गृहपृष्ठ के हो चाक्चाकूर पर्व ? किन ओझेलमा पर्‍यो ?

के हो चाक्चाकूर पर्व ? किन ओझेलमा पर्‍यो ?

यही पुस १५, १६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ- ५०८१) ‘चाक्चाकूर पर्व’का साथै यो वर्षको पुस १५ गते नेपालका धेरै जातजातिहरुको पर्व परेको थियो । जस्तै नेवार समुदायको ‘योः मरी पुन्यी’/‘ज्यापु दिवस’, कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ- ५०८१’/‘चाक्चाकूर’, गुरुङ समुदायको ‘ल्हो छार, याक्खा समुदायको चासुवा, लिम्बु समुदायको ‘चासोक तङनाम’, बाहुन-क्षेत्रीहरुको ‘धान्य-पूर्णिमा’, सुनुवार समुदायको ‘फोल ष्याँदर/पिदार’, कथित् ‘राई’ जाति भनिनेहरुको साकेल (खासमा साकेला भनेको चाम्लिङको भाषामा रहेको नाम हो) सम्पन्न भयो । तर, सम्माननीय राष्ट्रपति ज्यु र प्रधानमन्त्री ज्युले पनि नेपालका अरु जातजाति र समुदायको चाडपर्वको अवसरमा शुभकामना सन्देश दिएको भए तापनि कुलुङ समुदायको नयाँ वर्ष ‘येले दोङ-५०८१’/‘चाक्चाकूर’का चाडपर्वका बारेमा भने न त नेपालका कुनै पनि राष्ट्रियस्तरका भनिने दैनिक पत्रपत्रिका, टेलिभिजन, रेडियो, एमएम, अनलाइन पोर्टलहरुले नै समाचार प्रकाशन।प्रसारण गरे, न त सम्माननीय राष्ट्रपति ज्यु र प्रधानमन्त्री ज्युले नै शुभकामना सन्देश दिनुभयो । यसरी हेर्दा के देखिन्छ भने, राज्यले कुनै पनि जात वा जातिलाई आधिकारिक रुपमा जात वा जाति मान्नु र नमान्नुमा कुनै पनि जात वा जातिका लागि आकाश-पातालको फरक रहेको हुन्छ ।

अर्को महत्वपूर्ण कुरो भनेको, कुलुङ जाति भनेको पहिलेदेखि नै नेपालका अन्य जातजातिले चिनिरहेको स्वतन्त्र जाति नभएर हालसम्म जबरजस्ती ‘राईकरण’को मारमा परेको जाति पनि हो । किनभने, अझै पनि कुलुङ जातिलाई नेपालका अन्य जातजातिहरुले ‘अलग्गै र स्वतन्त्र एक जाति हुन्’ भन्ने नबुझेर/नमानेर ‘राई जाति भित्रको एक थर मात्रै हो’ भने र बुझ्ने/मान्ने गरेका छन् । तर, कुलुङ जातिका बारे मान्छेहरुले बुझेजस्तो मात्रै नभएर नेपालका तामाङ, गुरुङ, मगर, थारु, लिम्बु, लाप्चा, धिमाल, थामी आदि जस्तै कुलुङ जाति पनि एक स्वतन्त्र जाति हो । कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर/उपथरहरु रहेका छन् । त्यसैले कुलुङ-कुलुङबीचमै विहेवारी पनि चल्ने गर्छ ।

जे होस्, राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘कुलुङ’ । जनगणना २०६८ मा उल्लेख भएअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ । कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्ती कुलुङको भनाइअनुसार कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी रहेको छ । कुलुङ जातिको उत्पत्ति थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै तथा संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाडाैं लगायतका जिल्लामा उल्लेख्य संख्यामा बसोवास रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ सुर्खेतलगायत जिल्लामा पातलो वस्ती रहेको छ । यसरी नेपालका २७ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्याण्ड, मणिपुर, देहरादुन तथा म्यानमार, भुटान, हङकङ, बेलायत, अष्टे«लिया, क्यानडालगायत देशमा पनि कुलुङहरु रहेको भेटिएको छ ।

जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक विविधता नै नेपालको वास्तविक चिनारी हो । त्यसैले त पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो’ भनी सकारेका थिए । कुलुङ जातिको उत्पत्तिथलो अर्थात ऐतिहासिक भूमि सोलुखुम्बुको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावैलगायत साविकका गाविसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, रीतिरिवाज, भेषवूषा, गरगहना आदि रहेको छ । यसरी कुलुङ जातिले मनाउने विभिन्न चाडबाड, जात्रापर्व, र उत्सवहरुको कुरो गर्दा कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’को पहिलो महिना ‘चाक्चाकुर’को अवसरमा मनाइने ‘मिनारी–दाचाम्’ पनि एक हो । ‘चाक्चाकुर’ भनेको इस्वी संवत्को पहिलो महिना जनवरी, विक्रम संवत्को पहिलो महिना वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्रअनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम पनि हो । विक्रम संवतको हरेक पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ’ सुरु हुन्छ ।

कुनै जातजातिले आफ्नो चाडपर्व किन र कसरी मनाउन सुरु गर्यो भन्नेमा त्यसको खास अर्थ र कारणहरु रहेका हुन्छन् । त्यस्तै कुलुङ जातिले चाक्चाकूर मनाउनुको पनि खास अर्थ र कारणहरु रहेका छन् । चाक्चाकूरको पूरा नाम र क्रिया-कर्मका नाम समेतभन्दा ‘मीनारी दाचाम नीङ दोङ फाईम चासूमलो’ भन्ने गरिन्छ । तर, ‘मिनारी-दाचाम् चाक्चाकूर’ भन्ने गरिन्छ । तर, पछिल्लोपटक सजिलोका लागि वा नेपाली भाषामा नयाँ वर्ष र अंग्रेजी भाषामा न्यु इयर भनेजस्तै हामी कुलुङहरुले पनि बोलीचालीमा चाक्चाकूर मात्रै भन्ने कि ? भन्ने पनि पछिल्लो पुस्ताले सुझाव दिँदै आइरहेका छन् । त्यसो त चाक्चाकूर चाडपर्वको सन्दर्भमा एक लेख लेख्दै नेपाल सरकारको निजामती सेवा (प्राविधिक)मा सेवारत राजधन मोरोखु कुलुङले ईमकालु अनलाइनमा एक लेख लेख्दै प्रस्ट्याएका छन् । उनका अनुसार ‘मीना’को अर्थ ‘मान्छे’ र ‘मीनारी’को अर्थ ‘मान्छेको पाखुरी’ हो भने ‘दाचाम’को अर्थ ‘भण्डार’ वा ‘ढुकुटी’ हो । त्यस्तै ‘नीङ दोङ’को अर्थ ‘नयाँ वर्ष‘ हो भने ‘चासुम’को अर्थ ‘अन्नको सह’ हो ।

पहिले–पहिले यो चाडपर्व मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङलगायत कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरुमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र १७ गते नयाँ अन्न/भित्र्याउने/भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी-दाचाम्’ भनिन्छ । त्यस्तै कुलुङ जातिमा चाक्चाकूरको अवसरमा मनाइने मिनारी–दाचाम् चाडको अवसरमा पहिलो दिन आ-आफनै घरमा मिठोमसिनो जे छ, त्यही खाएर मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरु माइतीको दीर्घायू, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रितले आशिष दिन छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।

कुलुङ जातिले मान्ने ‘मिनारी-दाचाम्’ चाड अर्थात् ‘चाक्चाकूर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किंवदन्ती र विश्वासअनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ र एक छोरा खोक्चिलीप गरी तीन सन्तान थिए । यिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । ती दिदी-बहिनीले सानैमा भाइ खोक्चिलीपलाई छाडेर गए । खोक्चिलीपले आफू ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु पनि भएको बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलीप आफ्ना दिदीहरु खोज्न गए । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरिसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै भाइलार्ई बेवारिसे बनाएर सानैमा छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर नयाँ अन्न-बालीबाट पाकेको/बनेको मिठो/मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरेर विदावारी भए ।’ कुलुङ जातिमा सोही दिनदेखि चाक्चाकूर मनाउन थालियो ।

हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घनावस्ती भएका विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकूर’ मनाउने क्रम बढेको छ । तर, यो वर्षचाहिँ कोरोना महामारीका कारण कतै पनि सामूहिक रुपमा भेला भएर ‘चाक्चाकूर’ मनाइएन ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु