गृहपृष्ठ जेठ १८ देखि २० सम्म काठमाडौंमा ‘हिमालयन ट्राभल मार्ट’
जेठ १८ देखि २० सम्म काठमाडौंमा ‘हिमालयन ट्राभल मार्ट’
काठमाडौं । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रूपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।
हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी १८ देखि २० जेठसम्म काठमाडौंमा मार्ट हुने जानकारी दिइएको हो ।
मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ । मार्टको कार्यकारी आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर रहेको छ ।
मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५० रहने र नेपालका व्यवसायीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
पहिलोपटक गत वर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी विदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय विक्रेताको सहभागिता थियो ।
पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रूपमा स्थापित गराउनुका साथै विश्वचर्चित ब्लगर्स, बायर्स र मिडियालाई जमघट गराई नेपाल प्रवद्र्धन गर्नु मार्टको मुख्य उद्देश्य भएको उल्लेख गरे ।
अन्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र पर्यटकको संख्या बढाउन तथा गन्तव्यको छविलाई सकारात्मक योगदान दिन मार्टले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक पु¥याउने योजनालाई सार्थक तुल्याउन आगामी रणनीति तय गर्न पनि मार्ट सहयोगी सिद्ध हुने उल्लेख गरे । उक्त मार्टका लागि करिव ७ करोड खर्च हुने बताइएको छ । यसमा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको छ ।
सरकारी नीति नियम कार्यान्वयनमा सहजता र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई प्रभावकारी योजनाका साथ पर्यटकीय पूर्वाधार विस्तार र प्रवद्र्धनात्मक गतिविधि बढाउन सके लक्ष्य हासिल गर्न सम्भव हुने अध्यक्ष शाक्यले बताए ।
मार्टको सम्पूर्ण तयारी पूरा भएको र यसपटक मार्टलाई विषय केन्द्रित बनाएर गुणस्तरीय बनाइने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढाले जानकारी दिए । उनका अनुसार मार्टको पहिलो दिन ‘द सस्टेनेबल रोड टु फाइभ मिलियन भिजिटर’ अवधारणाका साथ हिमालयन ट्राभल मार्ट कन्फरेन्स आयोजना गरिनेछ ।
दोस्रो दिन इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फरेन्स आयोजना गरिनेछ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक ब्लगर तथा मिडियाको सहभागिता रहनेछ । विद्युतीय बजार, व्यापार प्रवद्र्धन लगायतबारे छलफल हुनेछ । मार्टको तेस्रो दिन बिटुबी सेसनमा विश्वका स्थापित बायर्ससँग नेपाली व्यवसायीको जमघटमा व्यावसायिक प्रवद्र्धनको अवसर मिल्नेछ ।
मार्टमा विश्व पर्यटन बजारका नयाँ तथा पुराना सशक्त टुर अपरेटरहरूलाई क्रेताका रूपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलायन्सलगायत अन्य पर्यटकीय सेवा प्रदायक विक्रेता कम्पनीसँग व्यावसायिक भेटघाटका साथै बिटुबी मिटिङको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । रासस
प्रकाशित समय ०९:१० बजे

















