गृहपृष्ठ बेलायतले पूर्वगोर्खा सैनिकको पेन्सन बढायो
बेलायतले पूर्वगोर्खा सैनिकको पेन्सन बढायो
बेलायतले पूर्वगोर्खा सैनिकहरूको सुविधा वृद्धिको घोषणा गरेको छ । बेलायती सशस्त्र सेनामन्त्री मार्क ल्यान्कास्टरले बिहीबार सन् २००७ भन्दा अघि भर्ना भएका पूर्वगोर्खा सैनिकहरूका लागि पेन्सन र अन्य सुविधा वृद्धि घोषणा गरेका हुन् ।
विगत केही समययता पूर्वगोर्खा सैनिकहरू आफ्नो पेन्सन सुविधामा विभेद भएको भन्दै आन्दोलनमा थिए । बेलायती सशस्त्र सेनामन्त्री मार्क ल्यान्कास्टरले गोर्खा ब्रिग्रेडका वार्षिक प्रतिवेदन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर फर्के लगत्तै यो घोषणा गरिएको हो ।
बेलायती रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार नयाँ गरिएको वृद्धिपछि १ करोड ५० लाख पाउन्ड अर्थात् करिब २ अर्ब २० करोड रुपैयाँ ‘गोर्खा पेन्सन स्किम’मा वृद्धि हुनेछ । सन् २००७ भन्दा अगाडि भर्ना भएका सबै पूर्वगोर्खा सैनिकहरूले आफ्नो परिस्थिति र सेवाअनुसार पेन्सनमा थप ३४ प्रतिशतसम्म वृद्धि भएको पाउने बेलायती रक्षामन्त्रालयले जनाएको छ ।
वृद्धि भएको पेन्सन सन् २०१६ को १ जनवरीका पुरानो मितिबाटै लागू हुने भन्दै बेलायती रक्षा मन्त्रालयले यसबाट यस आर्थिक वर्र्षमा पूर्वगोर्खा सैनिकहरूले ६ अर्ब ७० करोड रुपैयाँ अर्थात ४ करोड ६० लाख पाउन्डबराबरको पेन्सन पाउने जानकारी दिएको छ ।
यसबाहेक बेलायती रक्षमन्त्रालयले नेपालमा बस्ने पूर्वगोर्खा सैनिकको औषधोपचार सहयोगका लागि आउँदो १० वर्षभित्रमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात् २ करोड ५० लाख पाउन्ड खर्च गर्ने नयाँ योजना पनि घोषणा गरेको छ ।
नयाँ लगानी नेपालमा रहेका पूर्वगोर्खा सैनिकहरूका सहयोगका लागि काम गर्दै आएको गोर्खा कल्याणकारी कोषसँगको सहकार्यमा क्षेत्रीय स्तरमा स्वास्थ्योपचार सुविधाहरूका लागि खर्च गरिने जनाइएको छ ।
प्रकाशित समय १७:४४ बजे

















