गृहपृष्ठ दार्चुलाका स्थानीयवासी विद्युत् सेवाबाट वञ्चितः पाँच वर्षमा पनि बत्ती बलेन

दार्चुलाका स्थानीयवासी विद्युत् सेवाबाट वञ्चितः पाँच वर्षमा पनि बत्ती बलेन

दार्चुला- दार्चुलामा ग्रामीण विद्युतीकरणको काम सुरु भएको पाँच वर्ष पुगे पनि अझै बत्ती बलेको छैन । जसको कारण ग्रामीण क्षेत्रका जनता अँध्यारोमा बस्न बाध्य छन् ।
केही दिनअघि नेपाल विद्युत् प्राधिकरणले देश लोडसेडिङमुक्त भएको घोषणा गरे पनि दार्चुलाका अधिकांश ग्रामीण भेगका नागरिक अझै अन्धकारमा बस्न बाध्य छन् । प्राधिकरणले आर्थिक वर्ष २०७०÷७१ बाट सुरु गरेको ग्रामीण विद्युतीकरण अझै पूरा हुन नसकेको हो ।
प्राधिकरणले समयमै उपकरण उपलब्ध नगराउँदा निर्माण कार्य अहिलेसम्म पूरा हुन नसकेको वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
हाल आएर पोल र तारहरू उपलब्ध भए पनि बत्ती बाल्न आवश्यक ट्रान्सफर्मर र च्यानलहरू नआउँदा विद्युतीकरणको काम भएको ठाउँमा समेत बत्ती बाल्न नसकिएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताए ।
दार्चुलामा आर्थिक वर्ष २०७०÷७१ देखि विद्युतीकरणका लागि हालसम्म पाँचवटा मात्रै ट्रान्सफर्मर आएका छन् । दार्चुलाका विभिन्न भागबाट ५० बढी ट्रान्सफर्मर माग गरिएको छ । विद्युतीकरण सुरु भएदेखि हालसम्म सबै ठेक्कामा ट्रान्सफर्मरको अभाव हँुदा काम गर्न नसकिएको निर्माण व्यवसायीको समेत गुनासो छ ।
आर्थिक वर्ष २०७१÷७२ मा दार्चुलाका साबिकका २४ गाविसमा विद्युतीकरण गर्ने भन्दै टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डरका दुईवटा ठेक्काबाहेक अन्यत्र काम सम्पन्न भए पनि ट्रान्सफर्मर नहुँदा रित्तै पोलहरू ठड्याइएको छ । च्यानल, ट्रान्सफर्मरलगायतका अत्यावश्यक उपकरणहरू वर्षांैदेखि प्राधिकरणले ठेकेदारलाई उपलब्ध गराउन नसक्दा निर्माण कार्य लम्बिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले जिल्लाका पाँचवटा गाउँपालिका र नगरपालिकामा विद्युत् प्राधिकरणको लाइन पु¥याउने उद्देश्यअन्तर्गत आर्थिक वर्ष २०७०÷७१ मा १ करोड ५० लाख, अधुरो ग्रामीण विद्युतीकरणका लागि १ करोड ५० लाख गरी ३ करोड बजेट विनियोजन गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१÷७२ मा ग्रामीण विद्युतीकरणका लागि १ करोड ५१ हजार तथा अधुरो ग्रामीण विद्युतीकरणका लागि २६ लाख २२ हजार बजेट विनियोजन भएको थियो ।
दुवै आर्थिक वर्षको ४ करोड २६ लाख ७३ हजार रुपैयाँबाट २४ गाविसमा विद्युतीकरण गर्न १७ प्याकेजमा टेन्डर आह्वान भएको हो । पछि दुईवटा टेन्डरको काम स्थगित भएर १५ टेन्डरमा कामको सम्झौता भएको थियो । त्यसपछि पनि विद्युतीकरणको क्षेत्रमा निरन्तर करोडांै बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युत् क्षेत्रमा काम गर्न ५ करोड बढी बजेट विनियोजन भएको छ ।
विद्युत् प्राधिकरणमा बर्सेनि करोडांै बजेट आए पनि काम भने पूरा हुन सकेको छैन । टेन्डर भएको केही क्षेत्रमा काम भए पनि बाँकी क्षेत्रमा उपकरण नै नपाएपछि काममा ढिलाइ भएको वितरण केन्द्र दार्चुलाले जनाएको छ । दार्चुलाको नौगाड गाउँपालिका र अपी हिमाल गाउँपालिकाबाहेक विद्युतीकरण गर्न आर्थिक वर्षमा समेत बजेट विनियोजन गरिएको छ ।
अहिले स्थानीय तहहरूले मार्मा गाउँपालिकाको पारिबगर, नौगाड गाउँपालिकाको जामिरलगायतका क्षेत्र तथा अन्य आवश्यक ठाउँका लागि ट्रान्सफर्मरका लागि प्रदेश सरकारलाई समेत गुहार गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए ।
छुट भएका र विद्युत् पहुँच नभएका क्षेत्रमा प्रदेश सरकारमार्फत बजेट विनियोजन गरी काम अघि बढाउन आग्रह गरिएको धामीले बताए ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु