गृहपृष्ठ टि-सर्ट बन्यो एमयू वार्षिक उत्सवको बाधक
टि-सर्ट बन्यो एमयू वार्षिक उत्सवको बाधक
नवौं वार्षिकोत्सव सञ्चालन गरिरहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्पोन्सरले दिएको टि-सर्टको कारण विवादमा चुलिएको छ । काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि-सर्टमा विज्ञापन गरेको भन्दै विद्यार्थीले वार्षिकोत्सव विथोल्लनका लागि आन्दोलन गरेका छन् ।
आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ । आन्दोलनमा सहभागीमध्ये १६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीले विश्वविद्यालय कार्यक्रमस्थलमै नाराबाजी र ढुंगामुडा गरेका थिए ।
वार्षिकोत्सव मनाउने वहानामा राजधानीको निजी कलेजको विज्ञापन गरेकाले आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी रतनकुमार शर्माले बताए । नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइ चाँडोभन्दा चाँडो नभए सुर्खेत जिल्ला नै बन्द गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।
झडपमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार प्रहरी जवान सुरेन्द्र महत घाइते भएका हुन् ।
प्रहरीले आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्रबहादुर शाही, अखिल क्रान्तिकारी केन्द्रीय सचिव अमरजंग शाही, अनेरास्ववियु केन्द्रीय अनुसासन आयोग सदस्य नवीन योगी, नेबिसंघ नेता राजन विक, न्युटन ओली, नेता महेन्द्र थापा, सरोज न्यौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारीलगायतलाई नियन्त्रणमा लएको छ । आन्दोलनरत विद्यार्थीले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छन् । कार्यक्रम भइरहेको सभाहलमा विद्यार्थीलाई प्रवेश निधेष गरिएको छ ।
आन्दोनरत विद्यार्थीले गिरफ्तार गरिएका विद्यार्थीलाई तत्काल बिनासर्त रिहाको माग गरे पनि विश्वविद्यालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । प्रदेश प्रमुख दुर्गाकेशर प्रमुख अथितिसहित मञ्चको कार्यक्रम गर्ने तयारी गरेको विश्वविद्यालयको वार्षिकोत्सव यतिबेला बन्द कोठामा विद्यार्थीको अनुपस्थितिमै चलिरहेको छ ।
प्रकाशित समय १७:०० बजे

















