गृहपृष्ठ बरु आर्थिक समृद्धि अनुकरण गरौँ

बरु आर्थिक समृद्धि अनुकरण गरौँ

कृषिप्रधान भनिए पनि नेपालको कृषि उत्पादन निराशाजनक छ । ७६ प्रतिशतभन्दा बढी नागरिक कृषि पेशामा संलग्न रहेको बताइन्छ । यद्यपि, व्यवसायिक कृषिको अवस्था नाजुक छ । कृषिप्रधान मलुकको म नेपाली युवालाई इजरायलको कृषि शिक्षा आर्जन गर्ने एउटा अवसर जुट्यो । त्यसैले तीन प्रतिशतभन्दा कम कृषक भएको मुलुकमा म कृषि पढ्न सन् २०१४ मा त्यहाँ गएँ । त्यसक्रममा मैले कृषिका क्षेत्रमा गरिएका धेरै चमत्कार देखेँ । प्राकृतिक रुपमा सुन फल्ने क्षमता भएको मेरो माटोमा चित्त बुझ्ने गरी अन्न फलाउन नसकेको देशबाट त्यहाँ पुगेको मैले बालुवा र चट्टानमा विछ्याइएको विदेशी माटोमा हिरा फलाएको हेरेँ ।

प्राकृतिक रुपमा उद्गम र सुगम भएर पनि पानीको अभाव काटिरहेको देशको मैले मैले जम्मा भू–भागको आधाभन्दा बढी मरुभूमिमा थोपा सिचाईंबाट १२ महिना नै अन्न उत्पादन भएको देखेँ ।
बिघौंबिघा जमिन हुने जमिनदार वर्षभरी राशन उत्पादन गर्न नसकेर बजारमा मन्सुली छान्नुपर्ने बाध्य देशको मैले त्यहाँ एक कट्ठा पनि जमिन नभएको कृषकले भाडाको जग्गामा सरकारी ऋणमार्फत करोडौँ कमाएको हेरेँ ।

किसानको छोरा भएर दुई घण्टा पनि काम गर्ने बानी नभएको मैले त्यहाँ पढ्नकै लागि दिनको १५ घण्टासम्म काम गरेँ । म त दिनको झण्डै २ सय सेकल (नेपालको करिब ५ हजारजति) आर्जन गरेर मख्ख थिएँ । तर, मेरो मेहनतबाट त्यहाँको कृषकले झण्डै २ हजार सेकल अर्थात् (५० देखि ६० हजार नेपाली रुपैयाँ)को फाइदा लिन्थ्यो । घरको विघा जमिनमा खेताला लगाएर आफू यहूदीको खेताला बनेर काम गरियो । म मालिक बन्न छाडेर दासी जीवन बताउन पुगेँ । केहीपल त्यसैमा रमाएँ, मजस्तै अरु पनि । अझै कैयौँ युवा त्यसैमा रमाइरहेका छन् ।

प्राकृतिक सुगमता नियाल्दा मेरो देश र इजरायल तुलना गर्नै मिल्दैन । हामी त्यति अगाडी छौं। तर विडम्बना, यथार्थमा हामी इजरायलभन्दा कैयौँ गुणा पछाडि छौं।

इतिहास खासै लामो छैन, जहाँदेखि इजरायलको कृषि विकास प्रारम्भ भयो । अहिले इजरायलमा कृषिको एक उच्च विकसित उद्योग स्थापित छ । इजरायलका ताजा उपज र इजरायलको भूगोल कृषिका लागि स्वभाविक छैन भन्ने तर्कका बावजुद आज इजरायल विश्वकै सबैभन्दा बढी कृषिजन्य उत्पादन निर्यात गर्ने देशको सूचीमा छ । त्यस देशमा भूमि क्षेत्रको आधाभन्दा बढी मरुभूमि छ । जलस्रोत र हावापानीबाट पनि अनुकुल छैन ।

त्यहाँको २० प्रतिशतमात्र भूमि खेतीयोग्य छ । यसको मतलव ८० प्रतिशत भूमि खेतीका लागि प्रतिकुल छ । इजरायलले आज २ दशमलव ५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जीडीपी) र निर्यातको ३ दशमलव ७ प्रतिशतको प्रतिनिधित्व गर्दछ । जबकी इजरायलका कृषि श्रमिकहरुको काम शक्ति ३ दशमलव ७ प्रतिशतमात्र छ । इजरायलीहरुले आफ्नो खाना र आवश्यकताका ९५ प्रतिशत खाद्यान्न आफैँ उत्पादन गर्ने गर्दछन् । इजरायलमा किबुज र मोसव भन्ने दुई किसिमका अग्रगामी उद्योग र कृषि समुदायको विकास भएको छ ।

अहिलेको विकसित इजरायली कृषिको विकाससँग उन्नाइसौ शताब्दिको अन्त्यतिर ‘प्यालेस्टाइन–जिओनिष्ट आन्दोलन’ र ‘यहूदि अध्यागमन’ पनि गाँसिएको बताइन्छ । बसाई सरेर आएका यहूदिहरुले खरिद गरेको भूमि ज्यादातर अर्ध शुष्क थियो । धेरै वन फडानी, माटोमा ‘अन्टिलेवल’ थियो । त्यतिबेलाका यहूदीहरुले चट्टानी क्षेत्र हुँदै भास नाली सरसफाई गरी वन बृक्षरोपण र माटोको क्षयलाई निष्तेज पार्ने काम गरे । त्यसपछि बसोबासका लागि छतवाला भवनहरु बनाए ।
सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि खेतीका लागि कुल क्षेत्रफल ४ सय ८ एकड अर्थात १ हजार ६ सय ५० वर्ग किलोमिटरबाट बढेर १ हजार ७० एकड अर्थात ४३ सय वर्गकिलोमिटर भएको छ । जबकी कृषि समुदायको संख्या ४ सय २५ देखि बढेर ७ सय पुगेको छ । कृषि उत्पादन १६ पटक विस्तार भएको छ, जुन जनसंख्या बृद्धिभन्दा तीन गुणा बढी हो ।

इतिहास कोट्याउने हो भने ६०÷७० वर्षअघि इजरायल हामीभन्दा पछाडी थियो । हामी इजरायलको तुलनामा निकै सम्पन्न र वैभवशाली थियौँ । ७ दशकअघि इजरायलमा भोकमरी थियो । मानिसहरुले सीमित खाद्यवस्तुहरुमात्र किन्न सक्थे । यसका लागि सरकारले उनीहरुलाई कुपन दिन्थ्यो । हरेक परिवारले दैनिक २ लिटर दूध, ५ किलो पीठो, १० वटा मात्र अण्डा यस्तै–यस्तै धेरै सीमित खाद्यवस्तुहरुमात्र पाउँथे । इजरायलीसंग पानी थिएन । पानीका लागि धेरै खर्च गर्नुपथ्र्यो ।

काठमाडौंमा मानिसहरुले पानीका लागि हरेक महिना पचास वा सय रुपैयाँको हाराहारीमा तिर्ने गर्दछन् तर इजरायलका लागि यो त धेरै सस्तो थियो । इजरायलमा त मानिसहरुले घरायसी प्रयोगमा हरेक महिना १–२ सय अमेरिकी डलर तिर्नुपथ्र्यो । पानी अझै धेरै महँगो । यस्तो अवस्थामा कसरी कृषि विकास गर्ने ? यो विषय इजरायलीका लागि सानो चुनौति थिएन । यसका लागि इजरायलीले लामो समय मेहनत गरे । तर पनि त्यहाँका युवा विदेशिने सोच बनाएनन् । देश सरकारले मात्रै होइन आफै बनाउने हो भन्ने उनीहरुले ठहर गरे । आ–आफ्नो ठाउँबाट स्वदेशकै मरुभूमिलाई हरियाली बनाउने अत्यन्तै चुनौतिपूर्ण काममा खटिए । यदि उनीहरु उतिबेलै यूरोप र अमेरिकातिर जान सुरु गरेको हुन्थे त, आज त्यही बानी लाग्थ्यो र विकास त्यति नै पछि पथ्र्यो होला ।

सबैभन्दा महत्वपूर्ण कुरा अवधारणा वा सोच नै हो । त्यसपछि उर्जा र जाँगरका कुरा आउँछन् । कृषि रुची होइन, यो व्यवसाय हो । व्यवसायमा उपलब्धि हाँसिल गर्न लगानी गर्नैपर्छ । लगानी भनेको धन र श्रम दुवै हो । लगानी नगर्ने हो भने नाफा पनि हुँदैन भन्ने कुरा इजरायलीहरुले महशुस गरे । कृषिमा लगानीसंगै अथक मेहनत गरे । अन्ततः आधुनिक प्रविधि र प्रणालीको माध्यम अंगालेर ७ दशकभित्रै आफूलाई आवश्यक खाद्यवस्तु उत्पादन गरेर निर्यात पनि गर्न इजरायली सफल भए । आज इजरायलले आफु बाँचेर विश्वका धेरै देशलाई पालेको छ ।

हामीसँग के छैन ?
हाम्रो देश प्राकृतिक सम्पदाको धनी देश मानिन्छ । सानो मुलुक भए पनि हिमालदेखि तराईसम्मको हावापानीका कारण नेपालमा विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङग, चराचुरुङगी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । कृषिका लागि नेपाल अतिसंभावित राष्ट्रमा पर्दछ ।

नेपालमा कृषिले जनसङख्याको ७६ प्रतिशत जनसंख्या धानेको बताइन्छ । कुल गार्हस्थ उत्पादनको ३९ प्रतिशत योगदान रहेको छ । तर हामीसंग एउटा विडम्बना छ ।

७६ प्रतिशत किसान भएको कृषि प्रधान मुलुकले ८३ करोड अमेरीकी डलरको हाराहारीमा बार्षिक निर्यात गर्दा २ अर्वभन्दा बढीको आयात गर्छ । त्यसमा पनि कृषि उपज सामाग्री नै बढी आयात भएको पाइन्छ । कस्तो विडम्बना, तरकारी विदेशबाट किनेर खान्छौँ हामी । जसले नेपाली भूमिमा उत्पादनको संभावनालाई गिज्याइरहेको छ । नेपालसंग आधुनिक प्रविधिको पहुँच छैन भनेर पञ्छिने गरिन्छ । एकहदसम्म आधुनिक प्रविधिको अपर्याप्तता रहेको कुरा सत्य हो तर सोच वा अवधारणाको विकास र कार्यान्वयन हुन नसक्दा कृषिको विकास पछि परेको हो भन्ने कुरा उत्तिकै सत्य हो ।
विस्तारै हाम्रो मुलुक कृषिबाट विप्रेषणमा निर्भर हुँदै गएको छ । दिनमै २ हजारभन्दा बढी विदेशिरहेका युवाले विदेशी भूमिमा गई कमाएको पैसा अहिले अर्थतन्त्रको मेरुदण्ड बनेको छ । यद्यपी विप्रेषणलाई समग्र मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न नसकिरहेको अवस्था । हाम्रा बाउ बाजेदेखि गर्दै आएको खेतीलाई हामीले विस्तारै त्याग्दैछौँ । हाम्रा बाउ बाजे अहिलेको संख्यामा यसरी विदेश गएर कहिले जीवन चलाएनन् । उनीहरुले कुटिकोदालो गरेर यही भूमिमा उत्पादन गरेर जीवन चलाए । आज विज्ञान र प्रविधिले फड्को मारेर हामी यति पर पुगिसकेका छौँ तर खेतीलाई आधुनिकीकरण गरेर अघि बढ्ने हिम्मत गरिरहेका छैनाँै । हलिउडको रेम्बो र बलिउडको खानले लगाउने फेसन हामी टपक्कै अनुकरण गर्छौँ । जति नै खर्च गरेर भएपनि त्यस्तै देखिने प्रयास गर्छौँ । तर मुलुकको विकासको लागि हामीले अनुकरण गरेको खोइ ? के मुलुकको विकास अनुकरण गर्न सकिँदैन ? अरुले जस्तै हामीले प्रविधि भित्र्याउन वा हामीसंग भएका प्रविधिको प्रयोगबाट उत्पादन बढाउन सक्दैनौँ ? कृषि प्रधान मुलुक भन्ने अनि खेती गर्न चाहीँ यहूदी र मुसलमानको देशमा किन ? अर्बौँको तरकारी किन्नुपर्ने किन ? हामीलाई इतिहास, सम्भावना र बाझो भूमिले गिज्याइरहेको छ ।

हामी नेपालीको बानीजस्तै भईसक्यो कि कुनै पनि कुराको दोष राज्य वा सरकारलाई थोपर्ने । तर हामीले कहिले आफुलाई फर्केर हेरेनौँ । जसले गर्दा हामी निरन्तर ओरालिएका छौँ । मुलुकमा यतिका भूमिमा उत्पादनको प्रशस्तै सम्भावना छ । बारीमा झार उमारेर हामी सब्जी किन्न बजार जान्छौँ । त्यो बजारमा ल्याउने तरकारी पनि स्वदेशको भए त हुन्थ्यो, त्यो पनि विदेशबाट आयात हुन्छ । हामी खेत बाँझो राखेर २०÷५० हजार कमाउन विदेश जान्छौँ । अर्काको देशमा कुनै पनि काम गर्न तयार हुन्छाँै । त्यही श्रम हाम्रो मुलुकमा खर्च गर्न हामीलाई लाज लाग्छ । सरकारले उत्पादनमा लाग्न चाहनेलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रमहरु ल्याएको छ । गाउँ–गाउँमा लघुवित्त वित्तीय संस्थाहरु पुगिरहेका छन् । तर हामी खेत बेचेर विदेश जान्छौँ । जसको सबैभन्दा बढी असर हाम्रै सन्ततीले भोग्नुपर्ने छ ।

आज विदेशी एयरपोर्टमा नेपाली पासपोर्ट बाकेर हिँड्दा किन दुव्र्यवहार सहनुपर्छ । नेपालमा रहेको अमेरिकी दूतावास अगाडी गएर एकछिन उभियो भने तुरन्तै प्रहरी आएर हटाइदिन्छ । विदेशमा हाम्रा नेपाली दाजुभाईहरु अनेक बहानामा मारिएका छन्, लुटिएका छन्, श्रम शोषणमा परेका छन् । तर कुनै अमेरिकी नागरिकको नेपालमा आएर कालगतिले नै मृत्यु भयो भने त्यसबारे उच्चस्तरीय छानवीन समिति गठन हुन्छ । यो सब देशको मतबुती र त्यस देशको आर्थिक धरातल अनुसार हुने व्यवहारहरु हुन् । अब हामी युवाले अरुको भूमिमा गएर काम गर्दा गर्दै मर्ने कि यही देशमा स्वाधीन र सर्वोच्चताका साथ उद्यमी बन्नेतर्फ अग्रसर हुने ? हाम्रो सामु प्रश्न छ ।

आर्थिक विकासका लागि व्यवहारिक शिक्षा
हाम्रो शिक्षाले हामीलाई इतिहास सिकाउँछ । नाम, मिति, तिथि र माने कण्ठ गराउँछ । इजरायलमा मैले केही समय उत्तरी क्षेत्रमा पर्ने सी अफ ग्यालेलीस्थित किन्नरेट कलेजमा कृषि तालिम लिने मौका पाएको थिएँ । बेइत योसेफ भन्ने मोसफ क्षेत्रको विद्यार्थी नेताको रुपमा म त्यहाँ कार्यरत थिएँ । हरेक हप्ताको एक दिन कलेमा कृषिसम्बन्धी विभिन्न शीर्षकमा पढाई हुन्थ्यो । ग्रीन हाउस भन्ने च्याप्टर आयो । हामी कहाँ हो भने ग्रीन हाउसको लम्बाई, चौडाई, उचाई, दूरी, रंग, प्रकार यस्तै–यस्तै कुरा घोकाइन्थ्यो । तर त्यहाँ ग्रीन हाउस नै बनाउन सिकाइदो रहेछ । सम्बन्धी ठाउँमा लगेर ग्रीन हाउनको संरचना देखाई त्यसबारे वर्णन गरिदो रहेछ । सैद्धान्तिकमात्र नभएर व्यवहारिक ज्ञान दिइँदो रहेछ । नेपाल र इजरायलबीच शीक्षाको फरक यति पाएँ ।

भएर पनि नभएको देश
युवा शक्तिलाई देशको कर्णधार भनिन्छ । आज ४० लाखभन्दा बढी युवा शक्ति विदेश पलायन भएको छ । कोही काम गर्ने उद्देश्यले वा कतिपय पढ्ने बाहानाले देश छाडिरहेका छन् । यी युवाहरु कुनै न कुनै रुपमा अरुको देश बनाउने काममा खटिएका छन् । आफ्नो देश यहाँ प्रताडित छ । बार्षिक खर्बौँ व्यापार घाटाबाट गुज्रिरहेको छ । खेतीयोग्य भूमि प्लटिङ भईरहेको छ । अथाह भूमि बाँझो छाडिएको छ । दिनदिनै मुलुक परनिर्भर हुँदै गएको छ ।

अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीले हाम्रो अगाडी अझै ठूलो यथार्थप्रति हामीलाई अवगत गराएको छ कि हामी कति धेरै परनिर्भर भईसकेका छाँै भनेर । तर के हामी साँच्चै कमजोर हौँ त ? विलकुल होइन, हामीसंग सबैथोक छ । भूमि, प्राकृतिक अनुकुलता, जनशक्ति । तर हामीसंग जाँगर र हिम्मत देखिएन । काभ्रे जिल्लाले बार्षिक ७ अर्बभन्दा बढीको उत्पादन गरिरहेको छ । नुवाकोट, मकवानपुरले पनि केही मात्रामा उत्पादन गरेकै छन् । तर काठमाडौँले त्यसले नपुगेर भारतका बिहारी र उतर प्रदेशका कृषकले फलाएको सब्जी किनेर खानुपरेको छ । पूर्वको विराटनगरमा आलु समेत भारतबाट आयात भएको तीतो यथार्थ हाम्रा सामु छ । त्यत्रो जमिनमा झार उमारेर युवाहरु विदेश गएर कमाउँछन, त्यो पैसा घरमा पठाउँछन र त्यही पैसाले उनीहरुका परिवारले भारतमा फलेको आलु किनेर खान्छन् । कति विडम्बनापूर्ण यथार्थ छ, हामीकहाँ । हामीसंग भएको कुराको पनि हामी उपयोग र सदुपयोग गर्न सकिरहेका छैनौँ ।

यहाँ कतिपयले वातारण छैन, केही हुँदैन, केही छैन भन्ने तर्क पनि राखेको पाइन्छ । त्यसो त ७ दशक अघि इजरायलीसंग पनि त केही थिएन शिवास जाँगर र साहस । १०÷१५ वर्षअघि भुटान पनि त आर्थिक रुपमा हामीभन्दा पछाडी थियो । श्रीलंका, पाकिस्तान, अफगानिस्तान हामीजस्तै यद्धको धरातलबाट आएका मुलुक हुन् । यी मुलुकमा अझै पनि गृहयुद्ध चलिरहेकै छ । तर यिनीहरुको अर्थतन्त्र हाम्रोजस्तो कमजो छैन । धेरै टाढाको कुरा किन गर्ने, हाम्रो सामु भारतको गुजरात गतिलो उदाहरणको रुपमा छ । छोटो समयमा कृषिलाई एउटा गतिलो उद्योगका रुपमा स्थापना गरेर गुजरातले आफुलाई कति उदाहरणीय साबित गरिदिएको छ । यी कुराबाट हामी युवावर्ग, राजनीतिज्ञ र आम बुद्धिजिबीले नसिक्ने भने देश कहिले बन्छ ? सँधैभरी काँधमा झोला बोकेर विदेशिनुले हाम्रा सन्ततीको भविष्य सुनिश्चित हुन्छ ?

आर्थिक विकासमा नागरिक दायित्व
निश्चय पनि राज्यका केही कमी कमजोरी अवस्य छन् । सरकारले छुट्याउने कृषि अनुदान, युवा लक्ष्यित कार्यक्रहरु प्रभावकारी रुपमा लक्ष्यित वर्गसम्म पुग्न सकिरहेको पाइँदैन । यो त्यत्रो ठूलो संकट होइन । तर संकट यो हो कि, यी सब कार्यक्रम प्रभावकारी भएनन् भनेर देशमा भएको युवा जति विदेशिनु । देश र भविष्यका सन्ततीको माया गर्नेहरुले घोत्लनै पर्ने बेला हो । विप्रेषणले देश सँधैभरि चल्ने छैन । सन्ततीको भविष्य उज्जवल, स्वाधीन र सर्वोच्चतापूर्ण चाहने हो भने विदेश भागेर त्यो चाहाना पूरा हुनेवाला छैन । यही देशमा मेहनत गर्ने र यहीँ पैसा खोज्नुपर्ने बेला हो । देश बलियो भयो भने सन्ततिको भविष्य बलियो हुनेछ । देश बलियो भयो भने यूरोप र अमेरिकाको भिसा लाग्दा करोडौँको लोट्री परेजस्तो गरी दंग हुनुपर्नेछैन । यही देशको नागरिक भएकोमा गर्व गर्न सकिने छ । मजस्ता युवाले कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देश जानुपर्ने छैन । उनीहरु नै हामीकहाँ आउने छन् कृषि पढ्न र कृषि विकास हेर्न । तर त्यसको लागि युवा वर्ग नै लाग्नुपर्छ । लाग्ने भनेको विदेशिएर पक्कै होइन । यही देशको माटोलाई उपयोग गरेर । नेपालकै भूमिको प्रयोग गरेर । विदेशी भूमिमा बगाउने पसिना आफ्नै देशमा बगाएर । यी कुराहरु झट्ट सुन्दा वा पढ्दा अव्यवहारिक लाग्लान् तर युवा शक्ति विदेशिने क्रम नरोकिने हो भने मुलुकको विकास अन्य कुनै रणनीतिले पनि सम्भव हुनेछैन, भएपनि त्यो दिर्घकालीन हुनेछैन । युवा वर्गमा देशमै संघर्ष गर्ने प्रण र राजनीतिक दलमा युवा वर्गलाई अवसर सृजना गरी देश बनाउने प्रतिबद्दता नभएसम्म देश बनाउँछु भन्ने र बन्छ भनेर आस गर्नु व्यर्थ हुनेछ ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु