गृहपृष्ठ ‘दक्ष जनशक्ति अभावमा गुरुयोजना बनाउनै समस्या’

‘दक्ष जनशक्ति अभावमा गुरुयोजना बनाउनै समस्या’


केन्द्रिकृत शासन प्रणालीले देश सधैं अविकसित भएको भन्दै संघीय शासन व्यवस्थामा जानुपर्ने माग गर्दै बिभिन्न राजनीतिक दलहरुले आन्दोलन गरिरहेको थियो । अन्ततः देश संघीय शासन व्यवस्थामा गयो । नेपालको संविधान कार्यान्वयनको भयो । गत असारमा स्थानीय तहको निर्वाचन पनि भयो । अब ती स्थानीय तहमा शासन कसरी चलिरहेको छ, के के छन् समस्या ? महालक्ष्मी नगरपालिकाको मेयर रामेश्वर श्रेष्ठसँग न्यूज कारोबारकर्मी सञ्जय श्रेष्ठले गरेको कुराकानी :

महालक्ष्मी नगरपालिकामा समृद्धिका कस्ता गुरुयोजना छन् ?
– बिडम्बना नै भन्नुपर्छ, अहिलेसम्म हामीले गुरुयोजना बनाउन सकेका छैनौं । नगरपालिकाको विकासका लागि हामीले आवधिक योजना मात्र बनाएका छौं । त्यही आवधिक योजना अनुसार हामी विकासका काममा लागेका छौं ।

गुरुयोजना बनाउन नसक्नुको कारण के हो ?
– गुरुयोजना बनाउन नसक्नुको कारण छन् । पहिलो, आर्थिक अभाव हो । गुरुयोजना निर्माण गर्न आर्थिक लागत बढी लाग्छ । नगरपालिकासँग प्रयाप्तरुपमा आर्थिक छैन । दोस्रो, दक्ष जनशक्तिको अभाव हो । हामीसँग दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति खरिद गर्नका लागि हामीसँग प्रयाप्त बजेट छैन । यसको लागि हामीले नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी निकायसँग पनि सहयोगको लागि अपिल गरिरहेका छौं ।

नगरपालिका हरेक हिसावले अगाडी छ, तर गुरुयोजना बन्न सकेको छैन भने अरु पालिकाहरुको अवस्था कस्तो होला ?
– अरुको मलाई थाहा भएन, हाम्रो नगरपालिका एउटा वडाभन्दा बाहेक अरु सुगम छ । त्यो एउटा वडालाई पनि अब हामीले भ्यालीभित्रकै बनाउन खोजेका छौं, किन भने आजसम्म पनि त्यो वडालाई भ्याली बाहिरको रुपमा लिन्छ । हाम्रो नगरपालिकाको बजेट भनेको ३० करोडको हो । त्यो सबै रकम विकास निर्माणमा लगाउँदा पनि प्रयाप्तरुपमा पुगिराखेको छैन । २०६८ को जनगणनाको आधारमा हामीलाई राज्यले विकास बजेट दिन्छ, त्यसरी हेर्दा महालक्ष्मी नगरपालिकामा ५० प्रतिशत मात्र बजेट हुन्छ ।

यो नगरपालिकाभित्र रहेको उद्योग तथा कलकारखानालाई व्यवस्थित गरी करको दायरामा ल्याउन सम्भव छ कि छैन ?
– अहिले हाम्रो नगरपालिकाभित्र ठुला उद्योग तथा कलकारखाना छैनन् । केहि साना छन्, र बाँकी भनेको पसल र घरजग्गा कर नै हो । हामी आउनुभन्दा पहिले यहाँ कर नतिर्ने धेरै व्यवसायी थिए, तर हामी आएपछि त्यो संख्या घटेको छ । कर तिर्न आउनेको संख्या बढेको छ । अब हामीले निश्चित कानून बनाएर सबै व्यवसायी तथा उद्योगीहरुलाई करको दायरामा ल्याउने तयारी गरेका छौं । नयाँ व्यवसायी तथा उद्योगहरुको पनि सुरुवात गर्ने तयारी गर्दैछौं । साथै अब हामी कर प्रणालीलाई डिजिटल बनाउँदै छौं । त्यसमा हाम्रो वइवसाइट हुन्छ, सबै रेकर्ड त्यसैमा राख्ने हो । सबै व्यवसायीले आफ्नो रेकर्ड त्यहाँ पाउने छ । हामी करको दायरा बढाउँछौँ, कर बढाउदैनौं ।

तपाईको कार्यकालमा नगरबासीको आर्थिक अवस्था कस्तो हुन्छ ?
– मेरो कार्यकालमा महालक्ष्मी नगरपालिका र नगरवासीको आर्थिक अवस्था ठ्याकै यस्तै हुन्छ भन्न त म सक्दिन । किनभने हामीले अहिलेसम्म गुरुयोजना बनाउनसम्म सकेका छैनौं । गुरुयोजनाबिना यस्तो हुन्छ, भन्नु मुर्खपना हुन्छ । तर पनि के हो भने म नगरपालिका तथा नगरवासीको आर्थिक वृद्धिको लागि निरन्तर लाग्नेछु ।

नगरपालिकाका आर्थिक स्रोत के हुन्, तपाईको कार्यकालमा नयाँ स्रोत के के निर्माण हुन्छ ?
– नगरपालिकाको आर्थिक स्रोत भनेको घरभाडा कर, व्यवसायीक कर र सरकारले दिने सहयोग नै हो । योभन्दा पहिले त्यो पनि सरकारले लिने भन्ने थियो । तर अहिले यो स्थानीय तहले गर्ने भन्ने टुङ्गो लागिसकेको छ । अब नयाँ स्रोत भनेको पर्यटन, व्यवसायीहरुको वृद्धि गर्ने लक्ष्य, उद्योग तथा कलकारखानाको निर्माण गर्ने नै हो । हाम्रो नगरपालिकामा अरु भनेको खासै छैन । उपभोक्ता करहरु नै हो ।

नगरपालिकाका बासन्दिाले तपाईबाट के आशा गर्ने ?
– नगरपालिकाको टिम एकदमै चुस्त छ । हामीबीचको साझेदारी एकदमै राम्रो छ । त्यस भएको हुनाले पनि हाम्रो कार्यकालमा नगर र नगरवासीको विकासमा ठुलो सफलता हासिल गर्नेमा ढुक्क छु । अर्को कुरा हाम्रो नगरपालिका नयाँ छ । पूर्वाधारविहिन छ । हामीले पहिला नगरपालिकालाई पूर्वाधार सम्पन्न बनाउनु छ । खानेपानी, ढल, शिक्षा, स्वास्थ्य, सडक लगायतको कुरालाई व्यवस्थापन गर्नुपर्ने छ । शिक्षालाई प्रविधिमैत्री र व्यवहारिकतामा जोड दिन्छौं । नगरपालिकाभित्र काठमाडौं खानेपानीको शाखा जोड्दै छौं । विद्युतको व्यवस्थापन गर्दै जानेछौं । अहिले म यति भन्छु, मेरो कार्यकालमा नगरवासी जनताको सबै समस्यामा सहभागी हुने प्रयत्न गर्नेछु ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु