गृहपृष्ठ सर्लाहीमा हावाहुरीले लाखौंका आँप र लिचीमा क्षति
सर्लाहीमा हावाहुरीले लाखौंका आँप र लिचीमा क्षति
सर्लाही । पानीसँगै आएको हावाहुरीले सर्लाहीमा आप र लिची ठूलो क्षति पुर्याएको छ । अत्यधिक तीव्र गतिमा चलेको हावाहुरीले जिल्लामा लाखौं मूल्य बराबरको आँप र लिचीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सर्लाहीमा करिब १२ सय हेक्टर क्षेत्रफलमा आँप र ३ सय हेक्टर क्षेत्रफलमा लिची उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयमा तथ्यांक छ । हावाले झारेको आँप टिप्नेको बागवानीमा भीड लागेको थियो । यो वर्ष सर्लाहीको नेत्रगन्जस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा समेत हावाहुरीले आँप र लिची नष्ट गरेको छ । बागवानीमा ११२ विघा क्षेत्रफलमा आँप तथा १३ विघा क्षेत्रफलमा लिची लगाइएको छ । विगत वर्षभन्दा आँप र लिचीमा अत्यधिक फल लागेको यस वर्ष हावाहुरीले ५० प्रतिशत फल चिचिलामै झारेको बागवानी केन्द्रका प्रमुख भाग्य नारायण झाले बताए । ‘यो वर्ष केन्द्रले आँप र लिचीबाट राम्रो आम्दानी गर्ने सम्भावना थियो तर हावाहुरीले नराम्रोसँग फल झारिदियो’ झाले भने ।
प्रकाशित समय ०८:५१ बजे

















