गृहपृष्ठ लगानी सम्मेलनपछि अब विकास वर्ष सुरु : प्रधानमन्त्री ओली
लगानी सम्मेलनपछि अब विकास वर्ष सुरु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा दुई दिनसम्म चलेर शनिबार सम्पन्न भएको लगानी सम्मेलन आफैंमा परिपूर्ण सफलताको सम्मेलन भएको बताएका छन् । उनले सम्मेलनबाट विश्व बैंकसहित विभिन्न विदेशी राष्ट्रहरुबाट लगानी प्रतिबद्धता आएको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले अनर्गल प्रचार गरिरहेको जिकिर गरे ।
‘मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढेको छ,’ प्रधानमन्त्रीले भने, ‘गएको वर्षलाई सरकारले आधार वर्ष मानेको र आधार वर्षमा समेत ८ प्रतिशतको वृद्धिदर हुनु सकारात्मक छ ।’ उनले लगानी सम्मेलनसम्म आइपुग्दासम्मको समयलाई सरकारले आधार वर्षको रुपमा लिएकाले अब विकास वर्ष सुरु हुने बताए । यो अवधिमा सरकारले कानुन संरचना र लगानीको आधार तयार पार्न खर्चिएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले विप्लव समूह कतै दर्ता भएको वैधानिक पार्टी नरहेकाले त्यसको अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको प्रस्ट पारे । विप्लव समूहमाथिको प्रतिबन्धलाई पार्टीमाथि लगाइएको प्रतिबन्धका रुपमा लिन नहुने उनको भनाइ थियो । विप्लव नेकपाका कार्यकर्ता रिहा भएको प्रसंगतर्फ लक्षित गर्दे प्रधानमन्त्रीले अदालतमा कुनै पनि प्रकारको हस्तक्षेप नरहेको र अदालतले कानुनसम्मत् नियमित आफ्ना काम गर्दै आएको जिकिर गरे । प्रधानमन्त्री ओली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार प्रदेश १ आएका हुन् ।
प्रकाशित समय १६:३० बजे

















