गृहपृष्ठ जनता बैंकद्वारा एकैदिन ६ ठाउँमा शाखा स्थापना
जनता बैंकद्वारा एकैदिन ६ ठाउँमा शाखा स्थापना
जनता बैंक नेपालले सोमबार एकैसाथ ६ नयाँ शाखा स्थापना गरेको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र मोफसलमा ३ शाखा स्थापना गरेको हो ।
बैंकले भक्तपुरको नयाँठिमी, ललितपुरको पाटन सुन्धारा, काठमाडौंको कीर्तिपुर, पाँचथरको फिदिम, रामेछापको मन्थली र तनहुँको डुम्रेमा नयाँ शाखा खोलेको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले गरे । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको पनि उपस्थिति थियो ।
फिदिम शाखाको फिदिम नगरपालिका प्रमुख ओनाहाङ् नेम्वाङ, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका सञ्चालक सञ्जीव न्यौपाने र कीर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् ।
तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परीक्षण भएको थियो । शिविरमा डुम्रे आसपासका करिब २ सयजनाले स्वास्थ्य परीक्षण गराएको बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
प्रकाशित समय १७:२० बजे

















