गृहपृष्ठ सेयर बजारमा साँच्चिकै ‘सेल’ लागेको हो ?
सेयर बजारमा साँच्चिकै ‘सेल’ लागेको हो ?
लगानी गर्नु सामान्य छ तर सजिलो भने छैन । – वारेन बफेट
कममा किन, बढीमा बेच । जब सडकमा रगताम्ये हुन्छ, अनि बजारमा गएर सेयर किन । – जेसी लाइभमोर
बफेटले भनेझैं सेयर बजारमा लगानी गर्नु सामान्य छ । ब्रोकरकहाँ जानुहोस् । खाता खोल्नुहोस् । पैसा दिनुहोस् । किन्दे भन्नुहोस्, किनिदिन्छ । बेच्दे भन्नुहोस्, बेचिदिन्छ । अहिले त अनलाइन कारोबार पनि सुरु भएको छ । खातामा पैसा सार्नुहोस् । मन लागेको किन्नुहोस् । सामान्य छ । तर, सेयरमा पैसा बनाउन त्यति सजिलो भने छैन । कसैले पैसा बनाएको देखेका भरमा पैसा लगाएर सेयर बजारमा पैसा बन्ने अवस्था छैन । बैंकको बचत झिकेर सेयरमा लगाउन वा भएको सेयर बेच्न पनि हिम्मत चाहिन्छ । हरेकपटक जोखिम उठाउनुपर्छ । बजार सधैं हाम्रो काँधमा काँध थापेर हिँड्ने मित्रजस्तो बन्न सक्दैन । किनेपछि घटिदिन्छ । बेचेपछि बढी दिन्छ । बजार सँगै दौडिइरहेको देखिन्छ तर वास्तवमा बजार सँगै दौडिरहेको नभई लखेटिइरहेको महसुस हुन्छ ।
यस्तै, जेसी लाइभमोरले भनेझैं कममा किन बढीमा बेच । नाफा र व्यवसायको सबैभन्दा ठूलो सिद्धान्त नै यही हो । तर, कममा किन्नका लागि कम कुन हो बढी कुन हो वा कतिबेला हो छुट्याउन त्यति सजिलो पनि छैन । कम र बढी चिन्नका लागि विश्लेषणका औजार (समीकरण)हरु विकास भएका छन् तर त्यसको प्रयोग गर्नका लागि हामीसँग समय भएर पनि जाँगर हुँदैन । यस्तै, जेसीले भनेको अर्को वाक्य सडक रगताम्ये भएका बेला सेयर किन । सडकमा रगताम्ये भएको क्षण त्यो हो, जुनबेला बजारमा डर र त्रास व्याप्त हुन्छ र नोक्सानको पीडाले मानिस चिच्याइरहेका हुन्छन् । केही समयअघि हामीले यस्तै चिच्याहट देखिरहेका थियौं । अहिले त्यति सुनिएको छैन । के त्यो चिच्याहट सकियो ? वा अझै बाँकी छ । त्यसको मूल्यांकन गरेर अवसर छोप्ने बेला आएको हो कि ?
सामाजिक सञ्जालमा कुन कम्पनीको सेयर किन्दा ठीक भनेर प्रश्न राख्नु भनेको अब कुनमा पैसा राखौं भनेर लंगुर बुर्जा खेल्न सँगै बसेको अर्को साथीलाई सोधेजस्तो मात्र हो । यस्ता प्रश्नले अवश्य पनि सल्लाह दिनेलाई मनोरञ्जन देला तर सल्लाह लिनेलाई राम्रो प्रतिफल दिनेवाला छैन । यसप्रकारका लगानी निर्णयले अल्पकाल वा दीर्घकालमा राम्रो नतिजा अवश्य निस्कने छैन । जसका लागि बजार वा कम्पनीको वास्तविक अवस्थाको परीक्षण गर्नु जरुरी छ ।
केही वर्षअघिको सेयरको मूल्यसँग अहिले तुलना गर्दा बजारमा सेयरको सेल लागेको हो कि भन्ने पनि लाग्न सक्छ । के बजारमा साँच्चिकै सेल लागेको हो वा सयको माललाई दुई सय बनाएर पसलेले ५० प्रतिशतको डिस्काउन्टको ट्याग टाँसेर ग्राहक तान्न खोजेको जस्तोमात्र हो ? त्यो पनि छुट्याउनु छ । केही वर्षअघि ८ सय रुपैयाँमा किनबेच भएको सेयर अहिले ३ सयमा किन बेच भइरहेको छ । यसबीचमा धेरै हकप्रद र बोनसको वर्षा पनि भएको छ । के साँच्चै यो सेल लागेको हो वा वास्तविक मूल्य नै यस्तै हो । यो पनि परीक्षण गर्ने बेला हो जस्तो मलाई लाग्छ । यी कुराहरु हामीले बिर्सेर कतै सामाजिक सञ्जाल र बग्रेल्ती खुलेका अनलाइन पत्रिकाहरुका फेन्सी र रोमान्टिक समाचार, स्टाटस र कमेन्टका पछि मात्र दौडेर कान नछामी कागको पछि त कुदेका छैनौं ? अब कान पनि छामौं । कान छाम्नका लागि कम्पनीका केही तथ्यांकहरुमाथि आँखा पुर्याउनुपर्छ । जसका कारण भविष्यमा विगतलाई हेरेर पश्चाताप गर्न नपरोस् । जस्तो कम्पनीका पछिल्ला वार्षिक वा त्रैमासिक प्रतिवेदनबाट केही तथ्यांक लिएर केही सामान्य समीकरण प्रयोग गरी वा पहिल्यै गणना गरिएका तथ्यांकका आधारमा सेयरको मूल्यको वास्तविक अवस्था थाहा पाउन सकिन्छ । जसको विश्लेषणका लागि सेयरको आधारभूत विश्लेषण किताब सहयोगी बन्न पनि सक्छ ।
यस्ता अनुपातमा मूल्य आम्दानी अनुपात एक हो । कम्पनीको अहिलेको बजार मूल्यलाई तत्कालको प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर)ले भाग गरेर यसको गणना गर्न सकिन्छ । यो अनुपात १० र त्योभन्दा कम आएमा वा भएमा सेयर सस्तो भएको मान्न सक्छौं । २०६० र २०६७ तिर सेयर बजार बियरिस ट्रेन्डको अन्तिम अवस्थामा थियो, जुनबेला राम्रा भनिएका बैंकका मूल्य आम्दानी अनुपात १० र त्योभन्दा कम पुगेका थिए । यस्तै, अर्को महत्वपूर्ण तथ्यांक कम्पनीको प्रतिसेयर नेटवर्थ (बुक भ्यालु) हो । प्रतिसेयर नेटवर्थ तत्काल कम्पनी बन्द गर्दा सबै ऋण तिरेर सेयरधनीले कम्पनीबाट फिर्ता पाउने पैसाको हिसाब पनि हो । यसले कम्पनीको वास्तविक भ्यालुलाई पनि दर्शाउछ । भ्यालु र मूल्य (प्राइस) मा फरक छ । भ्यालु व्यवसायले सिर्जना गर्ने हो भने मूल्य बजारले निर्धारण गर्छ । सेयर बजार न्यूनतम विन्दुतर्फ पुगेका बेला कतिपय कम्पनीको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा कम पनि भइरहेको हुनसक्छ । यसको अर्थ, हामी कम्पनीको वास्तविक भ्यालुभन्दा पनि कममा सेयर किन्न पाइरहेका हुन सक्छौं । यस्तो अवस्था प्राय वियरिस ट्रेन्डको अन्त्यतिर हुन्छ । नोबेल पुरस्कार विजेता विलियम एफ सार्पले जर्मनी, फ्रान्स, जापान, स्विट्जरल्यान्ड, बेलायत र अमेरिका हरेक देशका सेयरलाई दुई भागमा विभाजन गरेर गरेको अध्ययनले हरेक देशमा भ्यालु स्टकले दिएको प्रतिफल अन्यको तुलनामा धेरै गुणाले बढी हुने गरेको पाएका थिए ।
यस्तै अर्को, सेयरको अंकित मूल्य र बजार मूल्यको तुलना पनि हो । अंकित मूल्य र बजार मूल्यको तुलना त्यति महत्वपूर्ण त छैन तर पनि कम्पनीका अन्य तथ्यांकको मूल्यांकन गरेर अंकित मूल्यभन्दा कम बजार मूल्य भएको सेयरमा लगानी गर्न सकिन्छ । यस्ता तथ्यांकहरुको तुलना र मूल्यांकनले बजारमा सेयर वास्तवमै सस्तो भएका छन वा अझै पनि महँगो छन् भन्ने छुट्याउन सहयोग पुग्नेछ । मूल्य घटेरमात्र सेयर सस्तो बन्दैन । मूल्य धेरै देख्दैमा त्यसलाई महँगो भनि हाल्न सकिँदैन । केही समय निकालेर यस्ता तथ्यांक केलायौं र लगानी गर्यौं भने सेयर बजारमा पैसा बनाउन नेप्सेको साइटमा हरेक दिन मूल्य हेरेर तनाव लिन आवश्यक छैन । पैसा पनि बन्नेछ । निद्रा पनि लाग्नेछ ।
(त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर गरेका सेयर विश्लेषक भट्टराईले क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् भने सेयरबजारबारे क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् ।)
यो पनि पढ्नुहोस्
सेयर बजारमा छिर्ने उपयुक्त समय
प्रकाशित समय ११:५० बजे

















