गृहपृष्ठ पानीको फोहराले टौदहको पहिचान नासिने भन्दै स्थानीयको विरोध
पानीको फोहराले टौदहको पहिचान नासिने भन्दै स्थानीयको विरोध
कीर्तिपुर नगरपालिका–६ मा अवस्थित सांस्कृतिक महत्वको टौदहमा पानीको फोहरा (वाटर फाउन्टेन) बनाएर संस्कृति नाश गर्न खोजिएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि टौदहमा पानीको फोहरा निर्माण गर्न वडा स्तरीय योजनाअन्तर्गत ३७ लाख ५० हजार बजेट छुट्याएको थियो ।
स्थानीयवासीले ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थानमा पानीको फोहरा निर्माण गर्दा संस्कृति नाश हुने भन्दै विरोध गरेपछि आर्थिक वर्षको सुरुमा काम रोकियो । ऐतिहासिक, पुरातात्विक, धार्मिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पोखरीमा आर्थिक वर्षको अन्त्यमा रातारात फोहरा निर्माण गर्न खोजिएको स्थानीयको भनाइ छ ।
नगरपालिकाको वेबसाइटमा निर्माण योजनाको प्रस्ताव आह्वान गर्दै तीनपटक सूचना प्रकाशित गरियो । कसैको बोलपत्र परेन भन्दै आफैँले चाहेकामार्फत् काम गराउन खोजिएको स्थानीयवासीको आरोप छ । आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गरेर बजेटमात्र सिध्याउन खोजिएको आरोप पनि उपभोक्ताले लगाएका छन् । पुरातात्विक सम्पदा मास्ने कामविरुद्ध संघर्षमा उत्रिएका वातावरणविद् एवं स्थानीय विनोद बस्नेत वातावरणीय अध्ययन विना फोहरा बनाउन नहुने बताउँछन् । ‘ऐतिहासिक दहको छेउमा सिमेन्ट लगाएर पर्खाल, स्टिलको बारलगायत संरचनाले वातावरणीय स्वरुपमा नकारात्मक प्रभाव पार्छ, यहाँ यस्तो संरचना निर्माण गर्नुअघि वातावरण संरक्षण नियमावली २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्छ,’ उनले भने ।
नगरपालिकाले टौदहको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) समेत गरेको छैन । यहाँ गर्न लागिएको निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३, जलचर संरक्षण ऐन २०१७, प्राचीन स्मारक संरक्षण नियमावली २०४६, वातावरण संरक्षण नियमावली २०५४ र राष्ट्रिय सिमसार नीति २०६९ विरुद्ध रहेको टौदह संरक्षण समितिको भनाइ छ । स्थानीयवासी संरक्षण समिति नै गठन गरेर सम्पदा मास्ने अभियान विरुद्ध लागेका छन् ।
वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची १ मा माछा वा अन्य जलचर भएको कुनै नदी वा तालमा इन्जिन जडित उपकरण र इन्धन ज्वलन गरी जलयात्रा (–याफ्टिङ कार्य) सञ्चालन गर्ने प्रस्तावका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । टौदहमा रहेका जलचर, नाग, सर्प तथा चराचुरूंगीलगायत अन्य जीवजन्तुमा पर्न जाने प्रभावबारे हालसम्म कुनै पनि निकायबाट वातावरणीय अध्ययन भएको छैन । फोहरा निर्माणले यहाँका आदिवासी जनजातिको कला, संस्कार, धर्म, पुरातात्विक महत्व लोप गर्ने संरक्षण समितिका उपेन्द्रप्रसाद नेपालले बताए ।
वातावरणीय अध्ययन बिना सहरी विकास तथा भवन निर्माण विभागले समेत ५० लाखको लागतमा सिमेन्टेड पर्खाल बनाइरहेकोप्रति स्थानीयले आपत्ति जनाएका छन् । पुरातात्विक सम्पदामा क्षति पुग्ने गरी गरिएको निर्माण रोक्न माग गर्दै उनीहरूले बुधबार नगर प्रमुख रमेश महर्जनलाई दिएको निवेदन पनि दर्ता नभएको संयोजक बस्नेतले बताए ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र पुरातत्व विभागमा उजुरी गर्न लागिएको समितिले जनाएको छ । नगर प्रमुख महर्जन भने वडाध्यक्षलगायत सरोकार भएकाहरुसँग सल्लाह गर्न नै आफूले निवेदन दर्ता नगरेको बताउँछन् । ‘पर्यटन प्रवर्धन गर्न वडाले पानीको फोहरा, बेलुकीका लागि बत्ती र संगीत बजाउने व्यवस्था गर्न लागेको हो, संगीत सानो स्वरमा बजाउने हो, ठूलो स्वरमा होइन, यहाँको मौलिकता नष्ट गर्न खोजिएको छैन,’ उनले भने ।
नेपाल पन्छी संरक्षण संघले भने टौदह बसाइँसराइ गरी आउने चराको आश्रयस्थल भएकाले त्यसैअनुरुप यहाँको पर्यटन प्रवर्धन गर्न सकिने जनाएको छ । संघले कीर्तिपुर नगरपालिका र ६ नम्बर वडा कार्यालयलाई समेत ध्यानाकर्षण पत्र बुझाएको संरक्षण अधिकृत कृष्ण भुसालले जानकारी दिए । ‘जाडोमा साइबेरिया, मंगोलियालगायतका स्थानबाट हाँस प्रजातिका चरा टौदहमा आउँछन्, पानीमा बस्ने यी चरा चार महिनापछि फेरि फर्कन्छन्, यहाँ सडक, रिसोर्टलगायत भौतिक संरचना बन्न थालेपछि चरा आउने क्रम निकै घटेको छ, पोखरीभित्रै संरचना बनाएपछि चरा आउनै बन्द हुने खतरा बढ्छ,’ उनले भने ।
आश्रय स्थलको अभावमा गुलाफी टाउके हाँस, सिउँरी पुच्छ्रे हाँसलगायत प्रजातिका चरा विश्वबाटै लोप भएका छन् । टौदह सर्प, कछुवा, भ्यागुता लगायत जीवजन्तुका लागि पनि प्रसिद्ध स्थल हो । नागराज कर्कोटकको बास स्थल भनी विश्वास गरिने यहाँ नाग पञ्चमीका दिन भव्य मेला लाग्ने गर्छ । राति बत्ती बालेर संगीतसमेत बजाउन थालेपछि यी सबै जीवजन्तु लोप हुने संघको चिन्ता छ ।
चरा हेर्न आउने पर्यटकीय स्थलका रुपमा टौदहलाई विकास गर्ने सोच अघि सारिनुपर्ने संरक्षण अधिकृत भुसालको माग छ । यसो गर्न सकिए विश्वका चराप्रेमी पर्यटक घुम्न एवं चरासँगै तस्वीर खिच्न यहाँ आउनेछन् ।
वडाले आय आर्जन गर्ने उद्देश्यले फोहरा निर्माण गर्न लागेको अध्यक्ष न्हुच्छबहादुर महर्जनले बताए । हाल टौदह कर्कोटक नागराज समाज नामक गैरसरकारी संस्थाले यहाँको व्यवस्थापन गर्दै आएको छ । फोहरा निर्माणपछि वडा कार्यालयमार्फत टौदह सञ्चालन गर्ने सोच अघि सारिएको छ ।
टौदहको ऐतिहासिक महत्व
विगतदेखि नै नगरपालिकाको पाङ्गा, क्वारगाउँलगायत उपत्यकाका विभिन्न स्थानका नेवार समुदायले काष्ठमण्डप र ललितपुरबाट गुरू बोलाएर जल यज्ञ गर्ने यहाँको सांस्कृतिक परम्परा छ । जल यज्ञको विधि पानीको फोहरा निर्माणपछि मासिने चिन्ता छ । जलयज्ञ विधि नेवारी भाषामा लखिएको छ ।
राजा नरेन्द्रदेवलाई शान्तिकर गुवाजुले दिएको कर्कोटक नागराजालाई निमन्त्रणा दिने विधिअनुसार अहिले पनि गरिने गरेको छ । यस सम्बन्धी विषय स्वयम्भू पुराणको आठौँ अध्यायमा उल्लेख गरिएको छ । बुङमतीबाट मत्स्येन्द्रनाथका पानेजुहरू निमन्त्रणा लिएर टौदहमा जाने परम्परा छ । निमन्त्रणा गर्न आउँदा पानेजुद्वारा मन्त्रणा गरिएका १० वटा छुट्टाछुट्टै फूल र दुबोलाई काँचो धागोले बाँधी टौदहको विभिन्न कोणमा हाल्ने परम्परा छ ।
जुन कोणबाट हालिएको दुबो र फूल घुमेर जान्छ त्यहीँबाट निमन्त्रणा स्वीकार गरियो भनी विश्वास मानिन्छ । मत्स्येन्द्रनाथको पूजामा त्यही कोणबाट कर्कोटक नागको आह्वान गर्ने प्राचीन परम्परा रहेको यस विषयमा खोज गरिरहेका पण्डित उपेन्द्रप्रसाद नेपालले बताए ।
(पूर्णप्रसाद मिश्र/रासस)
प्रकाशित समय १९:३८ बजे





















