गृहपृष्ठ महिला क्रिकेट प्रतियोगिताको विजयी टिमलाई पुरस्कार वितरण
महिला क्रिकेट प्रतियोगिताको विजयी टिमलाई पुरस्कार वितरण
खानेपानीमन्त्री बिना मगरले नेपाली युवा खेलाडीको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी हुन् । कञ्चनपुरको महेन्द्रनगरमा महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी २० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले खेलाडीको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताएकी हुन् ।
‘खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीको संरक्षण गर्न जरुरी छ । खेल भनेको मनोरञ्जनका लागि मात्रै होइन, यसले युवाहरुमा आत्मविश्वाससमेत जगाउँछ,’ कार्यक्रममा उनले भनिन्, ‘सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ ।’
सुदूरपश्चिम प्रदेशमा यसरी राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताइन् । सुदूरपश्चिममा खेलकुदको विकासको लागि आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
सुदूरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्यमन्त्री प्रकाश रावलले सुदूरपश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन गुरुयोजना तयार भइरहेको जानकारी दिए ।
असार ४ गतेदेखि सुरु भएको महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टिम र सुदूरपश्चिम क्लबबीच भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । मन्त्री मगरले विजेता तथा उपविजेता टिमलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेकी छन् ।
प्रकाशित समय २०:४१ बजे
















