गृहपृष्ठ लोकतन्त्रको विकल्प ‘राजतन्त्र’ हुँदै होइन

लोकतन्त्रको विकल्प ‘राजतन्त्र’ हुँदै होइन

हाम्रो खप्तडछान्ना बझाङका आफन्तहरूको फेसबुक मेसेन्जर समूहमा तिहारको शुभकामना आदान-प्रदान भइरहेको थियो । त्यसैमा एक जनाले सामाजिक सञ्जालमा व्यापक फैलिरहेको तस्बिर साझा गरे । जसमा तिहारमा पुजिने जनावरहरू र नेपालका केही परिचित नेताहरूलाई माला लगाई दिएको तस्बिरमा शीर्षक (क्याप्सन) थियो ‘सबैलाई तिहारको शुभकामना !’

त्यो तस्बिरले हाम्रो समूहमा खैला-बैला मच्चियो ! नेतालाई पशु तुल्य उपमा, उत्प्रेक्षा दिएको देखेर एकजनाले तर्क दिए, ‘अहिलेको पहिलो दोस्रो पुस्ताका नेताको कटाक्ष, गाली गलौच, अपमान गर्ने हाम्रो पुस्ताको राजनीतिक हैसियत छैन । जति पनि यो छाडापन हामीले भोगचलन गरिरहेका छौं, त्यो बा’हरूको पुस्ताले गरेको त्याग तपस्या बलिदान को प्रतिफल हो ।’

हो ! व्यवस्था बदल्न वर्तमान नेताहरूको योगदानको कदर गर्नैपर्छ तर, साथ-साथै अवस्था बदल्न अब के गर्ने भन्ने बहस पनि आवश्यक छ । विकृत राजनीतिविरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा सेयर गरेर वा कुनै नेतालाई जुत्ता या झापड हानेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन । आउनुहोस्, लोकतन्त्रलाई संस्थागत गर्दै यो आक्रोश मतपत्रमा उतारौं ।

किन सराप्छौ अब कल्लाई गर्छौ धिक्कार ?
हिजोका तिम्रै भोटले आज बन्यो सरकार

जागौं ! खास गरी युवा पुस्ताले अब सचेत हुनैपर्छ । युवाहरूले क्षमतावान् बन्ने कि हनुमान बन्ने ? हामीले सधैँ ‘हाम्रो’ पार्टीलाई मत दियौँ राम्रो परिपाटी त्याग्यौँ । हामीले राम्रो उम्मेदवारलाई मात्रै हाम्रो मत दिएको भए आज सबै पार्टीले राम्रा उम्मेदवारलाई मात्रै टिकट दिने थिए । अब आस्थाको होइन, आशाको आधारमा मत दिऔं ।

लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो । जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने । अपेक्षित काम नगरे वा सुशासन र समृद्धितर्फ देशलाई लैजान नसके वा भ्रष्टाचार, नातावाद, कृपावाद र दलाल पुँजीवादीलाई आश्रय दिइरहे अर्को आवधिक निर्वाचनमा जनताले सक्षम वैकल्पिक नेता चुन्ने । यो लोकतन्त्रको सुन्दर रूप अमेरिकाको यो निर्वाचनले देखायो । जनताले एक्लै हिँड्ने ट्रम्पको ट्रक छोडी सबै मिली जाऊँ भन्ने बाइडेनको बस रोजे ।

तर, नेपालमा न सुशासन, समृद्धितर्फ देश बढ्यो न त जनहितमा काम भयो । विगत ३० वर्षमा विभिन्न वाद, पार्टी र नारा लिएर विभिन्न मुकुन्डो लगाई तिनै अनुहार राजनीति र देश दोहनमा सक्रिय छन् । ३० वर्ष अघि मण्डलेहरूको हलो तारे र मालेले भाँचे । तर, गाउँ-घरका खेत जोत्नुको साँटो तारे-माले आफैँ लड्दा बारी बाँझा रहे । समृद्धिको खेतीलाई कहिले रुखले ओझेल पार्योत त कहिले सूर्यले सुकायो । अलि अलि बाँकी रहेको हँसियाले काटेर लगे ! यो सबबाट विरक्त भई तन्नेरी गोठाला लाहुर पसे । यी सबै माझ आज फेरि जनमतलाई संकीर्ण जातीयता, वर्ग र क्षेत्रीयताको आधारमा विभाजित गर्न खोज्दै छन् । कोही कोही अझै पनि हँसियाले काटेर, हथौडाले ठोकेर सत्ता हत्याउने प्रयास गर्दैछन् ।

बारम्बार यिनै पात्र कसरी सत्तामा पुग्छन् ? किनकि हामीले प्रश्न गरेनौं । घरदैलोमा आउने हरेक नेतालाई सोधौं कि कुनै वैध आम्दानीको स्रोत नभएर केही वर्षमै काठमाडौंमा महल कसरी बने ? वादका भर्याआङ चढेर सत्तासीन भएका र आफैंलाई समाजवादउन्मुख कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डा हत्याराहरूको संरक्षक किन बनेको छ ? नेताहरूलाई आफू र आफ्नो उपचार गर्न हेलिकप्टरमा काठमाडौं जाँदा जनता सिटामोल नपाई मर्ने अवस्थामा भएको स्मरण हुन्छ कि हुँदैन ?

यी सबैबाट आजित भएको जनमत उक्साई फेरि अर्को समूह धर्म र राजतन्त्रको नाउँमा राजनीति गर्ने प्रयास गर्दैछन् आज । याद रहोस् जबसम्म जनता चेतना शून्य ‘लास’ बनिरहन्छन् हिन्दु राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन् । हामी अनेक वादका नाउँमा धेरै जलाइयौं, गाड्यौं, झुन्ड्यायौं, गोली ठोक्यौं । भयो पुग्यो अब बलीका बोका नबनौं ! जागौं !

स्मरण रहोस् लोकतन्त्रको विकल्प राजतन्त्र हैन लोकतन्त्रको विकल्प अझैं मजबुत लोकतन्त्र हो ! आउनुहोस् हामी सबै नेपाली एकजुट बनौं । आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाई राख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्रवामपन्थी र उग्रदक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौं ।

अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत र विसंगतिको राजनीतिलाई उखेलेर फाल्ने क्रान्ति बुलेट होइन, ब्यालेटमा हुन जरुरी छ । जसरी २०२० को निर्वाचनमा अमेरिकामा भयो । अब नेतालाई जुत्ता होइन, मतपत्रको प्रहार गरौं !

लोकतन्त्र फलोस्-फुलोस्, नेताहरूलाई प्रजातन्त्र दिवस, सहिद दिवसमा, जनयुद्ध दिवसको शुभकामना दिएको हेर्न पाइयोस् ! नेपालको जय होस् !

यो पनि पढ्नुहोस् :

नेतालाई जुत्ता होइन, मतपत्रको प्रहार

(बझाङको खप्तडछान्ना-५ पिठातोला घर भएका जोशी युनिभर्सिटी अफ म्यसाचुसेट्स अमेरिकामा रसायनशास्त्रमा विद्यावारिधि गर्दैछन् ।)

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु