प्रतिशतसम्म छुट दिएर हिम पर्वतारोहीहरुलाई प्रोत्साहित गरेको छ । तर, अचम्म के छ भने, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ ! भनी अनुमति लिनका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्वतारोहण शाखामा निवेदन हालेका छैनन् ।

तापनि यो वर्षको वसन्त ऋतुमा सगरमाथालगायत हिमालमा देखिएको पर्वतारोहीहरुको भीडले पनि नेपाली पर्यटनमा पर्वतारोहणको योगदान र त्यसको महत्व बढ्दै गएको देखाउँछ । यो वर्षको वसन्त याममा मात्रै सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, चो ओयु, अन्नपूर्णलगायत २७ वटा विभिन्न हिमपर्वत आरोहण गर्न गएका ९८ वटा पर्वतारोही टोलीका ८ सय २० जना सदस्यबाट सलामी दस्तुरवापत मात्रै लगभग ४९ करोड (४८ करोड ७३ लाख ८ हजार १ सय १२ रुपैयाँ) संकलन भयो । त्यसमध्मे सगरमाथा चढ्न गएका विभिन्न देशका ३ सय ५३ जना विदेशी र १३ जना नेपाली पर्वतारोहीबाट मात्रै ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपैयाँ संकलन भएको छ ।

त्यसबाहेक आरोहण टोलीसँग जाने सरदार, गाइड, आइसफल डाक्टर, क्लाइम्बिङ शेर्पा, कुक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया आदिले पाउने ज्याला र स्थानीय होटल व्यवसायीहरुले कमाउने रकमको हिसाब अलग्गै छँदैछ ।

यसरी हेर्दा नेपालका हिमपर्वतहरु र पर्वतारोहण पर्यटन नेपाल सरकार, नेपालका पर्यटन व्यवसायी, पर्वतारोही टोलीसँग जाने सरदार, गाइड, आइसफल डाक्टर, क्लाइम्बिङ शेर्पा, कुक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया आदिका लागि कमाइको राम्रो स्रोत भएकोमा कसैको दुई मत नहोला ! तर, माथि सुरुमै भनिएझैँ सन् २०१९ को अन्त्य हुँदा-नहुँदै चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारीका कारण नेपालमा मात्रै नभएर विश्वभरिकै पर्यटन उद्योग धरमरको अवस्थामा घस्रिरहेको छ । फलतः गएको सिजनमा हाम्रो हिमालहरु रित्तै भए । अझ वातावरणविद्हरुले भन्दै आएको हिमाल र पर्वतहरुलाई आराम दिनुपर्ने कुरो गत सिजनमा लागू भयो ! भन्न सकिन्छ । अझ केही वर्ष कोरोनाभाइरसको महामारीको असर कायमै रहेमा नेपालका हिमाल र पर्वतहरुले अरु बढी समय आराम गर्न पाउने देखिन्छ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु