गृहपृष्ठ प्रधानमन्त्रीको तलबभत्ता एक लाख, पीएको ५८ हजार
प्रधानमन्त्रीको तलबभत्ता एक लाख, पीएको ५८ हजार
मन्त्रीका भ्रमणमा तोकियो सीमा
देशका प्रधानमन्त्रीको तलबभत्ता झन्डै मासिक करिब एक लाख पुगेको छ भने प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव अर्थात पीएले मासिक झन्डै ५८ हजार रुपैयाँ तलबभत्ता पाउँछन् ।
अर्थमन्त्रालयले हालैमात्र संशोधन गरेको दरबन्दी तथा तलबभत्ता विवरणअनुसार प्रधानमन्त्रीको मासिक तलबभत्ता ९४ हजार २८० रुपैयाँ छ, जसमध्ये खुद तलब ७७ हजार २८० रुपैयाँ हो भने महँगी भत्ता २ हजार, सञ्चार सुविधा ५ हजार र मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ पाउँछन् । यसैगरी मासिक ३०६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल पनि प्रधानमन्त्रीले पाउने सुविधाभित्र तोकिएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव र सचिवालयमा रहने कर्मचारीहरूको दरबन्दी र तलबभत्ता पनि मन्त्रिपरिषद्को स्वीकृतिअनुसार परिमार्जन गरिएको छ । जसअनुसार प्रमुख स्वकीय सचिवको तलब मासिक ५७ हजार ७८०, स्वकीय सचिवको तलब ५१ हजार ४२०, सह स्वकीय सचिवका तलब ४० हजार १५०, उप स्वकीय सचिवको ३४ हजार २२०, स्वकीय अधिकृतको ३० हजार ५००, फोटोग्राफरको ३० हजार ५००, ड्राइभरको १८ हजार ३४० र पियनको १६ हजार २३० रुपैयाँ तलब छ ।
यसैगरी उपप्रधानमन्त्रीको तलबभत्ता ७७ हजार ३२० रुपैयाँ पुग्छ, जसमा तलब ६५ हजार २००, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार र मासिक मसलन्द तथा अतिथि सत्कारबापत ४ हजार रुपैयाँ पाउँछन् । यसैगरी मासिक ३०६ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल पनि उपप्रधानमन्त्रीले पाउने सुविधाभित्र तोकिएको छ ।
यस्तै, मन्त्रीको तलबभत्ता ६९ हजार ४०० रुपैयाँ छ, जसमा तलब ६० हजार ९७०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार र मासिक मसलन्द तथा अतिथि सत्कारबापत ३ हजार ५०० रुपैयाँ पाउँछन् । यसैगरी मासिक २०७ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल पनि उपप्रधानमन्त्रीले पाउने सुविधाभित्र तोकिएको छ ।
राज्यमन्त्रीको तलबभत्ता ६५ हजार ८०० रुपैयाँ छ, जसमा तलब ५७ हजार ७८०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार र मासिक मसलन्द तथा अतिथि सत्कारबापत ३ हजार रुपैयाँ पाउँछन् । यसैगरी मासिक २०० लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल पनि उपप्रधानमन्त्रीले पाउने सुविधाभित्र तोकिएको छ ।
सहायक मन्त्रीको तलबभत्ता ६६ हजार ९९० रुपैयाँ छ, जसमा तलब ५६ हजार ४९०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ३ हजार र मासिक मसलन्द तथा अतिथि सत्कारबापत २ हजार ५०० रुपैयाँ पाउँछन् । यसैगरी मासिक २०० लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल पनि उपप्रधानमन्त्रीले पाउने सुविधाभित्र तोकिएको छ ।
मन्त्रीका भ्रमणमा तोकियो सीमा
प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्मले देशभित्र भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् भने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले भ्रमणभत्ता दैनिक ३ हजार र स्वकीय सचिवले दैनिक २५०० पाउने व्यवस्था गरिएको छ । यस्तै, उपप्रधानमन्त्रीका स्वकीय सचिवले २ हजार, मन्त्रीका स्वकीय सचिवले १६००, राज्यमन्त्री र सहायक मन्त्रीका स्वकीय सचिवले १६०० दैनिक भ्रमणभत्ता पाउने व्यवस्था गरिएको छ ।
मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा प्रधानमन्त्रीको स्वीकृति लिनुपर्ने, भ्रमण दल सकेसम्म सानो बनाउनु पर्ने, भ्रमण दलमा स्वकीय सचिवालयका एक, मन्त्रालयका एक र सुरक्षाकर्मी एक गरी तीनजनामात्रै समावेश गर्नुपर्ने, एउटा जिल्लामा दुई दिनभन्दा बढी बस्न नपाइने निर्णय गरिएको छ ।
अर्थमन्त्रालयले बनाएको कार्यसञ्चालन दिग्र्दशनअनुसार सात दिनभन्दा बढीको भ्रमणमा होटल बासको एक चौथाइमात्र भुक्तानी गरिने र सात दिनभन्दा बढीको भ्रमणमा ५६ प्रतिशतमात्र भ्रमण भत्ता उपलब्ध गराउने उल्लेख छ ।
यस्तो छ प्रधानमन्त्री र मन्त्रीहरूका तलबभत्ता

प्रकाशित समय १३:४८ बजे

















