गृहपृष्ठ कोरोना संक्रमणबाट बच्न फिजियोथेरापी
कोरोना संक्रमणबाट बच्न फिजियोथेरापी
आज सेप्टेम्बर ८ तारिक । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउँदै आइरहेका छन् । प्रत्येक वर्षझैँ यो वर्ष डब्लूसीपीटीले फिजियोथेरापी दिवस मनाउनका लागि ‘रिह्याबिटेसन आफ्टर कोभिड’ भन्ने थिम दिएको छ ।
फिजियोथेरापी भनेको एक उपचार पद्धति हो, जसले उचित शारीरिक क्षमता मूल्यांकन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्न मद्दत गर्छ । यसले विभिन्न रोगको रोकथामका साथै लागिसकेकालाई समस्याबाट बाहिर निस्कन सहज तुल्याउँछ । त्यस्तै विभिन्न रोगका कारण शारीरिक र मानसिक रुपमा कमजोर भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यक्तिलाई पुनःस्थापना गरी दैनिकी सहज र सक्षम बनाउन मद्दत गर्छ । तर, आज यो समयसम्म आइपुग्दा जनमानसमा फिजियोथेरापी उपचार पद्धतिका बारेमा त्यति राम्रो ज्ञान भएको पाइँदैन ।
सर्वसाधारणमात्र नभई कतिपय स्वास्थ्यकर्मीलाई पनि फिजियोथेरापीको बारेमा पूर्ण ज्ञान भएको पाइँदैन । फिजियोथेरापी ढाड, कम्मर, घुँडा दुखेका, मुख बाँगिएका, प्यारालाइसिस भएका व्यक्ति र छातीमा खकार जमेका व्यक्तिमात्र नभई हरेक व्यक्तिलाई आवश्यक पर्छ । बच्चादेखि वृद्धा, गर्भवतीदेखि बच्चा जन्माइसकेकी महिला, सामान्य शल्यक्रिया गर्नुअघिका बिरामीदेखि शल्यक्रियापश्चातका बिरामी, सामान्य उपचार गराइरहेका बिरामीदेखि आईसीयूमा भर्ना भएका बिरामी सबैलाई फिजियोथेरापी नितान्त आवश्यक छ । मात्र यति फरक छ, सबै समस्याका लागि एकै प्रकारको कसरत नभई प्रत्येक समस्याका लागि व्यक्तिको समस्या र शारीरिक क्षमता जाँच र मूल्यांकन गरी उपर्युक्त कसरत गराई उपचार गरिन्छ ।
आज विश्व विनासकारी कोभिड–१९ (कोरोनाभाइरस)को महामारीसँग सामना गरिरहेको छ । सन् २०१९ को डिसेम्बर ३१ मा चीनको बुहान सहरबाट सुरु भएको यो रोग विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ । लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौँ मानिस संक्रमित भएका छन् । संक्रमित संख्या दिनानुदिन बढ्दै गएको छ । यो रोग सरुवा प्रकृतिको भएकाले संक्रमित व्यक्तिबाट अरु सम्पर्कमा आएका व्यक्तिलाई सहजै सर्ने भएकाले रोग सर्न नदिनका लागि मास्कको प्रयोग गर्ने, साबुन पानीले राम्रोसँग मिचेर हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिइएको छ । साथै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राखेर कोभिड जाँच गर्ने र संक्रमित व्यक्तिको पहिचान गरी आइसोलेसनमा राखी उपचार गर्ने गरिएको छ ।
प्रत्येक देशले यो रोग फैलिन नदिन राष्ट्रिय स्तरमा लकडाउन गर्दै आएका छन् । कतिपय राष्ट्रहरु यही उपाय र विभिन्न पद्धतिको प्रयोगपछि दैनिक जीवनमा विभिन्न सावधानी अपनाई सामान्य दैनिक क्रियाकलापमा फर्कन सकेका छन् भने केही राष्ट्रहरु त्यही जमर्कोमा छन् त केही लकडाउनकै अवस्थामा छन् । यस महामारीका बेलामा प्रत्येक राष्ट्रले संक्रमण रोकथामका लागि औँल्याएको लकडाउन सराहनीय छ तर त्यही लकडाउनका कारण अन्य नसर्ने रोग (नन् कम्युनेबल डिजिज)को प्रकोप भने बढ्ने सम्भावना बढेर गएको छ ।
कोभिड–१९ को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापिस्टहरुले पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् ।
कोभिड–१९ को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापिस्टहरुले पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । कोभिड–१९ बाट संक्रमित छन् तर लक्षण नदेखिएका व्यक्तिको मनोबल बढाउन, शारीरिक स्फुर्ति बढाउन र रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न फिजियोथेरापीले सहयोग पुर्याइरहेको छ । अति सघन कक्ष (आईसीयू), भेन्टिलेटरमा उपचारार्थ व्यक्ति, जसको स्वासप्रस्वास प्रणालीमा समस्या छ, त्यस्ता व्यक्तिलाई कसरतको माध्ययमबाट भेन्टिलेटरबाट बाहिर निकाल्न र आईसीयूबाट सामान्य वार्डमा सार्न मद्दत फिजियोथेरापीले सहयोग गरिरहेको छ । हस्पिटलको लामो बसाइपछि शारीरिक कार्यक्षमतामा ह्रास आएका कारण दैनिक क्रियाकलाप गर्न गाह्रो भएका व्यक्तिलाई पनि फिजियोथेरापीकै माध्यमबाट पुनःस्थापन गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत पुगिरहेको छ ।
लकडाउनको समयमा मानिसहरु बाहिर नगई घरमै बस्ने भएकाले शारीरिक क्रियाकलापमा कमी आएको छ । दैनिक मजदुरी गरी रोजीरोटी जुटाउनेहरुको आयस्रोतको बाटो ठप्प भएको छ भने व्यापार व्यवसाय गर्ने व्यक्तिको व्यापार ठप्प भएको छ । फलतः मानिसमा मानसिक तनाव (डिप्रेसन) बढेको देखिन्छ । लकडाउनको समयमा मानिसको खानपानको तौरतरिका परिवर्तन भएको छ । मद्यपान र धुम्रपान पनि बढ्दो अवस्थामा छ ।
लकडाउनका कारण भइरहेका असामान्य रहनसहनले हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ । मुटु रोग आज विश्वमा एक मुख्य मृत्युदरको कारण बनिरहेको छ, जसमा मुटु र रगतका नलीहरुमा लाग्ने रोगहरु पर्छन् । हृदयाघात र मस्तिष्क पक्षघात, जसका मुख्य कारणहरु मधुमेह, उच्च रक्तचाप र अत्यधिक मोटोपना आदि हुन् । न्यून शारीरिक क्रियाकलाप, मद्यपान र धुम्रपानले मानिसमा यस्ता रोग बढाइरहेका छन् ।
यस अवस्थामा कोरोनाभाइरसको संक्रमण रोकथामका साथै लकडाउनका कारण थपिनसक्ने सम्भावित शारीरिक समस्या कम गर्न हामी सबै शारीरिक रुपमा क्रियाशील रहन अत्यावश्यक छ । व्यायामले हाम्रो शरीरमा राम्रो हर्मन उत्पादनमा मद्दत पुर्याउँछ, जसबाट आलश्य, थकान र दुर्बलतालाई कम गर्न टेवा पुग्छ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
व्यायामले तौल सन्तुलित राख्न पनि सहयोग गर्छ । त्यस्तै हामीले खाएको खानामा रहेको ग्लुकोजलाई प्रयोगमा ल्याई रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । जसका कारण हामीलाई हुनसक्ने मुटु रोगको क्षतिलाई न्यून हुन्छ । अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनका अनुसार १८ देखि ६९ वर्षसम्मका व्यक्तिले मोडरेट इन्टेन्सिटी एरोबिक १५० देखि ३०० मिनेटका दरले हप्तामा पाँच दिन गर्नुपर्छ । एरोबिकमा साइक्लिङ, जगिङ, वाकिङ, स्विमिङलगायत पर्छन् ।
स्ट्रेन्थेनिङ एक्सरसाइजहरु (सामान्य तौल प्रयोग गरेर गरिने कसरत) पनि हप्तामा दुईदेखि तीन दिन गर्नुपर्छ । मांसपेसी तन्काउने कसरत पाँचदेखि सात दिन गर्नुपर्छ । तर, लकडाउनका कारण हामी जिम, जुम्बा सेन्टर र अस्पतालमा फिजियोथेरापीसम्बन्धी परामर्श लिन जान नसकेको अवस्थामा घरमै कसरत गर्न सक्छौँ । एरोबिक एक्सरसाइजमा मार्चिङ अन प्लेस, सिट टु स्ट्यान्ड (मेचमा उठबस), डान्सिङ, स्ट्रेन्थेनिङ एक्सरसाइजहरुमा सामान्य पानीको बोतल प्रयोग गर्न सक्छौँ र साधारण मांसपेसी तन्काउने कसरत गर्न सक्छौँ ।
उल्लिखित शारीरिक व्यायामका साथै खानपिनमा पनि ध्यान दिनुपर्छ । व्यायाम गरौँ, स्वस्थ्य बनौँ, दैनिक क्रियाकलापमा आवश्यक सावधानी अपनाऔँ । मास्क लगाऔँ, सामाजिक दूरी कायम गरौँ, समयसमयमा हात धोऔँ, आवश्यक परेको खण्डमा घरबाहिर ननिस्कौँ । अवश्य नै हामी एकजुट भई कोभिड–१९ सँग लड्न सक्छौँ, अवश्य नै जित्न सक्छौँ ।
(लेखक सिक्किम मनिपाल युनिभरर्सिटी, कलेज अफ फिजियोथेरापीमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् ।)
प्रकाशित समय ०९:१९ बजे

















