गृहपृष्ठ सरकारी जग्गा परिवारको नाममा पास गर्ने १६ जना विरूद्ध भ्रष्टाचार मुद्दा
सरकारी जग्गा परिवारको नाममा पास गर्ने १६ जना विरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । जुम्लाको गुठीचौरमा रहेको भेडाबाख्रा फार्मको ५९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृत न्यौपानेसहित १६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो
न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको अख्तियारको ठहर छ । न्यौपानेसँगै मालपोत कार्यालय जुम्लाका खरिदार एवं अहिलेको मालपोत कार्यालय चाबहिलका नायब सुब्बा विजय शर्मा न्यौपाने र भेडा बाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर जुम्लाका तत्कालीन कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठलाई जनही ४५ लाख रुपैयाँ बिगो तोकिएको छ ।
जग्गा दर्ता गरी लिने हरिहर न्यौपानेलाई २ लाख २५ हजार बिगो तोकिएको छ । मुनीशचन्द्र न्यौपाने, मायालाल न्यौपाने विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने र कविदत्त न्यौपानेलाई जनही ३ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै, विष्णु न्यौपानेलाई ४ लाख ९५ हजार, पार्वती न्यौपानेलाई ५ लाख २२ हजार, गोमा न्यौपानेलाई ५ लाख २७ हजार, देवेन्दप्रसाद उपाध्यायलाई १ लाख ९९ हजार, केशवराज न्यौपानेलाई २ लाख र जानकीदत्त देवकोटालाई ३० हजार रुपैयाँ बिगो तोकिएको छ ।
उनीहरुलाई जनही १० वर्ष कैद सजाय र जग्गाको मूल्यबराबरको बिगो र जरिबाना तोकिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित समय ०६:५३ बजे

















