गृहपृष्ठ सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्रीले के भने ?

सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्रीले के भने ?

सामाजिक सुरक्षा दिवस र सामाजिक सुरक्षा योजनाको शुभारम्भको सुखद अवसरमा म, सबैमा बधाई तथा सुरक्षित भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्छु । आज हामी एउटा नयाँ प्रकृतिको कार्यक्रममा सरिक हुँदैछौं । सिंगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराउँदै छौं । हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी गर्दैछौं । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा भनेको थिएँ, यो सरकारले सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्छ । आजको यो कार्यक्रम, त्यसैको निरन्तरता हो भन्न पाउँदा मलाई गर्व लागिरहेको छ ।

आजभन्दा २५ वर्षपहिले हामीले नै पहिलोपटक अल्पमतको सरकार बनाएका बेला जेष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौं । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एकचोटी सुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो । कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भंग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोपका बीच हामीले पाका उमेरका हाम्रा अभिभावकलाई सम्मानस्वरुप मासिक १०० रुपैयाँ जेष्ठ नागरिक भत्ता र समाजमा अपहेलित हुँदै एकल जीवन बाँच्न बाध्य हाम्रा दिदीबहिनी र छोरी र चेलीहरुको पीडालाई सम्बोधन गर्न ‘असहाय तथा विधवा महिला भत्ता’को थालनी गरेका थियौं ।

२५ वर्षअघि थालेको कार्यक्रममा थप नयाँ आयाम
हाम्रो कल्याणकारी समाज, पाहुना आएकाहरुलाई आफ्नो ओछ्यानै छोड्नेदेखि भर र अभरमा सबै मिलेर विपतमा परेकालाई सहयोग गर्ने परम्परासहित अघि बढेको छ । जनताले आफ्नै अनुभवमा गुठी, ढिकुर वा ढुकुटी, धर्म–भकारी, अ‍ैंचोपैंचो, पर्म, सघाउ वा जाति र समुदायमा आधारित सेवा समितिमार्फत ऐक्यबद्धता र सहयोग दिने प्रचलन रहँदै आएको छ । आधुनिकतासँगै यी परम्परा भत्किन पुगे । तीन–चार पुस्ता सँगसँगै रहने ठूला–ठूला सामूहिक परिवारहरु स–साना परिवारमा विभक्त भए । ‘पुरानोलाई छोडेको तर नयाँ प्रणालीमा नजोडिएको’ त्यो संक्रमणकालीन खाडललाई जोड्न के गर्ने भन्नेमा बहस भइरहेको थियो, योजनाचाहिँ बनिरहेको थिएन ।

‘सक्नेले खाने, नसक्ने जाने’ जस्तो अमानवीय र गैरजिम्मेवार राज्यको भूमिकामा परिवर्तन जरुरी थियो । त्यसैका लागि यस किसिमको प्रबन्ध आवश्यक थियो । कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिस्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए । दलगत स्वार्थमा चोट पुग्ने ठानी निन्दा र भत्र्सना गरे, भाँड्न खोजे । जे होस् अहिले त्यो राम्रो थालनीको जनक आफैं बन्ने होडवाजी देखिन्छ । त्यस्ता योजनाहरुको ममी र ड्याडी मैं हुँ भन्नेहरुको दावी र प्रतिदावी पनि सुनिन्छ । भत्ता पाउने ‘उमेरको हद घटाउने र भत्ताको दर बढाउने’ नाटक गर्ने होडवाजीमा साथीहरु लागेको देखिन्छ । आजको यस कार्यक्रममार्फत हामी २५ वर्षअघि थालेको त्यो कार्यक्रममा थप नयाँ आयाम दिँदैछौं ।

कोक्रोमा आउँदैदेखि कात्रोमा नबेरिएसम्मको सुरक्षा
सरकारी सेवामा रहेकालाई, ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालेका छौं । श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिंगो समाज मिली– सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं । यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र होइन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने, युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो । ‘कोक्रोमा आउँदैदेखि कात्रोमा नबेरिएसम्मको सुरक्षा’ भन्दै भाका टिप्नेहरु पनि पछि–पछि आए । के गर्ने र कसरी गर्ने भन्ने अवधारणा नै नभएकाहरुले स्वास्थ्य विमाको आफैं च्याम्पियन भएको धमास लगाउन पनि भ्याए । के हुँदैछ, राज्यले कसरी र के गर्दै भन्ने अत्तोपत्तो नभएकाहरुले हाम्रो संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख राज्य’लाई ‘दलाल पुँजीवादी’ भन्न पनि भ्याए ।

सरकार हरायो, कहाँ छ ? के गर्दैछ ?
पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार हरायो, कहाँ छ ? के गर्दैछ ? आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको वीचमा छ । उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन छ । त्यसलाई लागू गर्न कटिबद्ध छ । भोलि कसै–कसैले भन्न पनि सक्छन्– यो तामझाम किन ? मेरो जवाफ हुनेछ– ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ । साथ दिने सहयात्रीसँग खुसी र उत्सव मनाउन यो कार्यक्रम आयोजना गरिएको छ ।

एक थुकी सुकी, सय थुकी नदी
स्मरण गरौं त ? गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो १ हजार दिन’को अवधारणा कसले ल्यायो ? ‘बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैको लागि शिक्षा’ जस्ता कार्यक्रम यसपछिका शृंखला हुन् । नयाँ वर्षको थालनी गर्दा स्कुल जाने उमेर भएका बालबालिकालाई भर्ना अभियान कुनै रमाइलोका लागि गरिएको थियो र ! कार्यक्रमका रुपमा लक्षित क्षेत्र र समुदाय केन्द्रित सामाजिक सहायताका यस्ता योजना त छँदै छन् । आज हामी सामाजिक सुरक्षा योजनाहरुको सुरुवात गर्दैछौं । यो सामाजिक सुरक्षा भनेको सामाजिक साझेदारीमा आधारित अभियान हो । राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्छ । तर, त्यो समानता उमेरको हिसाबले बाल्यकाल, सक्रिय उमेर र वृद्धावस्थामा फरक–फरक हुन सक्छ । एउटा भनाइ छ नि, एक थुकी सुकी, सय थुकी नदी । ठीक त्यस्तै सामाजिक सुरक्षाका योजना भनेको पनि ‘एक/एक मिली सबैलाई, सबै मिली एक/एकलाई’ भने जस्तै हो ।

यहाँ कोही भोकै पर्दैन, भोकले मर्नु पर्दैन
मैले अघिल्लोपल्ट प्रधानमन्त्री हुँदै भनेको थिएँ– यो उर्वर देश, यहाँ चरा, मुसा, कीरा, फट्याङ्ग्रा पनि भोकले मर्दैनन् । यस्तो देशमा अब जनताको सरकार छ, यहाँ कोही भोकै पर्दैन, भोकले मर्नु पर्दैन । आज फेरि म सबैलाई आश्वस्त पार्न चाहन्छु ।

(सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु