गृहपृष्ठ ओली सरकारले भ्रमणमै सक्यो डेढ अर्ब

ओली सरकारले भ्रमणमै सक्यो डेढ अर्ब

राष्ट्रपतिको भ्रमणमा ८ करोड, मोदीको सत्कारमा ६ करोड

ko-oli-brahaman-newskarobar

सत्तारोहण गरेको १७ महिना पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै युरोपको भ्रमण गरेर फर्केका छन् । गत वर्ष फागुन ३ गते सत्तारोहण गरेलगत्तै भारत भ्रमणबाट सुरु भएको प्रधानमन्त्री ओलीको यो सबैभन्दा पछिल्लो विदेश भ्रमण हो ।

यसभन्दा अलि अघिमात्रै उनी भियतनाम र कम्बोडिया तथा भारत पुगेका थिए । कूटनीतिक हिसाबले कम प्राथमिकतामा रहेको  भियतनाम र कम्बोडिया जाँदामात्र २ करोड १३ लाख रुपैयाँ खर्च गरेका प्रधानमन्त्रीले युरोप भ्रमणमा कति खर्च गरे, त्यसको विवरण भने आउन बाँकी नै छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएको १७ महिनामा भ्रमणमै १ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ, यसमा यसै महिना प्रधानमन्त्री ओलीले गरेको युरोप भ्रमणको बिल समावेश गरिएको छैन ।

प्रधानमन्त्री ओलीले यसबीचमा भारत, स्वीजरल्यान्ड, भियतानाम, कम्बोडिया, कोस्टारिका हुँदै युरोपका समेत भ्रमण गर्न भ्याइसकेका छन् ।

महालेखा परीक्षकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नियमित बजेट शीर्षक ‘अनुगमन, मूल्यांकन र भ्रमण खर्च’अन्तर्गतको भ्रमण खर्च, विशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको खर्च र अन्य भ्रमण खर्चको शीर्षकबाट कुल १ अर्ब २१ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । बजेटमा विशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको खर्चका लागि ६ करोड ८५ लाख रुपैयाँ छुट्याइए पनि यो शीर्षकमा मात्र १० करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ ।

नियमित बजेटले नपुगेपछि अर्थ मन्त्रालयको विविध शीर्षकमा लुकाएर राखेको रकमबाट खर्च गर्ने गरिन्छ । अर्थ मन्त्रालयका अनुसार अर्थ विविध शीर्षकबाट चालू आर्थिक वर्षकोे १० महिनाको अवधिमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतको भ्रमणमा २२ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चार पटकको विदेश भ्रमणमा मात्र ७ करोड खर्च भएको पाइएको छ । राष्ट्रपति भण्डारीको जेठमा भएको चीन भ्रमणमा ३ करोड ९ लाख, वैशाखमा संयुक्त राष्ट्र संघको महिलासम्बन्धी आयोगको बैठकमा भाग लिन जाँदा १ करोड ६२ लाख, कात्तिकमा कतार जाँदा १ करोड २० लाख र मंसिरमा पोल्यान्ड जाँदा २ करोड १ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।

मोदीको सत्कारमा ६ करोड

यसैबीच, गत वर्ष जनकपुर हुँदै नेपाल आएका र एक दिन पनि नबसी फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कार गर्नका लागि मात्र सरकारले ६ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । मोदीको स्वागत सत्कारका लागि प्रदेश २ सरकारले गरेको खर्च भनेर ४ करोड ४० लाख ४६ हजार निकासा गरिएकोमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका लागि समेत भनेर सुरक्षा खर्चसमेत भनेर कुल ५ करोड ९१ लाख रुपैयाँ खर्च गरिएको छ । यसैगरी, मोदी सरकारकी विदेशमन्त्री सुष्मा स्वराज आउँदा पनि सरकारले २ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयको बजेट निकासाको विवरण हेर्ने हो भने सरकारका मन्त्रीहरू विदेश नगएको महिना नै क्यालेन्डरमा भेट्टाउन मुश्किल पर्छ । कतिसम्म भने कुनै पनि मन्त्रालयका उपसचिव वा सहसचिवस्तरका कर्मचारीले सहभागिता जनाउँदा हुने कार्यक्रममा समेत मन्त्री, राज्यमन्त्रीहरू आफैं जत्था लिएर जाने होडबाजी चल्ने गरेको छ ।

विदेश भ्रमणमा जाँदा नियमित खर्चका लागि बजेटबाटै थप रकम भ्रमणभत्ता पाइने भएकाले केही मन्त्रीहरूले पछि भ्रमण भत्ता र ट्याक्सी खर्चको बिल पेस गरेर लिएको समेत पाइएको छ । यसरी लिनेमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा पहिलो नम्बरमा छन् । उनले नयाँ दिल्ली, दुबई, जर्मनी र स्विट्जरल्यान्ड भ्रमणमा भएको खर्च भनेर १९ लाख २७ हजार भुक्तानी लिइसकेपछि जर्मनी र स्विट्जरल्यान्डको ट्याक्सी भाडा भनेर थप १९ हजारको बिल पेस गरेको अर्थ मन्त्रालयको विवरणबाट देखिएको छ ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु