गृहपृष्ठ ऊर्मी
ऊर्मी
केवल समय मात्र
यतिबेला सूत्रबद्ध छ
छैनन् मत्स्यगन्धा जस्ता
कुनै सत्यवतीहरू
कोही हुन सकेनन्
कृष्णद्वैपायनको पराशर
ऊर्मी तिमी नै हौ
जगत कि ईश्वरीय ऋचा
ज्ञान, विज्ञान र तत्त्वदर्शी कि त्रिवेणी
शाश्वत सत्य नै हो
बन्दैनन् ऋषिबिनाका ऋचाहरू
जन्मदैनन् ऊर्मी बिनाका व्यास र बुद्ध
ऊर्मी तिमी नै हौ
सृष्टिको सूत्रबद्ध रचना
म लेखाउन सक्दिन
स्वनाम धन्य विद्वानहरुबाट
वेद र अठार पुराण
मलाई उनान्तिसौं व्यास चाहिएको छ
छैटौं बुद्ध चाहिएको छ
मेरी प्रिय ऊर्मी
के तिमी मलाई दिन सक्छ्यौ
यो कल्पमा एउटा अर्को व्यास र बुद्ध ?
ऊर्मी म तिमीबाट
दीक्षित हुन चाहन्छु
तिम्रै गर्भमा छन्
वाङ्ममय स्वरुप
म यो कल्पको पराशर भएर
उपहार दिन चाहन्छु
ज्ञान पुञ्जहरू
ब्रह्मसूत्रले युक्त बनाएर
तिमीबाटै जन्माउन चाहन्छु
दुई मेधावी सन्तान ।
(ऋषभदेव घिमिरे, गोदावरी)
हाल : संयुक्त राज्य अमेरिका
प्रकाशित समय १४:०३ बजे

















