गृहपृष्ठ सरकारले प्रक्रिया छोट्याएर असारभित्रै २० हजार कर्मचारी नियुक्त गर्ने
सरकारले प्रक्रिया छोट्याएर असारभित्रै २० हजार कर्मचारी नियुक्त गर्ने
अमडुवामा विद्यालय भवन र सडक शिलान्यास
सरकारले लोकसेवा आयोगका माध्यमबाट प्रक्रिया छोट्याएर २० हजार कर्मचारी नियुक्ति गर्ने तयारी गरेको छ । सुनसरीको अमडुवामा विद्यालय भवन र सडक शिलान्यास गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने, ‘छोटो प्रक्रियाबाट २० हजार कर्मचारी विज्ञापन गरेर नियुक्त गर्ने प्रक्रियामा सरकार छ ।’ असारभित्रै २० हजार कर्मचारी नियुक्त हुने भएकाले सबै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने उनको दाबी छ ।
मन्त्री पण्डितले सुनसरीको बर्जु गाउँपालिका–३, अमडुवामा विद्यालय भवन र कालोपत्रे सडकको शिलान्यास गरे । सरकारको तराई मधेस सम्मृद्धि कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको वडा नम्बर ३ मा ६० लाख रुपैयाँको लागतमा नेपाल राष्ट्रिय शिव माध्यमिक विद्यालयको दुईतले पक्की भवन र करिब २ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सोही वडाको २२ सय मिटर कालोपत्रे सडकको शिलन्यास गरेका हुन् ।
मन्त्री पण्डितले सरकारले तराई मधेसका आदिवासी, जनजाती, मधेसी र सीमान्तकृत समुदायको चौतर्फी विकासका लागि तराई मधेस समृद्धि कार्यक्रम लागू गरेको बताए । भूमिहीन र विपन्न वर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेसको समृद्धिका लागि सरकार लागिपरेको उनको भनाइ छ ।
कार्यक्रममा पूर्वराज्यमन्त्री भगवती चौधरीले निर्वाचनमा हारजित भए पनि आफ्नो पार्टीको सरकार रहेकाले सो क्षेत्रको विकासका लागि आफू सदैव लागिपरिरहेको बताइन् । ‘गणितीय हिसाबले निर्वाचनमा हारजित हुन्छ तर म निर्वाचनमा पराजित भएँ भन्दैमा यहाँको विकासबाट पछाडि हट्दिन,’ उनले भनिन्, ‘सधैं तपाईंहरुको साथमै रहेर विकासमा निरन्तर लागि रहनेछु ।’
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका नेता सत्यनारायण चौधरीले सरकारमा आफ्नो पार्टी रहेकाले तराई मधेसको समृद्धि र विकास अब कसैले रोक्न नसक्ने बताए । सुनसरी र मोरङलाई एकीकृत गरी बहुसांस्कृतिक संग्रहालय बनाउने योजना आफ्नो पार्टीको रहेकाले सो कामको प्रक्रियासमेत अघि बढाउने उनले जानकारी गराए ।
कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले राजनीतिक आस्थाकै आधारमा पहिलोपटक सरकारले विकासमा विभेद नगरेको आभाष भएको बताए । बर्जु–३ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले तराई मधेस समृद्धि कार्यक्रममार्फत बर्सेनि सो गाउँपालिकाका लागि बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।
प्रकाशित समय १६:५५ बजे


















