गृहपृष्ठ एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी तीव्र
एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी तीव्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढेको एसिया प्यासिफिक क्षेत्रका आरसी किरणविक्रम थापाले जानकारी दिए ।
एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीको सहभागितामा नेपालमा लगानी प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताए ।
बैठकमा ठूल्ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठ्यारा अनि सम्भावनाबारे विशेष छलफल हुने बताइएको छ ।
यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिए । विगतमा गरिएका निर्णय र प्रतिबद्धताको समीक्षा पनि बैठकमा हुनेछ । नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहाँका युवा तथा महिलाको सशक्तीकरणलगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले जानकारी दिए ।
बैठकमा म्यानमारसहित थाइल्यान्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरियासहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्रलगायत अन्य राष्ट्रका पदाधिकारीको सहभागिता रहनेछ । साथै, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्षसहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि साथै अन्य व्यावसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका राजदूत, नेपाली समुदाय सञ्चारकर्मीलगायत आईसीसी र विभिन्न एनसीसीका प्रतिनिधिसहित करिब पाँच सयको सहभागिता रहने आरसी थापाले जानकारी दिए ।
प्रकाशित समय २१:५३ बजे

















