गृहपृष्ठ शतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्य

शतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्य

देशभर ‘हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय भर्ना गराउँ’ भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना अभियान सुर्खेतमा पनि शुरु भएको छ । शतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्यसहित सोमबारदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको जिल्ला शिक्षा इकाइ समितका भोजप्रसाद लम्सालले बताए ।

विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सबै स्थानीय तहहरुले विशेष सूचना जारी गरेका छन् । उनले भने ‘ विद्यार्थी भर्ना अभियान तीन चरणमा गरिने योजना छ । पहिलो चरणमा विद्यार्थी भर्नाको लागी आह्वान गरिनेछ । दोस्रो चरणमा घरदैलो कार्यक्रम गरिनेछ । ’ भर्ना आह्वान र घरदैलो कार्यक्रमपछि पनि विद्यार्थी छुटेको खण्डमा फेरी पनि स्थानीय तह तथा विद्यालयले विद्यार्थी भर्ना सम्बन्धि आह्वान गर्नेछन् ।

‘सुर्खेत जिल्लामा करिब १/२ प्रतिशत मात्र विद्यालय बाहिर होलान् । शिक्षाबाट कुनैपनि बालबालिका नछुटुन् भन्नको लागि शतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेका छौं । यसमा अभिभावकहरुको समेत सहयोग चाहिन्छ’ उनले भने । विद्यार्थी भर्ना भइसकेपछि बीचमै छोड्नुपर्ने बाध्यता भएका बालबालिकाहरुलाई गत वर्षजस्तै अभिभाबकत्व ग्रहण गराउने तथा स्टेशनरी प्रदान गर्ने तयारी गरेको उनले बताए ।

उनका अनुसार विपन्न बालबालिकाहरुका लागि छात्रबृत्तिका कार्यक्रमहरु समेत रहेका छन् । पाठ्यक्रम खरिदका लागी सबै स्थानीय तहहरुमा रकम पठाइएसकेको जानकारी समेत लम्सालले दिए । उनका अनुसार सुर्खेत जिल्लामा पाठ्यक्रमको अभाव छैन । जिल्लाभर सामुदायिकतर्फका करिब ५ सय बढी प्राथमिक विद्यालय र संस्थागत तर्फका १ सय ४० विद्यालय रहेका छन् ।

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु