गृहपृष्ठ रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न आग्रह
रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न आग्रह
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रंगशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउन्डेसनलाई निर्माणको प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।
यही जेठ १५ गते रंगशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउन्डेसनले काम रोकेको छ । रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुंगो लागिसकेकाले फाउन्डेसनले काम अघि बढाउनुपर्ने बताए । रंगशाला निर्माणको काम सुरु भएसँगै आर्थिक संकलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिए ।
उक्त अवसरमा मानव अधिकार, कानुन तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रंगशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउन्डेसनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुन लागेको रंगशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए ।
यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउन्डेसनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रंगशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए । रंगशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले काम नरोक्न उनले आग्रह गरे ।
रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रंगशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रंगशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको उक्त अवसरमा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए ।
बैठकमा उद्योगी व्यवसायीले रंगशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने÷नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम सुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब ३ अर्ब खर्च गरेर फाउन्डेसनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो । (रासस)
प्रकाशित समय ११:१९ बजे
















