गृहपृष्ठ कुन मुलुकसँग कति परमाणु हतियार ?
कुन मुलुकसँग कति परमाणु हतियार ?
विश्वमा आणविक अस्त्र निःशस्त्रीकरणको आवाज उठिरहेका बेला परमाणु हतियारसम्पन्न देश आफ्ना अस्त्र आधुनिक बनाउन लागिपरेका छन् । यद्यपि, परमाणु हतियारको संख्यामा कमी आइरहेको विभिन्न अध्ययनले देखाएका छन् । विश्वका कुन देशसँग कति परमाणु हतियार छ त ! यस विषयमा चर्चा गरौं ।
अहिले पनि ९ देशसँग परमाणु हतियार छन् । अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग परमाणु हतियार छन् । अन्तर्राष्ट्रिय स्तरमा हतियारको अभिलेख हेर्ने वा अध्ययन गर्ने संस्था स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिपरी) को अनुमानअनुसार २०१९ को प्रारम्भमा विश्वमा परमाणु हतियारको संख्या १३ हजार ८६५ थियो । यो आँकडामा तैनाथ गरिएका सबै हतियार गनिएका छन् ।
सिपरीको ताजा रिपोर्टका अनुसार विश्वका परमाणु शक्ति सम्पन्न देशहरु आफ्नो हतियारलाई आधुनिक बनाउने उपक्रममा निरन्तर लागे पनि संख्याचाहिँ घटाइँदै छ । एक वर्षअघिको तुलनामा परमाणु हतियार संख्या ६ सय घटेको छ । अमेरिका र रूसबीच सम्पन्न स्टार्ट सन्धि अनुसार दुवै देशले आफ्ना परमाणु हतियार घटाएका हुन् । रूससँग हाल ६ हजार ५०० परमाणु हतियार छन् भने अमेरिकासँग ६ हजार १८५ परमाणु हतियार बाँकी छन् । यीमध्ये एक चौथाइ हतियार तैनाथ गरिएको छ ।
स्टार्ट सन्धिको अवधि सन् २०२१ सकिँदै छ । दुवै देशले हालसम्म यसलाई अगाडि बढ़ाउनेबारे छलफल सुुरु गरेका छैनन् । सिपरीका परमाणु निरस्त्रीकरण, हतियार नियन्त्रण र गैरप्रसारण कार्यक्रमका निर्देशक सैनन किलका अनुसार यदि दुवै देशबीच राजनीतिक र सैन्य मतभेद कम नभएमा रूस र अमेरिकाले गरेको परमाणु हतियार घटाउने अभियान कमजोर हुन सक्छ ।
सिपरीको रिपोर्टअनुसार रूस र अमेरिका दुवै देश आफ्ने परमाणु अस्त्रागार, मिसाइल र आपूर्ति परियोजन आधुनिक बनाउने खर्चिला व्यापक कार्यक्रम चलाउँदै छन् ।
दक्षिण एसियाका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि आफ्ना परमाणु योद्धाहरु बढाउँदै छन् । भारतसँग १३० देखि १४० र पाकिस्तानसँग १५० देखि १६० परमाणु हतियार रहेको अनुमान गरिएको छ । उनीहरु पनि नयाँ प्रविधि विकास गर्ने योजना पनि बनाउँदै छन् । भारत र पाकिस्तान आगामी दशकमा आफ्नो सैन्य र परमाणु हतियारको भण्डार बढाउने गरी उत्पादन क्षमता बढाउन जुटेका छन् ।
सिपरीको रिपोर्टअनुसार उत्तर कोरियासँग २० देखि ३० परमाणु हतियार छन् । उत्तर कोरिया आफ्नो देशको सुरक्षाका लागि रणनीतिक रूपमा ती हतियारलाई अति आवश्यक मान्छ । उत्तर कोरियाले अमेरिकासँग परमाणु निरस्त्रीकरण वार्ता सुरु सुरु गरेपछि कुनै परमाणु हतियार वा लामो दूरीको बैलेस्टिक मिसाइल परीक्षण गरेको छैन । अन्यत्र फ्रान्ससँग ३ सय, चीनसँग २९०, बेलायतसँग २ सय इजराइलसँग ८० देखि ९० परमाणु हतियार छन् । (एजेन्सीको सहयोगमा)
प्रकाशित समय १४:११ बजे

















