गृहपृष्ठ कोरोना, प्रकृति र मानव

कोरोना, प्रकृति र मानव

अहिले मुलुकको जनजीवनलाई कोरोनाले गम्भीर ढंगले थिचेको छ । कोरोनाले विश्वलाई नै गाँजेको बेला नेपाल अछुतो रहने भन्ने त कुरै भएन । कोरोनाले कडा चुनौती दिँदै विश्व जगतको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक जस्ता अहं बहुविधायुक्त सरोकारहरुमा गतिलो रुपान्तरण खोज्न आह्वान गरिसकेको छ ।

औद्योगिक क्रान्ति भनेर विकसित देशहरूले प्राकृतिक स्रोत साधनलाई मनपरी ढंगले दोहन गरेपश्चात् मानवीय जटिलताहरू गुणात्मक रुपमा बढेको देख्न, सुन्न र भोग्न थालेको धेरै वर्ष भइसक्यो । वर्षौंदेखि उद्योग तथा कलकारखानाले निष्कासन गरिरहेका हानिकारक रसायन जमिन, पानी र वातावरणमा बढ्दो क्रममा फैलिरहेको छ । यस्ता प्रदूषित पदार्थको फोहोरमैला व्यवस्थापन तथा नियन्त्रण अपर्याप्त भइदिदाँ मानव स्वास्थ्यलाई दिनप्रतिदिन उच्च जोखिमतर्फ धकेल्दै ल्याएको शोधहरुमा भेटिन्छ । महाशक्ति राष्ट्र बन्ने होडमा विकसित देशहरूले सामरिक शक्ति वृद्धिलाई प्राथमिकता दिँदा त्यसको चोट प्रकृतिको गर्भ र वातावरणमा निश्चय नै परेको छ । प्राकृतिक खानी खोतलेपछि त्यसको पुर्ताल/पुनर्निर्माण हुन हजारौँ वर्ष लाग्ने तथ्यांक हामीसँग जिउँदै छ । बहुमूल्य प्रकृतिप्रदत्त खनिज तथा जैविक पदार्थहरु पेट्रोलियम पदार्थ, चुन/फलाम/सुन/तामा/पित्तल खानी, युरेनियमका भण्डारणहरु क्रमशः रित्तिँदै जाँदा मानव सभ्यता र बसोबास जोखिमयुक्त हुँदै गएको छ ।

वनजंगल विनास र वन्यजन्तु तथा चराचुरुंगीको लुकिछिपी सिकार गरी बेच्ने तथा उपभोग गर्ने गर्नाले मानवलाई सिध्याउने प्राणघातक रोगहरूको संक्रमण बढ्दो छ । इबोला जस्ता संक्रमित रोगहरु वनजंगल विनासका कारणले वन्यजन्तुको संसर्गबाट सरेको भन्ने गरिन्छ । त्यसैगरी, एड्स चिम्पान्जीबाट मानवमा सरेको पत्ता लागिसकेको छ । विश्व आर्थिक मञ्च लेख्छ कि विगत ५० वर्षको अन्तरालमा ६० प्रतिशत वन्यजीवन गुमाइसकेका छौँ । ७० प्रतिशत संक्रामक रोगहरूको उत्पत्ति वन्यजीवन हुन भने ६० प्रतिशतचाहिँ जनावर नै हुन् । जसले गर्दा नयाँ संक्रामक रोगहरु चौगुणाले बढेका छन् । इकोसिस्टमलाई यसैगरी बेवास्ता गर्दै जाने या भनौँ यसको विनास नजोगाउने हो भने यस्ता संक्रामक रोगहरु उच्च दरले बढ्ने अनि विकराल स्थिति पैदा हुने वैज्ञानिक अवधारणाहरू छ्याप–छ्याप्ती प्रकाशित भइरहेका छन् ।

हेक्का राख्न जरुरी छ कि लाखौँ जीवहरुलाई जस्तै प्रकृतिले हरेक मानवलाई केही समयका लागि बस्न दिएको स्वतन्त्र घर हो– पृथ्वी । प्रकृति आफैँ शान्त स्व–नियममा सन्तुलित भएर चलायमान छ । उसको नीति‑नियमअनुरुप नबसिदिएपछि भनौँ बिथोली दिएपछि ऊ अब बास खोस्ने दिशातिर अग्रसर हुन्छ । उसको लखेट्याईंलाई सहर्ष स्वीकार नगरी धरै छैन । जो जहाँ बसिराखेका छौँ, त्यहाँको प्राकृतिक वातावरण ख्याल गर्ने जिम्मा हरेक मानव/राष्ट्रको हुन आउँछ ।

ज्ञान, विज्ञान र प्रविधिले जति नै फड्को हाने पनि मानव निश्चित क्षीतिजभन्दा पर द्रुतगतिमा वा मनपरी ढंगले जान खोजेमा अकल्पनीय जोखिमहरु मोल्नुपर्ने कोरोनाको भयावहले जनाउ दिइसकेको छ । मानव जनले सर्वश्रेष्ठ बुद्धिमान प्राणीको अभिमान जडित पगरी गुथेर जैविक प्रणालीमाथि जानेर-नजानेर हमला गर्दाका दुष्परिणाम भोग्न थालिसकेको छ ।

मानव जनले सर्वश्रेष्ठ बुद्धिमान प्राणीको अभिमान जडित पगरी गुथेर जैविक प्रणालीमाथि जानेर-नजानेर हमला गर्दाका दुष्परिणाम भोग्न थालिसकेको छ ।

मानिँदै आएको छ कि पुँजीवादले स्वतन्त्र उत्पादन, उपभोग र छनौटलाई प्रोत्साहित गर्छ । वस्तु तथा सेवाहरूको रोज्ने हजारौँ विकल्प दिन्छ । तर, यसले व्यक्तिवादी होडमा प्रवेश गराउँछ । अहिलेको विश्व/पुस्ता पुँजीवादको उच्च आकर्षणमा छ । अरु जीवको स्वतन्त्र अस्तित्वलाई बेवास्ता गर्दै मानवले आफ्नो मात्रको सुखसयल र सुविधा खातिर उपभोक्तावादलाई आँखा चिम्लेर प्रश्रय दिनुको परिणती कोरोना जस्ता महामारी मानव सभ्यताले बेलाबखत भोग्दै आएको छ । अनि भन्नैपर्छ, चरम पुँजीवादको वक्रदृष्टि मानव सभ्यतामाथि परिसकेको छ ।

दिगो विकासको अवधारणाले मानवीय आवश्यकता परिपूर्ति वा समस्या समाधानका खातिर बहुपक्षीय तथा बहुकोणीय सरोकारहरुलाई समेट्ने प्रावधानहरू खडा भइसकेका छन् । सामाजिक, आर्थिक र वातावरणीय तत्वहरुलाई हृदयंगम गर्दा विकासले कालान्तरमा अहिलेजस्तो नकारात्मक प्रभाव नछोड्ने गम्भीर विश्लेषण र आँकलन हुँदै आएको छ । जनसंख्याको बढ्दो चाप र यसले माग गर्ने वस्तु तथा सेवाहरूको भार अन्ततः प्राकृतिक संसाधनमै पर्नेछ । उपभोग चाँडो–चाँडो हुने तर प्रकृतिले उपहार स्वरुप दिएका खनिजहरु एकपल्ट प्रयोग भइसकेपछि अर्कोपल्ट प्रयोग योग्य हुन वर्षौं लाग्ने हुनाले यस्ता चिजवस्तुलाई खटाइखटाई प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।

उपभोग र प्राकृतिक पुनर्निर्माणको वैज्ञानिक हिसाबकिताब गरिएन भने मानवको पृथ्वी बसाइ दुष्कर हुँदै जान्छ । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले चेतावनीपूर्ण भाषामा भनेका छन् कि मौरीहरू पृथ्वीको भूभागबाट लोप भए भने मानवले पृथ्वीमा बस्ने समय चार वर्षभन्दा बढी हुँदैन । यसको मतलब, मानव जातिले पृथ्वीलाई धेरै माया र हेरचाह गर्नुपर्ने सुझाउँछ । प्राकृतिक सुन्दरतामा क्षणिक रमाउनेमात्र होइन, पुस्तौँ–पुस्ताका लागि जीवन्त राखिदिने उपाय अवलम्बन गर्नुपर्छ र सहिसलामत अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । त्यसैले दिगो विकास उन्नति प्रगति गर्ने बहुआयामिक अवधारणा हो । जसले मानवलाई प्राकृतिक वातावरण–मैत्री भएर विकास गर्न आह्वान गर्छ । नेपाल जस्तो यति सानो भूगोलमा थरी–थरीका जैविक विविधता भेटिनु संसार मै अनुपम हो । तर, विकासको नाममा जथाभावी भइरहेका पहाडी भूभागमा डोजर चलाउने, वन फँडानी गर्ने तथा कृषिजन्य भूभागलाई प्लटिङ गर्ने जस्ता कार्यले पर्यावरणीय सन्तुलन बिग्रने जोखिमको दरलाई ह्वात्तै वृद्धि गराउँछ । फलस्वरूप, नेपालले प्राकृतिक सौन्दर्य र जैविक विविधतामा विश्वमै कमाएको नाम क्रमशः धुमिल हुँदै जान सक्छ ।

मानव सभ्यताको विकासका खातिर प्राकृतिक खनिज र जंगली जडिबुटीलाई विभिन्न औद्योगिक उत्पादन तथा प्रशोधनमा प्रयोग नगरी अगाडि बढ्न गाह्रो छ । आधा संसारको कुल ग्राहस्थ्य उत्पादन प्रकृतिमाथि उच्च तवरले नै निर्भर छ । यसखाले मूल्य र गहनतालाई समयमै ग्रहण गर्न सक्यो भने मानवीय जीवन र स्वास्थ्यमा यतिविघ्न भयावह अवस्था नआउने वैज्ञानिक खोजहरुले बताउँदै आएका छन् ।

मानवीय क्रियाकलापले विश्वको पर्यावरणीय आधार तथा प्रणालीहरुलाई भत्काउँदै लगेको छ । जंगल विनासले मलेरियाका दरहरुलाई बढाइदिएको छ । विनास भएको जंगली भूभाग मच्छडका लागि उपयुक्त बासस्थान हो । मानवीय क्रियाकलाप बढ्दै जाँदा घना जंगली भागहरू क्रमशः पातलिँदै गएका छन् । यसको विनासले वन्यजन्तु तथा जीवहरूको बासस्थल नष्ट हुन पुगेको छ । उनीहरु अत्यन्तै सानो क्षेत्रमा संकुचित ढंगले बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । फलस्वरूप, मानव र यी जन्तु–जनावरका बासस्थान नजिकिएपछि यसलाई सिकार गरेर खाने,  बेचबिखनका लागि पक्रने तथा छाला काढ्ने, पाल्ने आदि गर्नाले मान्छेको प्रत्यक्ष संसर्गमा आइहाल्छन् । यसले विभिन्न रोग तथा संक्रमणहरुलाई जन्म दिन्छन् । यसरी मानवले आफ्नै जीवनको दाउ आफैँ लगाउन पुग्छ ।

कोरोनाले मानव स्वास्थ्य–जीवन सर्वाधिक अमूल्य रहेको झक्झक्याउनुका साथै यसले जनजीविकाका पक्षहरूमा नराम्ररी चोट दिएपश्चात् एकपल्ट फेरि गम्भीर ढंगले सोच्न मग्न हुन बाध्य बनाएको छ । आत्म–मूल्यांकनतर्फ जोड दिएको छ । प्राकृतिक इकोसिस्टमलाई जति धेरै मानवले अतिक्रमण गर्छ, त्यति नै धेरै संक्रामक रोगहरु उत्पत्ति हुनपुग्छ । अनि सन्त्रास र भयको वातावरणमा बाँच्न बाध्य हुनुपर्छ । के मानव आफ्नै बासस्थान उठिबास लाउन लागिपरेको त छैन ? आफ्नो मृत्युको खाल्डो आफैँ खन्दै त छैन ?

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु