गृहपृष्ठ प्याराग्लाइडिङको काम कारवाहीको अधिकार हवाई खेलकुद संस्थालाई
प्याराग्लाइडिङको काम कारवाहीको अधिकार हवाई खेलकुद संस्थालाई
लाइसेन्स जारी गर्नेदेखि कम्पनी निलम्वनको सिफारिसको अधिकार
नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको अधिकांश काम कारवाहीको अधिकार प्राप्त गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूमा निहित अधिकांश प्याराग्लाइडिङ सम्बन्धि अधिकार दिएकाले उक्त संस्थाबाट अब प्याराग्लाइडिङसम्बन्धि अधिकांश काम कारवाही हुने भएको हो ।
क्यानका उप–महानिर्देशक राजन पोख्रेलले हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीलाई बुधबार पोखरामा आयोजित एक समारोहका बिच उक्त अधिकार प्रत्यायोजनको प्रमाण–पत्र हस्तान्तरण गरे । प्याराग्लाइडिङको राम्रोसँग अनुगमन र नियमनकारी निकायको प्रभावकारी भुमिका नहुदा पोखरा क्षेत्रमा प्याराग्लाइडिङमा दुर्घटना बढ्दै गएका वेला क्यानले यस सम्बन्धि अधिकांश अधिकार नालाई प्रत्यायोजन गरेको हो ।
क्यानका उप–महानिर्देशक पोख्रेलले प्याराग्लाइडिङ सम्बन्धि धेरै अधिकार क्यानले नालाई प्रत्यायोजन गरेकोले थप व्यबस्थित र मर्यादित हुने विश्वास व्यक्त गरे । नाका सिइओ भण्डारीले आफुहरुले पाएको अधिकारलाई सहि ढंगबाट प्रयोग गरी पोखराको प्याराग्लाइडिङलाई ब्यबस्थित पार्ने बताए ।
क्यानले नालाई प्याराग्लाइडिङ सम्बन्धि लाइसेन्स जारी गर्ने, नविकरण र निलम्वनसम्म गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको हो । कम्पनी ईजाजतको अनुमती, नविकरण, निलम्वन तथा खारेजीको नाले क्यानलाई सिफारिस गर्न सक्ने छ । मूल्य एकरुपता कायम गरी, सुरक्षित उडानको लागि स्लट सिस्टम संचालन गरिने नाका सिइओ भण्डारीले बताए । उक्त अधिकार प्राप्त भएसंगै नाले दैनिक रुपमा अनुगमन तथा दुर्घटना न्यूनिकरणमा लाग्ने उनले बताए । सोलो प्याराग्लाइडिङ पाईलटहरुको हकमा भने कुनै कम्पनीले नाबाट सिफारिस लिएर मात्र नागरिक उडड्य कार्यालय पोखरामा उडान अनुमती लिन जानु पर्ने व्यबस्था गरेको छ । राज्यलाई दिने शुल्क तथा करको बिषय भने सम्बन्धित निकायमै कम्पनी तथा प्याराग्लाइडिङ पाईलटहरुले बुझाउनु पर्छ ।
प्याराग्लाइडिङको निमनकारी निकाय नालाई बनाएसंगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए । आगामी वैशाखदेखि पोखरामा हुने प्याराग्लाइडिङलाई व्यबस्थित पार्न नयाँ मूल्य सहित नयाँ ढंगले अघि बढ्ने उनले बताए । पोखरामा हुने प्याराग्लाइडिङलाई नियमन गर्न नाले अधिकार पाएसंगै अब भने आफुहरुलाई प्याराग्लाइडिङ सम्बन्धि धेरै समस्या नआउने उनको भनाइ छ । सामान्य दुर्घटनाको छानविन गर्नसमेत नाले अधिकार पाएको छ । ठूला प्रकृतिका दुर्घटनाको बिषयमा भने क्यानले हेर्ने छ ।
प्रकाशित समय १९:१६ बजे

















