गृहपृष्ठ भुइँमै बसेर पढ्छन् नारायणबाबा प्राविका विद्यार्थी

भुइँमै बसेर पढ्छन् नारायणबाबा प्राविका विद्यार्थी

dhanusha1-newskarobar

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा रहेको श्री नारायणबाबा दलित जनजाति प्राथमिक विद्यालयका विद्यार्थी भौतिक संरचना अभावमा खुला भुँइमा बसेर पढ्न बाध्य छन् । २०६७ सालमा स्थापना भएको यो विद्यालयका लागि ४ कोठे पक्की भवनको जग त्यतिबेलै खनिएको थियो । तर, अहिलेसम्म २ वटा कोठाले मात्रै पूर्णता पाउँदा धेरै बालबालिका भुँइमा बसेर पढ्न बाध्य छन् । दुईवटा कोठा बाँसको टाँटीले घेरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पुर्ख्याैली घर सपहीभन्दा ५ सय मिटर उत्तरमा छ नारायणबाबा विद्यालय । विद्यालयमा ७० विद्यार्थीलाई एक राहत कोटाका शिक्षिका र दुई जना बालविकास कोटाका सहजकर्ताले पढाउँदै आएका छन् । गाउँभन्दा ५ सय मिटर पर खुला वातावरणमा विद्यालय स्थापना गरिएको भए पनि भौतिक संरचना नहुँदा निकै समस्या भएको प्रधानाध्यापक शशिप्रभा कर्ण बताउँछिन् ।

विद्यालयमा कक्षा ३ का विद्यार्थीका लागि गाउँबाट १० वटा बेन्च ल्याइएको छ । तर, बेन्च कहाँबाट कसरी ल्याइएको हो भन्नेबारेमा प्रधानाध्यापक कर्ण नै अनभिज्ञ छिन् । हावाले विद्यालयको जस्तापाता उडाइदिएको छ । स-साना विद्यार्थी खुला आकाशमुनि बाँसको टाँटीले बेरिएको कक्षाकोठामा पढ्न गर्छन् । गर्मी र वर्षातका बेला निकै कठिनाइ हुने शिक्षिका उषा साहले बताइन् । विद्यालयको नाम लेखिएको बोर्डसमेत हावाले उडाएर खसाएको छ । प्रधानाध्यापक कर्ण खुला स्थानमा रहेकाले सर्प र कीराको त्रास भइरहने बताउँछिन् । ‘साना बालबालिकालाई कीरा र सर्पलगायतबाट बचाउन निकै गाह्रो छ,’ उनले भनिन् ।

व्यवस्था फेरियो, अवस्था फेरिएन

विद्यालयको भौतिक संरचना जस्तो छ, पढाउन पनि उस्तै समस्या छ । विद्यालयमा कालोपाटी छैन, शौचालय पनि छैन । शौचालय नहुँदा शिक्षिकाहरुलाई नै अफ्ठ्यारो हुने गरेको छ ।

विद्यालयमा टिफिनको समयमा विद्यार्थीको रेखदेख गर्न गाउँकै रविसना यादवलाई जिम्मेवारी दिइएको छ । टिफिन खुवाउनेदेखि अन्य हेरचाह गर्न यादवले नै गर्छिन् । बिहानै साढे ७ बजे विद्यालय पुग्ने यादवका छोराछोरी पनि यही विद्यालयमा पढ्छन् । विद्यालयको भौतिक संरचना कमजोर भए पनि पढाइ राम्रो भएको यहीँ पढाएको उनले बताइन् ।

विद्यालयका लागि सहयोग नभएको होइन । गाउँका केही मानिसले बेन्च दिएका छन् भने स्थानीय नरेशकुमार यादवले विद्यालय निमार्णका लागि डेढ कठ्ठा जग्गा उपलब्ध गराएका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । गाउँपालिकाका १९ विद्यालयमध्ये आठवटामा मात्रै आवश्यक फर्निचर रहेको स्रोत व्यक्ति धनेश्वर यादव बताउँछन् । अधिकांश विद्यालयमा डेस्क, बेन्चको अभावमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भौतिक संरचना अभावको समस्या चाँडै हल गर्ने आश्वासन दिएको उनले बताए ।

प्रकाशित समय १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु