गृहपृष्ठ उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड नियन्त्रण गर

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड नियन्त्रण गर

sampadakiya-newskarobar

भर्खरैमात्र नेपाल प्रहरी, महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले लामो समयको अनुसन्धान र निगरानी काठमाडौँको कलंकी र बाफलमा रहेको गोदाममा छापा मारी बाट स्निकर चकलेट, ओरियो बिस्कुट, आलुचिप्स, टेंगो जुस, हर्लिक्ससहित बालबालिकाले खाने बर्नभिटालगायत करिब ४ करोड रूपैयाँ मूल्य बराबरीको म्याद गुज्रिएका सामानहरू पुनः लेबलिङ गरेर बजारमा पठाइने धन्दाको खुलासा गरेको छ । करिब दुई दशकयता क्रमसः उदाएको व्यापारिक समूह विशाल ग्रुपसँगको सहकार्यमा भारतीय व्यापारी रोनक बोथ्राले यो मानव स्वास्थ्यमाथि प्रतिकूल हुने अपराधिक कार्यमा मुख्य भूमिका खेलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बोथ्राले आयान डिस्ट्रिब्युटर र अमेजन डिस्ट्रिब्युटर नामक वितरक कम्पनीका माध्यमबाट यी म्याद सकिएका चकलेट, बिस्कुट, धुलो दूध, बर्नभिटा, हर्लिक्स बजारमा पठाउने गरेका प्रहरीले बताएको छ, जसमध्ये अमेजन डिस्ट्रिब्युटर सीधै विशाल ग्रुपसँग सम्बन्धित छ । यसअघि पनि पटक–पटक उपभोक्ताहरूले विभिन्न सुपरमार्केटहरूबाट किनेका उपभोग्य वस्तुहरुमा वास्तविक अधिकतम मूल्य (एमआरपी) नदेखिने गरी स्टिकर टाँसिएको, एमआरपी केरमेट भएको गुनासो गर्ने गरेका छन् । एमआरपी लेखिने स्थानमा केबल अधिकतम मूल्यमात्र हुँदैन, त्यसमा उत्पादनको मिति, ब्याच नं र उपभोग गरिसक्नु पर्ने मिति खुलाइएको हुन्छ । हामी उपभोक्ताहरूमध्ये अधिकांशले त्यस्तो विवरण नै हेर्ने गरेका हुँदैनौं । उपभोग मिति सकिएका यस्ता प्याकेट बन्द चकलेट, बिस्कुट, दूधलगायत वस्तु उपभोग गर्दा त्यसले स्वास्थ्यमाथि गम्भीर प्रतिकूल असर पर्न सक्छ ।

यसरी एकै ठाउँबाट नक्कली लेबलिङ गरिएका, नयाँ स्टिकर टाँसेर बजारमा पठाउने तयार गरिएका ठूलो अनुपातका वस्तु पहिलो पटक बरामद गरिएको हो तर विडम्बनाको कुरा नै मान्नुपर्छ, यस्तो उपभोक्ता हितविपरीत र मानव स्वास्थ्य विरुद्धको अपराधमा संलग्न भएका व्यक्तिहरूलाई शुक्रबार पक्राउ गरिएकोमा वाणिज्य विभागले रातारात साधारण धरौटीमा छोडेको समाचार सार्वजनिक भएको छ । यसले गर्दा विशाल ग्रुपले ती भारतीय कथित वितरकसँग यदि केही गरी कानुनी समस्या आइपरेमा आफूले बेहोर्ने भनेर विशाल ग्रुपले लिखित सम्झौता गरेको जुन विवरण सार्वजनिक भएको थियो, त्यसलाई पुष्टि गरेको छ । ज्ञातव्य छ, हालैमात्र संवैधानिक कारणले पदबाट बहिर्गमित तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विशाल ग्रुपसँगको मिलेमतोका कारण चकलेटको भन्सार दर घटाएको समाचार बजेट सार्वजनिक भएलगत्तै बारम्बार विभिन्न मिडियाहरूले सार्वजनिक गरेका थिए । विशाल ग्रुपसँग सम्भवतः सत्ताधारीहरूको यही मिलेमतोको प्रतिफल हुनुपर्छ, सोही ग्रुपकी प्रतिनिधि भनिएकी पुष्पादेवी अग्रवाल रुन थालेपछि आफूले छोडेको भन्ने वाणिज्य विभागका महानिर्देशकको भनाइ सार्वजनिक भएको छ ।

म्याद सकिएका उपभोग्य वस्तुहरूको बजारमा पठाउनु अझ त्यसमाथि पनि बालबालिकाहरुले नियमित सेवन गर्ने दूध, बिस्कुट चकलेटजस्ता वस्तुहरुमा यस्तो खेलबाड भइरहँदा राज्यको जिम्मेवार निकायले बिनाकुनै कारबाही सामान्य धरौटीका भरमा छाडिदिनु अक्षम्य अपराध नै हो । त्यस्ता गतिविधिले हजारौं बालबालिकाहरूको स्वास्थ्यमाथि प्रत्यक्ष खेलवाड भइरहेको देखिन्छ । नेपालमा अहिले एकै अनुपात यस्तो अवैध धन्दा गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको भए पनि विगत लामो समयदेखि नै भारतबाट म्याद सकिएका वस्तुहरु नेपालमा आयात गरी नक्कली लेबलिङ गरेर बजारमा पठाउने गरेको र त्यस्तो म्याद सकिएका वस्तुहरू यदि मुख्य बजार क्षेत्रमा बिक्री वितरणका लागि पठाउन नसकिएको अवस्थामा राजमार्ग र ग्रामीण क्षेत्रका बजारहश्मार सस्तो दाममा पठाउने गरेको व्यावसायिक क्षेत्रका जानकारहरू बताउँछन् । यो आपराधिक कार्यको खेलो-फड्कोमा जो जो व्यवसायीहरू लामो समयदेखि संलग्न छन्, तिनीहरूलाई पक्राउ गरेर बिनाकुनै मिलेमतो वा संरक्षण मुलुकी ऐनका विद्यमान व्यवस्थाहरूअनुसार कडाभन्दा कडा कानुनी कारबाही नगर्ने हो भने यस्तो संगठित अपराधमा संलग्नहरूको मनोबल सधै बढ्दै जानेछ ।

नेपालमा पछिल्लो समयमा संशोधन गरिएको उपभोक्ता अधिकार ऐनको प्रभावकारी कार्यान्वयन नभएको हो कि भन्ने महसुस भएको छ । यो ऐनअनुसार उपभोक्ता अधिकार स्थापनाका लागि गठन हुनुपर्ने उपभोक्ता अदालत निर्माणमा समय राज्यको चासोविहीनताकै कारण यस्ता उपभोक्ताको स्वास्थ्य हित विपरीतका र ठगी गर्नेहरूको मनोबल बढ्दै गएको देखिन्छ, जबसम्म उपभोक्ता स्वास्थ्य हितविपरीत, उपभोक्ताको अधिकार विपरीतका गुणस्तरहीन वस्तु बेच्ने, बढी मूल्य लिएर ठगी गर्ने, तौलमा ठगी गर्नेहरुरू र अन्य यस्तै किसिमका अपराधमा संलग्न हुनेहरूलाई फौजदारी अभियोगसरह कानुनी कारबाही हुँदैन तबसम्म यस्ता अपराध गर्नेहरू राज्यकै मिलोमतोमा छुट्ने, निर्धक्क छाती बनाएर हिँडिरहने अवस्था आउँछ । राज्यको मिलेमतोमा उहाँ रुनु भयो उहाँले आँशु खसाउनु भयो भनेर राज्यले उपभोक्ता हित विपरीतको कार्य गर्नेलाई छोड्दै जाने हो भने उपभोक्ताले न्याय कसरी अपेक्षा गर्नु?

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु