गृहपृष्ठ सेयर बजारमा कसरी हुन्छ अनियमितता ? बच्न के गर्ने ?

सेयर बजारमा कसरी हुन्छ अनियमितता ? बच्न के गर्ने ?

सेयर बजार धेरै बढ्दा होस् या धेरै घट्दा, लगानीकर्ताका बीचमा अनेक हल्ला र त्रास फैलिन थाल्छन् । ब्रोकर कार्यालयदेखि चिया पसलसम्म ‘सेयर बजारमा केही न केही गडबढी भइरहेको छ’, ‘ठूला लगानीकर्ताबाट चलखेल भइरहेको छ’, ‘केही लगानीकर्ता ब्रोकरसँग मिलेका छन्’, ‘सेयर बजार पारदर्शी नै छैन’, ‘सेयर मूल्य घटाउने र बढाउने काम भइरहेको छन्’, ‘मनपरी हुन्छ, टाठाबाठाले कमाउँछन्, सोझासाझा फँस्छन्’ लगायतका अनेकौँ टिप्पणी र आक्रोश व्यक्त हुन्छन् ।

अधिकांशलाई यी कुरा भन्नमात्र आउँछ, कसरी यस्तो भइरहेको थाहा हुँदैन । सेयर बजारका अनियमितताबाट कसरी बच्ने भन्ने पनि थाहा हुँदैन ।

सेयर बजारमा विभिन्न तरिकाबाट अनियमितता हुन्छ । यस्ता अनियमितताबाट कुनै निश्चित समूह या व्यक्ति लाभान्वित हुन्छन् भने आम लगानीकर्ता प्रभावित हुन्छन् । आम लगानीकर्ताको उद्देश्य स्वच्छ र पारदर्शी सेयर बजार भइदेओस् भन्ने हुन्छ । विश्वका धेरै देशका सेयर बजार स्वच्छ नै हुन्छन्, पारदर्शी नै हुन्छन्, जहाँ नियामक निकाय नै सचेत हुन्छ, नियामक निकायबाट अनियमितताका लागि प्रश्रय मिल्दैन ।

नेपालमा पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेका सञ्चालक समितिदेखि व्यवस्थापनतर्फका सबै कर्मचारीबाट कुनै न कुनै किसिमले अनियमिततामा सहयोग भइरहेको पाइन्छ । फलतः नेपालको पुँजीबजार सहज र विश्वसनीय ढंगले अघि बढ्न सकेको छैन । बलिया कानुन र चुस्त कारबाही संयन्त्र निर्माण हुन सकेको छैन ।

कसरी हुन्छ अनियमितता ?

पुलिङ

लगानीकर्ताले समूह बनाएर सेयरको मूल्य परिवर्तन गर्ने र फाइदा लिने कामलाई पुलिङ भनिन्छ । अथवा, दोस्रो बजारमा आफूले लाभ लिन चाहेको कम्पनीको सेयर धेरै कारोबार भएको देखाएर अन्य लगानीकर्तालाई अकर्षित गरी माग बढाउन, मूल्यवृद्धि गर्न र नाफा कमाउन पुलिङ गरिन्छ । यसमा लगानीकर्ताहरूले समूह बनाउँछन् र आफू­‑आफूबीच किनबेच गर्छन् । पुलिङ गर्ने समूहका सदस्यहरूमध्ये केहीले पुँजी उपलब्ध गराउँछन्, केहीले कम्पनीको आन्तरिक सूचना संकलन गर्छन् र केहीले त्यसको मध्यस्थता गर्छन् । मूल्य बढ्दै र ठूलो कारोबार हुँदै जाँदा मूल्य अझै बढ्न आसामा अन्य लगानीकर्ताले पनि सो कम्पनीको सेयर किन्न थाल्छन् । पुलिङ गरिरहेको समूह भने मूल्य उचालिएका बेला सेयर बेचेर कम्पनीबाट बाहिरिन्छन् ।

भण्डारीकरण

भण्डारीकरणलाई कर्नरिङ या वेरहाउजिङ पनि भनिन्छ । भण्डारीकरणमा संलग्न समूह या व्यक्तिहरू मिलेर दोस्रो बजारबाट आफूले चाहेको कुनै पनि कम्पनीको  अधिकभन्दा अधिक सेयर किन्छन्, जसका कारण एउटा समूह वा व्यक्तिमा सेयरको माग या अपूर्ति अन्तरनिहित हुन्छ । बजारमा सेयर अभाव हुन्छ । त्यसपछि भण्डारीकरणका सदस्यहरूले सानो‑सानो संख्यामा सेयरको आपूर्ति गराउँछन् । मागभन्दा निकै कममात्र सेयर आपूर्ति भएसँगै मूल्य बढ्न थाल्छ । मूल्य बढेर माथि पुगेपछि भण्डारीकरणमा संलग्न व्यक्ति वा समूह सेयर बिक्री गर्छ र बजारबाट बाहिरिन्छ ।

योजनाबद्ध हल्ला

सेयर बजारमा सक्रिय कुनै गिरोहले योजनाबद्ध ढंगले हल्ला फिँजाउने गर्छन् । यसमा आबद्ध भएकाहरूले कुनै कम्पनीका विषयमा अनावश्यक हल्ला चलाउँछन् र सेयर मूल्य प्रभावित गराउँछन् । आम लगानीकर्तालाई आफूले चाहेको कम्पनीमा आकर्षित गर्ने उद्देश्यसहित हल्ला चलाइएको हुन्छ । हल्ला कुनै पनि कम्पनीको सेयर किनाउन या त बेचाउनका लागि चलाइन्छ । डरका कारण आम लगानीकर्ता सस्तोमै भएपछि सेयर बेचेर बाहिरिन्छन् । यही मौकाको फाइदा उठाएर सेयरको मूल्य उचालिन्छ र फाइदा लिइन्छ ।

र्‍याम्पिङ

र्‍याम्पिङको चपेटामा पनि धेरै लगानीकर्ता परेका हुन्छन् । यसका लागि कुनै समूहले कारोबारको अन्तिम समयतिर विभिन्न शैली अपनाएर सेयरको मूल्य छिटोछिटो बढेको देखाउने र लगानीकर्तालाई त्यस कम्पनीमा आकर्षित गर्ने लक्ष्य लिन्छ । छिटो मूल्य बढ्नुले सेयरको माग बढी भएको बुझाउँछ । बजारको सामान्य हिसाबकिताब बुझ्ने लगानीकर्ता यसबाट प्रभावित हुन्छन् । र्‍याम्पिङ गर्नेले सोही समयमा लाभ उठाइसक्छ ।

वाससेल

वाससेल सेयर बजारको अर्को ठूलो अनियमितता हो । यसमा वाससेलरले आफूसँग भएको सेयर परिवार वा नातेदारको नाममा बेच्ने गर्छ । यसको मूल उद्देश्य कम मूल्यमा आफ्नो सेयर आफैँ बिक्री गर्नु, मूल्य घटाउनु र सस्तो मूल्यमा सेयर खरिद गर्नु हो । वाससेलरले कारोबार बढी देखाउन एकैदिनमा एकै कम्पनीको सेयर एकै मूल्यमा वा फरक फरक मूल्यमा पनि बिक्री गरिरहेको हुन्छ । कारोबार बढी देखाउनुको उद्देश्य आम लगानीकर्तालाई अन्योलमा पार्नु हो । नेपालको सेयर बजारमा पनि वाससेलर धेरै भएको अनुमान गरिन्छ ।

म्याचिङ

२०६३ सालदेखि नै प्रतिबन्ध लगाइए पनि नेपालको सेयर बजारमा हुने अर्को ठूलो अनियमितता हो म्याचिङ । म्याचिङका बारेमा धेरै लगानीकर्ता जानकार हुन्छन् । स्पष्ट अर्थ नजाने पनि यस शब्दको प्रयोग धेरैले गरिरहेका हुन्छन् । एउटै ब्रोकर कार्यालयलाई बिक्री र खरिद आदेश दिनु या दुईवटा ब्रोकर कार्यालयमा एउटै उद्देश्य भएका व्यक्ति बस्नु र खरिद बिक्री गर्नुलाई म्याचिङ भनिन्छ । मूल्य घटाएर किन्न या मूल्य बढाएर बेच्न म्याचिङ गरिन्छ । यसमा समूह या व्यक्तिलाई कसरी फाइदा हुन्छ, त्यसरी नै किनबेच गराइन्छ ।

इन्साइर ट्रेडिङ

इन्साइडर ट्रेडिङ पनि सेयर बजारको डरलाग्दो अनियमितता हो । यसमा कम्पनीका अति गोप्य सूचना लिने र कारोबार गर्ने गरिन्छ । अति गोप्य सूचनाका लागि कम्पनीका कर्मचारी, सञ्चालक वा मुख्य ओहदामा बसेका व्यक्तिसँग साँठगाँठ गरिएको हुन्छ । यसमा कुनै कम्पनीले ठूलो प्रतिशतमा लाभांश बाँड्दै छ भने पहिल्यै त्यसको सूचना इन्साइडर ट्रेडिङ टिमलाई उपलब्ध गराउँछ । टिमले ठूलो संख्यामा सेयर खरिद गर्छ र लाभांशको सार्वजनिक सूचना जारी भएपछि हुने मूल्यवृद्धिबाट लाभ लिन्छ ।

कानुनी व्यवस्था

यी सबै अनियमितता सेयर बजारका अपराध हुन् । यस्ता आपराधिक गतिविधिलाई नियमन गर्ने संयन्त्र छ, कानुन छन् । नियमनकारी निकायले कानुन पालनामा कडाइ गर्न नसक्दा सेयर बजारका आपराधिक गतिविधि निरुत्साहन हुन सकेका छैनन् ।

धितोपत्र ऐन २०६३ को दफा १०१ ले सेयर बजारमा हुने अनियमिततालाई नियन्त्रण गर्न दण्ड सजायको व्यवस्था गरेको छ । भित्री कारोबार गरेको ठहर भएमा बिगोबमोजिमको जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । झुटो कारोबार गरे या कृत्रिम रूपमा मूल्य उतारचढाव गराए ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । झुक्याउने विवरण दिए, जालसाजी गरी कारोबार गराइ वा लिखित विवरण वा अभिलेख नष्ट गरे १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । तर, अहिलेसम्म सेयर बजारका अनियमिततामाथि निगरानी राखेर कारबाही गरिएको एउटै उदाहरण छैन ।

कसरी बच्ने ?

सेयर बजार अत्यन्तै जोखिमको बजार हो । यो बजारमा प्रवेश गर्ने सबैको एउटै उद्देश्य हो कमाउनु । तर, कमाएर भविष्य सुनिश्चत गर्ने जति हुन्छन्, टाट पल्टिएर सडकमा पुग्नेहरूको पनि कमी हुँदैन । मूलतः अरुको लहलहैमा लागेर बजारमा प्रवेश गर्ने, आफूले बुझेर कारोबार गर्नेभन्दा पनि अरुका कुरा सुन्ने, अरुको निर्णयमा चल्ने, कम्पनीको वित्तीय विवरण नहेर्ने या हेर्न नजान्ने, बढेका बेला बजार छिर्ने र घटेका बेला भाग्नेहरू तथा छोटो समयमै धेरै कमाउँछु भन्ने सोचेर सेयर बजारमा छिर्नेहरू डुब्ने गर्छन् ।

सेयर बजारबाट कमाउन पहिला केही सिक्नैपर्छ । लगानीकर्ताले पुँजीबजार भनेको कस्तो बजार हो ? कम्पनीहरूले किन सेयर जारी गर्छन् ? सेयर मूल्य कसरी घटबढ हुन्छ ? कम्पनीको मूल्यमा आउने उतारचढाव र नेप्से परिसूचकमा आउने उतारचढावबीच के फरक छ ? लगानीकर्ताले कम्पनी हेर्ने कि नेप्से परिसूचक हेर्ने ? सेयर बजारमा दैनिक कति समय दिन सकिन्छ ? सस्ता कम्पनी किन्ने कि महँगा किन्ने ? जस्ता प्रश्नहरूको उत्तर जान्न जरुरी छ ।

सेयर बजारमा इन्भेस्टमेन्ट गर्ने कि ट्रेडिङ गर्ने ? आफ्नो आयस्रोत कस्तो छ ? अरु कुनै व्यापार, व्यवसाय या जागिर छ कि फुलटाइम सेयर बजारमा दिने हो ? कति प्रतिशत नाफा लिएपछि बेच्ने ? कस्ता‑कस्ता कम्पनीको कसरी पोर्टफोलियो बनाउने ? कति लामो समय होल्ड गर्न सकिन्छ ? नगद चाहिन्छ कि बोनस ? यी सबै प्रश्नको उत्तर हरेक लगानीकर्ताबाट फरक‑फरक आउन सक्छ ।

सेयर बजारमा परिसूचकको उतारचढावसँगै मच्चिन खोज्ने कारोबारीले भन्दा दीर्घकालीन लगानीकर्ताले निकै बढी कमाउँछन्, तथ्यांकले यही भन्छ ।

अवस्था जे‑जस्तो भएपछि सबै लगानीकर्ताले कम्पनी छनोटमा ध्यान दिनुपर्ने कुरा भने समान हुन्छन् । सेयर बजारमा रहेका कम्पनीमध्ये वित्तीय विवरणका आधारमा सबै उपसमूहबाट उत्कृष्ट चार‑पाँच कम्पनी छान्नुपर्छ । ती कम्पनीले हरेक वर्ष नगद या बोनस के बाँडेका छन्, त्यसमा ध्यान दिनुपर्छ । खुद नाफा र लाभांश दर हरेक वर्ष बढ्दै छ कि घट्दै छ हेर्नुपर्छ । कम्पनीको सञ्चालक समिति र व्यवस्थापनका माथिल्लो तहमा कार्यरत व्यक्तिहरूको प्रोफाइल बुझ्नुपर्छ । जगेडा कोष कति बलियो छ, खराब कर्जाको स्थिति के छ ? वित्तीय संस्थाको हकमा कस्तो‑कस्तो ठाउँमा कर्जा प्रवाह भएको छ ? जस्ता तथ्य सेयर बजारमा सुरक्षित रहन चाहने लगानीकर्ताका लागि निकै महत्वपूर्ण हुन्छन् ।

अन्त्यमा, सेयरबजारबाट पैसा बनाउन चाहनेले कम्तीमा ७० देखि ८० प्रतिशत कम्पनी र कुल रकमको ७० देखि ८० प्रतिशत होल्ड गर्ने योजना बनाउनुपर्छ । उदाहरणका लागि १० वटा कम्पनीको सेयर किनिँदै छ भने कम्तीमा सातवटा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरिनुपर्छ । त्यस्तै एक करोड रुपैयाँको सेयर किन्ने योजना बनाउँदा कम्तीमा ७० प्रतिशत अर्थात् ७० लाख रकमबराबरको सेयर होल्ड गर्न सक्नुपर्छ । सेयर बजारमा परिसूचकको उतारचढावसँगै मच्चिन खोज्ने कारोबारीले भन्दा दीर्घकालीन लगानीकर्ताले निकै बढी कमाउँछन्, तथ्यांकले यही भन्छ ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु