गृहपृष्ठ महिला पत्रकार सगरमाथा चुचुरोमा

महिला पत्रकार सगरमाथा चुचुरोमा

काठमाडौं- प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय समाचार समितिकी पत्रकार रोशा बस्नेतसहितको समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । मोरङ निवासी राससकर्मी बस्नेत रासस केन्द्रिय कार्यालयमा अंग्रेजी समाचार सम्पादन शाखामा कार्यरत छिन् ।
आज ८,८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), राससकर्मी बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् ।
‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित महिला पत्रकार समूह आरोहणमा गएको थियो । उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्याएका छन् । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको यो याम सकिन लागेको छ ।
अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । आजसम्म ३ सय ४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । रासस ।

प्रकाशित समय १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु