गृहपृष्ठ आज धान दिवस : बाँकेका किसानलाई छाडा पशु लखेट्दै ठिक्क

आज धान दिवस : बाँकेका किसानलाई छाडा पशु लखेट्दै ठिक्क

chhada-pasu-newskarobar

आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । ‘ब्याड त राखेका छौँ’, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, ‘सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।’

असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शनिबार करीब ४० डिग्रीको हाराहारीको तापक्रमको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठी लिएर खेतको छेउमा उभिएकी थिइन् । अन्सारीले भनिन्, ‘एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनुपरेको छ ।’

अन्सारीले ब्याड नियाल्दानियाल्दै पनि छाडा पशु ब्याडमा छिरिहाले । उनले अर्का ब्याड कुर्न बसेका ओम मिश्रलाई आवाज दिए, ‘छिटो दौड ।’ मिश्र खेतमा पुगुन्जेल गाईले अलिकति ब्याड चपाइसकेको थियो । मिश्र र अन्सारीमात्रै होइन, धेरै किसान ब्याड कुर्न दिनभरि खेतमा पुग्छन् । राति भने गाई गाउँ पस्ने भएकाले ब्याड सुरक्षित रहने अन्सारीले बताए ।

‘बिहानैदेखि एक जनाको काम नै पशुचौपाया लखेट्ने हुन्छ,’ अन्सारीले भने । ब्याड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् । ‘धान रोपेपछि नकाटुन्जेलसम्म एकछिन खेत छाड्न मिल्दैन,’ परसपुरका अर्जुन कलवार भन्छन्, ‘छाडा पशुका कारण घरको काम छाडेर दिनभर खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।’

पछिल्ला वर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छाडेपछि खुला छाडिदिने गरेका छन् । त्योभन्दा छाडा पशु बढ्नुको अर्को कारणचाहिँ भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ ।

त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ । ‘सीमा खुला छ, पशुलाई रोक्ने कुरा भएन, अहिले संख्या बढ्दै जाँदा सास्ती भएको छ,’ राजेन्द्र आचार्य भन्छन्, ‘छाडा पशुका कारण सहरमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।’

यो वर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ । ‘खोई कहिले आउने हो नहरमा सिक्टाको पानी’, काँदु भन्छन्, ‘ब्याडमा राखेको धानको बीउ भर्खरै टुसाएको छ । असार अन्तिमतिर मात्रै रोप्नका लागि तयार हुन्छ ।’ बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

‘पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौँ’, जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भने । बाँकेका केही सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । ‘हामीले डिपबोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौँ । रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौँ’, सीतापुरका किसान दीपक थापाले भने, ‘अब त किसानलाई फुर्सद नै हुँदैन ।’

‘अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याइनभ्याइ छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भने । बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धानखेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताए ।

उनका अनुसार गत वर्ष बाँकेमा चार टन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार टन धान उत्पादन भएको थियो । उनले भने, ‘यो वर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । मौसम प्रतिकूल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।’ उनका अनुसार सिँचाइ सुविधा नभएका स्थानमा राखिएको ब्याड असार अन्तिमसम्म रोप्नका लागि उपयुक्त हुनेछ ।

‘अघिल्ला वर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानलाई सुझाव दिने गरेका छौं, कृषि प्रसार अधिकृत ढकालले भने, ‘बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका नयाँ र उन्नतजातको धान लगाउन किसानलाई सुझाव दिएका छौँ ।’

उन्नतजातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अनुकूल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली वैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिएका छन् । ‘समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकाले नार्कबाट सिफारिस भएका धानका जात सुक्खा र डुबान सहन सक्ने धान प्रयोग गर्नुस् भनेका छौँ,’ उनले भने । (रासस)

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु