गृहपृष्ठ दैनिक बिदेसिन्छन् ३५ सय नेपाली

दैनिक बिदेसिन्छन् ३५ सय नेपाली

Travels_NewsKarobar

‘हरेक दिन १५०० नेपालीहरू कामको खोजीमा बिदेसिन्छन्’, यो वाक्य तपाईंले पटक–पटक पत्रपत्रिका–अनलाइनमा पढ्नु अथवा टिभी, रेडियोमा सुन्नु भएको होला । पख्नुस्, त्यतिमात्र नेपालीहरू विदेश जाँदैनन् । हरेक दिन औसतमा ३४ सय ८० नेपालीहरू विदेश जाने गरेको पाइएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०१८ मा १२ लाख ६९ हजार ७२५ जना नेपाली बिदेसिएका छन्, यो गत वर्ष नेपाल आएका विदेशीभन्दा ८९ हजार ५ सयले बढी हो । गत आर्थिक वर्ष २०७५/७६ कामको खोजीमा नयाँ र पुराना गरी ६ लाख १७ हजार नेपाली बिदेसिएका थिए भने यस आर्थिक वर्षको १० महिनामा ४ लाख २६ हजार मात्र बिदेसिएका छन् ।

नेपाली आर्थिक वर्ष अंग्रेजी महिनाको जुलाईको मध्यबाट गणना हुन सुरु हुने भएकाले सन् २०१८ मा औसत ५ लाख ८० हजार नेपाली बिदेसिएका पाइएको छ । वैदेशिक रोजगार विभागले नयाँ जारी भएका श्रम स्वीकृति र पुरानो नवीकरणका अभिलेख छुट्टाछुट्टै राख्न थालेपछि धेरै जना बिदेसिने नेपालीको संख्याका बारेमा झुक्किने गरेका छन् ।

नेपालीहरू वैदेशिक रोजगारीबाहेक हिजोआज व्यापक ठूलो संख्यामा घुमफिर, अध्ययन, स्वास्थ्योपचार र तीर्थाटनमा जाने गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ५८ हजार ७५८ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए ।

गत वर्ष बिदेसिने नेपालीहरूले ७९ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन्, यसमध्ये पढ्न जाने भनेर नेपालीहरूले ३८ अर्ब ८ करोड रुपैयाँ खर्च गरेका छन् । चालू आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै पढ्न जाने नेपालीले ३७ अर्ब ६७ करोड रुपैयाँ खर्च गरिसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

स्थलमार्गबाट भारत अथवा त्यहाँ हुँदै अन्यत्र जाने नेपालीको पूर्ण रुपमा अभिलेख राख्ने नगरिएको पनि हवाई मार्गबाट १२ लाख ६३ हजार नेपाली विदेसिएको तथा २५ सय ७३ जना चीनतर्फ गएको र ३५ सय जना विभिन्न नाकाबाट भारत गएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार सन् २०१८ मा विदेशबाट १२ लाख ६२ हजार नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु