गृहपृष्ठ न्युरोड क्षेत्रमा मोबाइलबाटै पार्किङ बुकिङ गर्न सकिने, विद्यासुन्दर शाक्यले गरे उद्घाटन

न्युरोड क्षेत्रमा मोबाइलबाटै पार्किङ बुकिङ गर्न सकिने, विद्यासुन्दर शाक्यले गरे उद्घाटन

काठमाडौंको व्यस्त न्युरोड क्षेत्रमा मोबाइलबाटै पार्किङ बुकिङ गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु गरेको हो ।

ह्विल्स ट्रुली योर्ससँगको सहकार्यमा सुरु भएको सेवाको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले केहीबेर अघि उद्घाटन गरेका छन् । पहिलो चरणमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिने महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार स्मार्ट पार्किङ स्टेसनमा एकपटकमा करिब ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिनेछ ।

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्रअनुसार शुल्क निर्धारण गरिएको छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । पार्किङ बुकिङ गर्न ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु