गृहपृष्ठ रितको शतकमा नेपालले सिंगापुरलाई दियो ३२७ रनको विशाल चुनौती
रितको शतकमा नेपालले सिंगापुरलाई दियो ३२७ रनको विशाल चुनौती
फाइल तस्बिर
एसीसी यू–१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३ सय २७ रनको विशाल चुनौती दिएको छ ।
ओपनर रित गौतमको शतकमा नेपालले सिंगापुरविरुद्ध विशाल चुनौती खडा गरेको हो । कुशल मल्ल र खडकबहादुर बोहोराले अर्धशतक प्रहार गरे । किन्रारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
ओपनर रित गौतमले १ सय ३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनमा अविजित रहे । खडक बहादुर बोहराले ९० रनको महत्वपूर्ण योगदान गरे । कुशल मल्ल मात्र २३ बलमा ५१ रन बनाउँदै अविजित रहे । ओपनर पवन सरार्फले ४५ रन बनाए । कप्तान रोहित कुमार पौडेल व्यक्तिगत ७ रनमा आउट भए ।
सिंगापुरका लागि प्रनव सदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २–२ विकेट लिए । समूहको पहिलो खेलमा चीनलाई १० विकेटले हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रकाशित समय ११:२३ बजे

















