गृहपृष्ठ नेपालको कृषि विकासका अन्तरंग

नेपालको कृषि विकासका अन्तरंग

नेपालमा अबको विकल्प कृषि विकास हो भनियो । कृषिले धेरै नै चर्चा पायो र कृषिसँग सम्बन्धित आलेखहरु पनि पर्याप्त बजारमा आए । विकसितदेखि अविकसित देशका उदाहरण र सफल अभ्याससहितका धेरै विचार पढ्न पाइयो । अनि मनमा लाग्यो कि के साँच्चै नेपालमा अब कृषिको विकल्प छैन त ! स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसम्मले कृषिलाई उच्च प्राथमिकतामा राखे । सबैको प्राथमिकता पहिलो स्वास्थ्य, अनि त कृषि नै हो । त्यसमा पनि कृषि प्रधान देश, अनि विचार गर्दा कृषि कर्म गरेर धेरै आम्दानी गर्ने पनि यही देशमा छन् । पुस्तौँदेखि कृषि कर्म गरेर धनी हुन नसकेका पनि यहीँ छन् । नेपालको कृषि मनोविज्ञान, कृषि सँस्कृति, परम्परा, खेती प्रणालीलगायतका विषयमा धेरै विचारविमर्श भई सरकारले कृषि विकास भनेर यो गतिलाई सुधार गर्न पहिले कृषक विकास अनि कृषि भन्ने निष्कर्षका साथ काम अगाडि बढाएर ल्याएको छ ।

किसान कर्ममा लागेकाहरुले सोच्न बाध्य हुनु प-यो । वर्षौंदेखि थलिएको कृषि, ६० प्रतिशत जनसंख्या कृषिमा लागेको, पेसा के हो ? भन्दा अधिकांशले कृषि भन्ने गरेको । नेपालमा किसानचाहिँ कौशी खेती, करेसाबारी खेती, साना किसान र नगन्य ठूलो परिणाममा खेती गर्ने छन् । सबैले अबको विकल्प कृषि भनिरहँदा, केही स्थानमा बुझियो, २५ वर्षअगाडि ९०० मुरी धान थन्क्याएका किसानले तीन वर्षदेखि धान, मकै, गहुँ केही पनि खेती गर्दा रहेनछन् ।

थाक्ले बेँसीबाट मध्यपहाडी सडक कुदेको छ, जहाँ ५० प्रतिशत खेती हुन छाडिसक्यो । फेरि अर्को हेरियो, अति रमणीय देखिने इलामको हरियो चिया बगानका किसानको मन बर्सेनि अमिलो भएको छ । उखु किसानको रुवाबासी सधैँ देख्नुपर्छ । दूध उत्पादकको मन कहिल्यै खुसी छैन । ३५ मन अलैँची फलाउने किसान टाउकोमा हात राखेर बसेका छन् । तरकारी उत्पादकसँग पनि पीडामात्र छन् । कुखुरापालकको भनिसाध्यै छैन । तराईमा बसाइँ आएकाहरु पहाड छाड्नुको पीडा जनावरले खेती गर्न नदिएर भन्छन् । कर्णाली प्रदेशका विकट क्षेत्रमा पुस्तौँदेखि मकै र गहुं रोपेर खानेको उस्तै पीडा छ । अनि सुदूरपश्चिमको रामारोशनमा खान पाइने भारतीय तरकारी । यही हो, नेपालको कृषि विकासका विविध आयाम ।

नेपालको परिवर्तित सँस्कृति र कृषि

कुनै जमानामा खाद्यवस्तु उत्पादन तथा निर्यात गरेर इतिहास रचेको नेपाल अहिले वार्षिक झन्डै ४ खर्बको कृषि वस्तु आयात गर्दै छ । यो परिदृश्य कसरी आयो ? चिन्ताको विषय कि खुसीको विषय ? पक्कै पनि सरकारको लागि चिन्ता होला तर खान पाएका जनताका लागि खुसी पनि होला । २० वर्ष अगाडि दसैँमा मात्र चालमको भात खाने जनता अहिले वर्षैभरि चामल खानसक्ने भएका छन् । केही दशकअघि ९०० मुरी धान थन्क्याउने किसान अहिले चामल किन्छन् । बढेर गएको सहरी बस्ती र सेवा सुविधा, सुखि र ‘इज्जतिलो’ जीवन बनाउनका लागि सहरी क्षेत्रमा भीड बढेर गएको छ र मानव विकासको स्वाभाविक पक्ष पनि हो । यो परिदृश्यमा कृषि कर्म गरेर गाउमै जीवनयापन गरी, बचेको बेचविखन गर्ने र खर्च चलाउने पुरानो परम्परा । विप्रेषण, रोजगारी, व्यापार जे बाट रकम आए पनि पहिलो खानपान र मूल्य लगानीको क्षेत्र भनेको जग्गा । ठूला घरानियाँदेखि सानो रोजगारी भएकाले लगानी गर्ने क्षेत्र जग्गा भएको छ नेपालमा । जुन सुरक्षित र वर्षमा दोब्बरभन्दा बढी आम्दानी अपेक्षा, सबैले चाहने सजिलो आम्दानी नै हो । जे जसरी हुन्छ, बैंकको ऋण गरेर, सापटी गरेर जे गरेर पनि लगानी सुनिश्चत स्थान भयो जग्गा । यसरी हुने आम्दानीले कृषिको आम्दानी कहिल्यै तुलना हुन सक्दैन र मनोकांक्षा पूरा गर्नका लगि विकल्पको खोजी हुन्छ ।

यसरी हुने आम्दानीले कृषिको आम्दानी कहिल्यै तुलना हुन सक्दैन र मनोकांक्षा पूरा गर्नका लगि विकल्पको खोजी हुन्छ ।

नेपालको गाउँले किसानी काम वर्षको ३६५ दिन नै खटाइ, कृषिउपज उत्पादनका लागि चाहिने वस्तु, उत्पादन गर्न लाग्ने वस्तु तथा अन्तरनिहित समस्या, उत्पादनको क्रमका बाह्य समस्या (प्राकृतिक विपत्ति, जंगली जनावर) र उत्पादनपछि नाफा हुने अवस्थाका कारुणिक पक्षले किसान दुःखैदुःखको भूमरीमा छन् ।

कृषिका केही परिदृश्य

नेपालमा कृषि जमिन वनको भन्दा आधा अर्थात् २६ लाख हेक्टर खेतीयोग्ज जमिनमध्ये १४ लाख हेक्टरमा सिँचाइ सुविधा छ । कृषिको श्रमशक्ति ६० प्रतिशत तथा खाद्यान्न बालीको उत्पादकत्व ३.२ टन छ । गत वर्ष कृषि क्षेत्रमा प्रवाह भएको ऋण झन्डै २  खर्बमा ऋण सुविधा झन्डै १ लाख २५ हजारले वार्षिक रुपमा पाउने गरेका छन् । निर्याततर्फ मसला बाली (अलैँची र अदुवा) करिब ७ अर्बको भएको थियो । अरु अर्थोडक्स चिया, कफी, खाद्यान्न गरी करिव ४ अर्वको निर्यात भएको छ । गत वर्षको तथ्यांक अनुसार झण्डै ४ खर्बको कृषिवस्तु आयात गरिएको छ, जसअनुसार खाद्यन्न, माछामासु, तरकारीलगायतका वस्तु छन् ।

नेपालमा जागिरे संस्कार र कृषि

नेपालमा मुगल संस्कृतिदेखि चलेको जागिरे चलन, अनि जागिर खाने मानिसलाई सर्वश्रेष्ठ मान्ने प्रवृत्ति र परम्परा, लाहुरे जीवन समाजमा पाइने इज्जत इनाम । विगतदेखि हेर्दा सेनामा भारत, सिंगापुर त्यस्तै रोजगारीको खोजीमा दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, भारतका अन्य सहर आदि पहिलेदेखि नै रहँदै आएको देखिन्छ । रोजगारीमा भएको रस र सुनिश्चितता, दुई दशकयता अत्यधिक बढेर गयो । हाल ६० लाखभन्दा बढी देशमा रोजगारीका लागि नेपाली पुगेका छन् । तीमध्ये ५३ प्रतिशतजति कृषि मजदुरको रुपमा छन् । आकर्षक रोजगारीका लागि विकसित देश जान पाउने र जानेको भीड र बसाइँ सरेरै विकसित देश जानेको लर्को । यो भनेको समाजको अवस्था र सोचाइले के निर्देषित गरेको छ ? चलिआएको रीतअनुसार व्युत्पन्न सामाजिक-आर्थिक मनोसंस्कृतिले के निर्देशित गरेको छ ? नेपालमा भाग्यवादी विकास सोचाइ र नेपाली जनताको मनोवैज्ञानिक असर के छ ? यी सबै तथ्यलाई बाहिर ल्याएर हेर्दा अब यही अवधिबाट कृषि विकासको जग बस्छ त ! समाजमा स्थापना भएको मनोवैज्ञानिक प्रभावलाई कृषि कर्मले मलजल गर्न सक्छ ? अत्यन्तै भद्दा र आश्चार्यलाग्दो समाजको विकासले कृषि संस्कृतिलाई कसरी सम्हाल्ला ? यी प्रश्न अहिले जटिल बन्दै गएका छन् ।

नेपालमा कृषि विकास कि किसान विकास ?

नेपाल विश्व कृषिको विकास र परिकल्पनाबाट बाहिर आउन सक्दैन । सरकारले जनताको कृषि विकास किन भएन भनेर अन्तरनिहित समस्यालाई केलाएर कार्यक्रम ल्याउँछ, तर कहिले पनि ती पिरोलिएको मनमा मलमपट्टी गर्न सक्दैन । केही अघिदेखि कृषि विकास भनेर व्यावसायिक विकासका अवधारणा आए, त्यसले एक छल्को मा‑यो । पहिलेको रुपमा केही परिवर्तन भयो तर नतिजा गलत आयो भनेर धेरै असन्तुष्टि आएपछि पनि किसान विकास गर्ने निष्कर्ष निकालिएको छ ।

सरसर्ती यो पनि कुरा राम्रो हो र गर्नुपर्ने त्यही हो । किसानको विकास भयो भने स्वतः कृषि विकास हुन्छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने सरकारले किसानलाई स्वरोजगार बनाउने कुरा गरेको छ तर किसानलाई सोधेको छैन- रोजगार कि स्वरोजगार ? तहगत विभाजन गरेर हेर्ने हो भने ८० प्रतिशतले दिगो रोजगारीका लागि हात उठाउँछन् किनभने नेपालको सामाजिक-आर्थिक परिदृश्य के छ ? दिगो आम्दानीको स्रोत हुनुपर्छ । बहुआयामिक, भौगोलिक, बहुसाँस्कृतिक र जागिरे संस्कृति भएको मानसपटललाई उपचार गर्नका लगि लक्षणमा उपचार गर्ने कि कारणमा ? अझै पनि ६० प्रतिशत जनतालाई किसान नै बनाएर कहिलेसम्म गरिब किसान पाल्ने ? यो कुरा सरकारले निष्कर्ष निकाल्नुपर्ने हुन्छ । कृषिको विकास गर्नका लागि अरु पूर्वाधार विकास, बजार विकास, यान्त्रिक विकास, आर्थिक सामाजिक विकास, सुशासन र पारदर्शिताको विकास नभई कृषि विकास सम्भव हुन्छ र ! सबैखाले विकास सँगसँगै भएन भने कृषि विकास हुने सम्भावना कसरी ? अब कृषिमात्र एकमात्र विकल्प भनिरहँदा अर्को वर्षका लागि काम बाँकी धेरै रहन सक्छन् ।

नेपालमा कृषि विकास हुँदैन त !

दुनियाँमा भएको विकास नेपालमा चाहिँ नहुने भन्ने कुनै कल्पना गर्न मिल्दैन । नेपालको भूराजनीतिक विभाजनलाई मेट्नुपर्ने हुन्छ । भूमिले उब्जाउ दिने, प्रतिस्पर्धी उत्पादन पर्याप्त छन् । जे–जहाँ गरिन्छ, पर्याप्त उत्पादन, प्रविधि, प्राविधिक सेवासहितको उत्पादनमा जानुपर्छ । पहाडी क्षेत्रमा पर्याप्त खर्क छन्, लाखौँ संख्यामा भेडीगोठ सञ्चालन हुनसक्छ, दूधको पर्याप्त उत्पादन हुने सम्भावना छ, फलफूल तथा पहाडी ताजा तरकारी पर्याप्त उत्पादन हुनसक्छ, मसला तथा नगदेबालीका पर्याप्त सम्भावना छन्, समथल क्षेत्रमा खाद्य सुरक्षाका उत्पादन र तरकारी, दलहन तथा फलफूल उत्पादन हुने क्षेत्र छ । तर, योजनाबद्ध काम, निजी क्षेत्रको संलग्नता, सुशासन, मूल्य शृंखलामा विकास, बजार विकास अवधारणा तथा व्यवसाय विकास सेवा, कृषिमा आधारित उद्यमशीलताको विकास हुनुपर्छ । किसानलाई सधैँ किसानभन्दा उद्यमी किसान बनाउनुपर्छ । कृषि उद्यम बैंक स्थापना र कृषि बजार पूर्वाधार विकास, एक नेपाल एक कृषि बजार तथा अनलाइन कृषि बजारको विकास, कृषि वस्तुको उत्पादन, बजार, प्रविधि, प्रशोधन, बजारीकरणका समस्यालाई समाधान र त्रिदेशीय कृषि विकासको अवधारणासहित काम गर्न सकियो भयो भने नेपालको कृषिका विकासका अन्तरंग फेरिएर कृषिमा सबल बन्नसक्छ ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु