गृहपृष्ठ ‘राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा छुट्टै नियमावलीको आवश्यक छ’
‘राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा छुट्टै नियमावलीको आवश्यक छ’
पछिल्लो केही समययता गैंडाको मृत्यु र चोरीशिकारीका घटनाहरु बढ्दै गइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै १६ वटा गैंडा मृत फेला परेका छन् । प्राकृतिक विपत्ति, उमेर पुगेर, चोरीशिकारी आदि कारणले गैंडाको संख्या घटिरहेको छ । पछिल्ला वर्षहरुमा चोरी शिकारीबाहेक प्राकृतिक कारण वा दुर्घटनाले ४३ गैंडा मरेका छन् । गैंडा मर्ने क्रम बढेसँगै निकुञ्ज लगायतका अन्य निकायले संरक्षणका लागि कार्ययोजनाहरु बनाउन थालेका छन् । यस्तै विषयवस्तुमा आधारित रहेर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालसँग न्युजकारोबार डटकमकी बबिता तामाङले गरेको कुराकानी :
चितवन राष्ट्रिय निकुञ्जको विशेषता के हो ?
चितवन राष्ट्र निकुञ्ज ९ सय ५३ वर्गकिलोमिटरमा फैलिएको छ । यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । यस निकुञ्जलाई सन् १९८४ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । संसारको सबैभन्दा धेरै गैंडाको जनसंख्या चितवनमा छ । ५ सयभन्दा बढी प्रजातिका चराचुरुंगी छन् । यसबाहेक घडियाल, हात्ती, हरिण, बाँदर, चित्तल लगायतका प्राणीहरु यस निकुञ्जमा छन् । यो निकुञ्ज पर्यटनको हिसाबले पनि नेपालका विभिन्न लोकप्रिय स्थानमध्ये एक महत्वपूर्ण क्षेत्र हो । यसको अवस्थिति उचाइ तल्लो नदी उपत्यकामा १ सय मिटरदेखि चुरे पहाड क्षेत्रमा ८ सय १५ मिटरसम्म रहेको छ । यो निकुञ्ज जंगली सफारीको लागि पनि लोकप्रिय छ ।
प्राकृतिक कारणले पनि गैंडा मरिरहेका छन् । चोरीशिकारीले गैंडा मारेको घटनाहरु पनि छन् । पछिल्लो केही वर्षमा गैंडाको संख्या घटबढको अवस्था के छ ? घटबढ हुनुको कारण के कस्ता छन् ?
गैंडाको संख्या घढबढ के छ भन्नलाई गैंडा गणना हुनु जरुरी छ । २०१५ मा गैंडा गणना गरेका थियौं । गएको वर्षमा कोभिडको कारणले गैंडा गणना गर्न सकेनौं । अहिले घटबढ के छ भन्नेबारे अब यो वर्ष गणना गरेपछि थाहा हुन्छ । गैंडाको जीवनप्रक्रिया पनि मान्छेको जस्तै हो । मान्छे मरिरहन्छ, जन्मिरहन्छ । त्यस्तै केही गैंडाहरु मरिरहेका पनि छन्, केही उत्पादन पनि भइरहेको छ । पछिल्ला दिनहरुमा प्राकृतिक कारण, चोरी तस्करी बाहेकका अन्य कारणले पनि गैंडाको संख्या घटिरहेको छ । विगत वर्षमा केही गैंडाहरु बालीनालीमा लाग्ने रोगहरुको कारणले मरेको भन्ने थियो । अरु रोगहरुको बारेमा पूर्ण रुपमा जानकारी भएको छैन । गाउँघरमा विभिन्न रोगव्याधि हुनसक्छ, त्यही नै हो । सन् २०१५ मा गैंडा गणना गर्दा त्यतिबेला देशभरीमा ६४५ गैंडा थिए भने चितवन निकुञ्जमा ६०५ गैंडा थिए ।
गैंडा संरक्षणको लागि निकुञ्जले के कस्ता कार्ययोजनाहरु तयार वा लागू गरेको छ ?
गैंडा संरक्षणको लागि दुईवटा कुरा छन् । एउटा निकुञ्जभित्र संरक्षण गर्ने कुरा अर्को बाहिरको संरक्षण । भित्रको लागि निरन्तर सुरक्षा, जाँच र व्यवस्थापनका कुराहरु गरिरहेका छौं । नियमित घाँसे मैदान लगातार व्यवस्थापन गरिरहेका हुन्छौं । बाहिरको लागि सामुदायिक वनहरु, उपभोक्ता समितिमा भएको अभियानहरुलाई सक्रिय बनाउने प्रयास गरिरहेका छौं । लाईफ टाइम कन्ट्रोल ब्युरोहरुलाई सक्रिय बनाउने, प्रहरी प्रशासन, जनतालगायत सबैको सहयोग लिएर तस्करीहरुलाई नियन्त्रण गर्ने काम गरिरहेका छौं ।
गैंडा संरक्षणमा स्थानीय निकायको कति भूमिका हुन्छ ? स्थानीय निकाय यसप्रति कति संवेदनशील पाउनुहुन्छ ?
स्वाभाविक हिसाबले स्थानीय निकायको प्राथामिकता भनेको स्थानीय विकास, गरिबी निवारणका कुराहरु हुन् । स्थानीय निकायले गर्नुपर्ने धेरै कामहरु छन् । हामी संरक्षणका कुराहरु गर्छांै तर उहाँहरु नीति नियमका कुरा गर्नुहुन्छ । तर कतिपय अवस्थामा संरक्षण र व्यवस्थापनका कुराहरुमा सहयोग प्राप्त हुन्छ । सबैले गर्छन् भन्ने छैन । तर जसले यो गैंडा संरक्षणका मर्म बुझ्नु भएको छ, जसले यो महत्वपूर्ण छ, यो चितवनको गौरव हो भन्ने बुझ्नुभएको छ, उहाँहरुले गर्नुभएको छ । नबुझ्नेहरुलाई हामी बुझाउनको लागि सचेतनाका कार्यक्रमहरु गर्छाैं । अन्तर्क्रिया गर्छौं, बैठक बस्छौं । सहकार्यका अन्य कामहरु पनि गर्ने प्रयास भइरहेको छ ।
गैंडा संरक्षणमा मुख्य चुनौती र समस्याहरु के हुन् ? अब गैंडा संरक्षणका लागि सरकारले गर्नैपर्ने नीतिगत र व्यवहारिक कामहरु के हुनसक्छ ?
मूलभूत समस्या भनेको गैंडा संरक्षण नै हो । हाम्रो देश विकान्सोन्मुख राष्ट्र भएकाले स्रोतसाधन पर्याप्त छैन । त्यसका लागि पर्याप्त मानवीय स्रोतसाधन हुनु आवश्यक छ । साथै आर्थिक स्रोत साधन र भौतिक स्रोतसाधनमा पनि राष्ट्रले हेर्नुपर्ने हुन्छ । जनसमुदायहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय तहहरु, राजननीतिक दलहरु, अन्य सरकारी तथा गैरसरकारी निकाय लगायतको सहयोग उत्तिकै आवश्यक छ । यी कुराहरु अझ नीतिगत रुपमा व्यवस्थित र बलियो भएर आउनुपर्छ । साथै कर्मचारीहरुको मनोबल उच्च नराखीकन कार्य गर्न सकिँदैन ।
उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नुपर्छ, अग्रपंक्तिमा सधैँ तयार र तत्पर गर्नुपर्ने कुराहरु महत्वपूर्ण छन् । कार्यगत हिसाबले भन्ने हो भने राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा वन्यजन्तु संरक्षणसम्बन्धी छुट्टै एउटा नियमावलीको आवश्यकता पर्दछ । जसले गर्दा कुनै पनि आरक्षणमा खटिने कर्मचारीहरु ‘हामी अरुभन्दा पृथक हौं र हाम्रो दायित्व अरुको भन्दा धेरै छ’ भन्ने कुरा माथिल्लो निकायमा खट्किरहेको अवस्था छ, त्यसलाई बुझ्नु जरुरी छ ।
प्रकाशित समय १४:१६ बजे

















