गृहपृष्ठ लिग चरणबाटै बाहिरियो दक्षिण अफ्रिका

लिग चरणबाटै बाहिरियो दक्षिण अफ्रिका

दक्षिण अफ्रिका एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

पाकिस्तानसँग आइतबार राति ४९ रनले पराजित भएसँगै अफ्रिकाको शीर्ष चार पुग्ने सम्भावना सकिएको हो । ७ खेलमा १ जित र ५ खेलमा हार बेहोरेको दक्षिण अफ्रिकाले बाँकी दुबै खेल जितेपनि सेमिफाइनल यात्रा तय गर्न सक्दैन । खेलेका ६ वटै खेलमा पराजय भोगेको अफगानिस्तान पनि तीन खेल अगावै लिग चरणबाट बाहिरिएको छ । अफगानिस्तान अंक तालिकाको पुछारमा छ ।

३ सय ९ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रनमा अल आउट भयो । कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । क्विन्टन डी ककले ४७ रन बनाए ।

हासिम अमला २ रनमा एलवी डब्लू धरापमा परे । रस्सि भान डर दुसेनले ३६ रन जोडे । डेविड मिलर ३१ रन बनाउँदै बोल्ड आउट भए । एन्डिलो फहलुकलो ४६ रनमा अविजित रहे । क्रिस मोरिस १६, कागिसो रबाडाले ३ रन जोडे । पाकिस्तानका लागि वहाब रियाज र सादब खानले समान ३ विकेट हात पारे । मोहम्मद आमिरले २ विकेट लिए । शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो ।

लर्ड्समा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि ह्यारिस सोहेलले ८९ रनको महत्वपूर्ण योगदान दिए ।

ओपनर फकार जमान र इमाम उल हकले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दुबै ओपनरले व्यक्तिगत ४४ रनको योगदान गरे । मोहम्मद हफिज २० रनमा एलवी डब्लू धरापमा परे । बाबर आजमले ६९ रनको महत्वपूर्ण योगदान दिए । इमाद वासिमले २३ र वहाब रियाजले ४ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ३ विकेट हात पारे । इमरान ताहिरले २, एडेन मार्कराम र एन्डिलो फहवकुवलोले समान १–१ विकेट लिए ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु